सोमबार ०८ कार्तिक २०७८

वैशाख, काठमाडौं । पछिल्लो समय दोस्रो चरणको खोप लगाइसकेका व्यक्तिहरूमा पनि कोभिड–१९ संक्रमण देखिएको छ ।

विभिन्न व्यक्तिले दोस्रो खोप लगाइसकेपछि पनि संक्रमण देखिएको सामाजिक सञ्जालमा लेखिरहेका छन् । नेपालमा मात्र होइन, अन्य देशमा पनि दुबै डोज खोप लगाइसकेका व्यक्तिहरूमा पुनः संक्रमण देखिएको छ ।

मेडिकल भाषामा यसलाई ‘बे्रेक थ्रु’ संक्रमण भनिन्छ । यो संख्या एकदमै न्यून रहेको छ । तर, यसबाट भ्याक्सिनको प्रभावकारिताका सम्बन्धमा जनमानसमा आशंका भने बढेको छ । तर आत्तिनुपर्ने अवस्था नभएको चिकित्सकहरू बताउँछन् । यस खालको ‘ब्रेक थ्रु’ एकदमै कम देखिएको छ भने देखिए पनि संक्रमण भएकामा एकदमै कम लक्षण वा बिरामीलाई धेरै असहज नहुने गरेको छ ।

अघिल्लो साता इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले ‘ब्रेक थ्रु’ इन्फेक्सन एकदमै विरलै भएको र भ्याक्सिन लगाएकामध्ये ०.०५ प्रतिशत भन्दा कममा देखिएको उल्लेख गरेको थियो । केही प्रतिशतमा यो देखिनु सामान्य हो किनभने कुनै पनि खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन ।

अमेरिकाको सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोलका अनुसार भ्याक्सिन (खोप) लगाएका व्यक्तिहरू कम बिरामी हुने सम्भावना छ । परीक्षणकै क्रममा विभिन्न खालका भ्याक्सिनहरू ६० प्रतिशतदेखि ९५ प्रतिशतसम्म प्रभावकारी देखिएका थिए । नेपालमा पनि खोप लगाएकामा पुन संक्रमण देखिएको छ तर स्वास्थ्य मन्त्रालयसँग यसको आधिकारिक तथ्यांक छैन ।

भ्याक्सिन लगाएपछि पनि तपाईं कोरोना पोजेटिभ हुने सम्भावना कति छ ? यस भएमा तपाईंले के गर्नुपर्छ ? हामीले यी प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छौं ।

ब्रेक थ्रु इन्फेक्सन भनेको के हो ? यो पुनः संक्रमण भन्दा कसरी फरक छ ?

सामान्य भाषामा भन्दा पूर्ण रूपमा खोप लगाइसकेको मान्छे पुनः संक्रमित भयो भने यसलाई ‘ब्रेक थ्रु’ इन्फेक्सन भनिन्छ । यसले के संकेत गर्छ भने सो व्यक्तिलाई खोपले कम प्रतिरक्षा क्षमता दिएको छ । तर, यस खालको संक्रमण एकदमै सामान्य खालको हुन्छ । यस खालको इन्फेक्सन सबै खालका भ्याक्सिनमा देखिन्छ ।

खोपले संक्रमण नियन्त्रण गर्न सहयोग गर्छ ?

विभिन्न अध्ययनले खोपले गम्भीर प्रकृतिका लक्षणलाई रोक्ने र अस्पताल जानु नपर्ने देखाएको छ । यति मात्र होइन, खोप लगाएका व्यक्तिहरू समाजमा बढ्दै जाँदा यसले संक्रमण पनि कम गर्दै लैजाने देखाएको छ । यति मात्र होइन, दि हिन्दू पत्रिकालाई चिकित्सकहरूले बताएअनुसार यसले नयाँ खालको भेरियन्टहरू उत्पादन हुने दरलाई समेत रोक्ने गर्दछ ।

भ्याक्सिन लगाएको व्यक्ति कसरी फेरि कोभिडबाट संक्रमित हुन्छ ?

अहिले त्यस खालको कुनै पनि प्रमाण छैन । भारतको एपोलो हस्पिटलका डा.अन्जान भट्टाचार्यले इण्डिया टुडेसँग भनेका छन्, ‘पहिलो त हामीले के सम्झनुपर्छ भने कुनै पनि भ्याक्सिन १०० प्रतिशत प्रभावकारी हुन्न र सबै खालका भ्याक्सिनमा ‘ब्रेक थ्रु’ संक्रमण हुने केही सम्भावना रहेको हुन्छ ।’

दोस्रो कुरा, खोप लगाएको दुई वा तीन हप्तापछि मात्रै शरीरमा रक्षात्मक एन्टीबडीको विकास भएको हुन्छ । त्यसैले कुनै पनि व्यक्ति यो बीचमा संक्रमित हुनसक्छ ।

तेस्रो, भ्याक्सिन रोगको रोकथामको लागि प्रयोग हुन्छ संक्रमण रोक्नका लागि होइन । कोभिड–१९ का खोपहरू हल्का लक्षणहरू, गम्भीर बिरामी र अस्पताल नै लैजानुपर्ने अवस्था टार्नका लागि प्रभावकारी छन् । संक्रामक रोग विशेषज्ञ अमिताभ नन्दीले इन्डिया टुडेलाई बताए अनुसार, खोप लगाइसकेको व्यक्तिलाई भाइरसले भेटेमा पुन संक्रमण हुने सम्भावना रहन्छ ।

के ‘ब्रेक थ्रु’ हुनुका पछाडि विभिन्न खालका भेरियन्ट जिम्मेवार छन् ?

दोस्रो लहर आएपछि विभिन्न खालको नयाँ र बढी संक्रामक भेरियन्टहरू देखिएका छन् । भारतका एक पुराना अनुसन्धानदाता डा. गणेश देवकर इण्डिया टुडेसँग भन्छन्, ‘डबल म्युटेट भेरियन्टका सम्बन्धमा, ल्याबहरूले के देखाएका छन् भने यो बढी संक्रामक छ र भाइरसलाई ब्लक गर्ने कार्य एकदमै कठिन छ तर कति प्रतिरक्षा प्रणालीमा कमी आयो भनी मूल्याङ्कन गरिरहेका छन् ।’

हालै भारतीय मेडिकल काउन्सिलले गरेको एक अध्ययनले भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनले युके भेरियन्टविरुद्ध राम्रो काम गरेको देखाएको छ । तर नयाँ भेरियन्टले भ्याक्सिन लगाएको व्यक्तिको शरीरमा प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन् । तर विभिन्न अध्ययनले पहिलो डोज मात्रै लगाएका व्यक्तिहरूमा समेत एकदमै न्यून मात्रामा संक्रमण देखिएको उल्लेख गरेका छन् ।

भ्याक्सिन लगाएपछि कस्तो सावधानी अपनाउनुपर्छ ?

विज्ञहरूका अनुसार पूर्ण रूपमा भ्याक्सिन लगाएका व्यक्तिहरूले कोभिड– १९ सम्बन्धी सम्पूर्ण स्वास्थ्य प्रोटोकलहरूको पालना गर्नुपर्छ । मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, पर्याप्त हावा चल्ने ठाउँमा बस्ने र बारम्बार हात धुने काम गर्नुपर्छ ।

भ्याक्सिनपछि कोभिड–१९ पोजेटिभ भएमा के गर्ने ?

यदि कोभिडको लक्षण देखा परेमा कुनै पनि व्यक्ति तुरुन्त आइसोलेसनमा बस्नुपर्छ र डाक्टरी परामर्श गर्नुपर्छ । डा. गणेश देवकरका अनुसार खोप लगाउनु भन्दा अगाडिको उपचार र त्यसपछिको उपचारमा खासै फरक छैन ।

के यस्ता ‘ब्रेक थ्रु’ का केसहरू अन्य देशमा पनि देखिएका छन् ?

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको तथ्यांक अनुसार त्यहाँ अप्रिल १० सम्म ८ करोड ७० लाख व्यक्तिले दुवै चरणको खोप लगाइसकेका छन् । उनीहरूमध्ये ७ हजार १५७ व्यक्तिहरूलाई पुनः संक्रमण देखिएको छ । यीमध्ये ७ जनाको पुन संक्रमणका कारण मृत्यु भएको थियो ।

सो केन्द्रले भनेको छ, ‘भ्याक्सिन लगाएपछि पुनः संक्रमित भएर बिरामी हुने, अस्पताल भर्ना हुने र मृत्यु हुने व्यक्तिको संख्या एकदमै कम छ र नयाँ खालको भेरियन्टले ब्रेक थ्रु बढी गराउने सम्भावना हुन्छ ।

अहिलेका खोपलाई किन आपतकालीन प्रयोगको लागि मात्र भनियो ?

विज्ञहरूका अनुसार भ्याक्सिनले संक्रमणलाई रोक्ने होइन कि यसले बिरामीलाई धेरै गम्भीर हुन नदिने र अस्पताल नै भर्ना हुनबाट रोक्ने हो । त्यसमाथि अहिलेका जति खोपहरू हुन् ती आपतकालीन प्रयोगका लागि मात्र अनुमति पाएका हुन् ।

परम्परागत रूपमा कुनै पनि खोप पूर्ण रूपमा प्रयोगमा आउन वर्षौं लाग्ने गर्दथ्यो तर अहिले यो काम एकदमै छिटो भएको छ । त्यसैले यसको प्रभावकारिताको बारेमा अझै डाटाहरू संकलन गर्न बाँकी छ, त्यसैले यसलाई आपतकालीन प्रयोगका लागि मात्र अनुमति दिइएको हो ।


Last Updated on: May 2nd, 2021 at 7:02 pm
८९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया