मंगलबार ०५ आश्विन २०७८

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रवारदेखि काठमाण्डौ उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपूर्ति सहज पारिने जनाएको हो ।

बिहीवार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार सङ्घका प्रतिनिधिसँग छलफल गरी आउँदाे एक हप्ता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो । प्रशासनले अत्यावश्यक दैनिक उपभोग्य सामान खरिदमा समस्या नहुने गरी व्यवस्था मिलाउने जिम्मेवारी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई दिएको छ ।

निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउन मोडालिटी पनि तयार भएको भन्दै प्रशासनले निषेधाज्ञालाई पालना गर्न अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख (सीडीओ) कालीप्रसाद पराजुलीले अत्यावश्यक सामानको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएकाले ढुक्क भएर घरभित्रै बसी निषेधाज्ञाको पालना गरेर कोरोना नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले आज नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार सङ्घका प्रतिनिधिसँग छलफल गर्‍याैँ । कोरोनाको सङ्क्रमण दर घटाउनकै लागि हामीले यो निर्णय गरेका हौँ । यस्तो अवस्थामा दाल, चामल तेल, नुनलगायत अत्यावश्यक सामग्रीको सहज आपूर्तिका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड संयुक्त मोबाइल टिम परिचालन गरी स्थलगत रूपमा नै अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेका छौँ ।

हामी सम्पर्क नम्बरसहितको सूचना निकाल्छौँ, जहाँ–जहाँ आवश्यक परेको छ उहाँहरूले सुपथ र उचित मूल्यमा दैनिक अत्यावश्यक पर्ने सामान खरिद गर्न सक्नु हुन्छ । खाद्य, किराना थोक व्यापार सङ्घका प्रतिनिधिका जानकारीअनुसार अहिले प्रशस्त मात्रामा स्टक छ र आत्तिनुपर्ने अवस्था छैन र हामीले अत्यावश्यक सामग्रीको ढुवानीको व्यवस्था पनि मिलाएका छौँ ।

अहिले एक हप्ताका लागि चाहिँ यी दुई संस्थाबाट उपभोक्ता संरक्षण मञ्चको पदाधिकारी उपस्थितिमा बिक्री/वितरणको व्यवस्था मिलाइएको छ । सर्वसाधारण नागरिकले किन्नै नपाइने हो कि ? हाहाकार हुने हो कि ? पसलमा छैन कि ? भन्ने चिन्ता लिनुपर्ने अवस्था अन्त्य भएको छ ।’ नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट अनलाइन माध्यमबाट यथाशीघ्र खाद्य सामग्री मागको विवरण सङ्कलन गर्ने र त्यहीअनुसार गाडीबाट आपूर्तिको स्थलगत व्यवस्थापन मिलाउन निर्देशन गरिएको छ ।

त्यसैगरी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले अनलाइनमार्फत गाडीका रुट यकिन गरी स्थानीयस्तरमा पालिकाकाे समन्वय गरी स्थलगत रूपमा नै खाद्य वस्तु उपलब्ध गराउने, कसैलाई खाद्यान्न अभाव भएमा सार्वजनिक गरेका नम्बरमा फोन सम्पर्क गरी खरिद गर्ने व्यवस्था मिलाउने र त्यसको व्यवस्थापन गर्न नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सार्वजनिक सूचना जारी गर्ने, खाद्यान्न आपूर्ति व्यवस्थामा आवश्यक पर्ने गाडी, चालक र कर्मचारीको निर्वाध आवागमनका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने छ ।


Last Updated on: May 28th, 2021 at 7:48 am
२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया