सोमबार ०८ कार्तिक २०७८

हुम्लामा एक जना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।

शुक्रबार बिहान करिब साढे ८ बजे चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढामाथि कुटपिट भएको हो। उनीमाथि स्थानीय अमृत रोकायले कुटपिट गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार रोकाय शिक्षकसमेत हुन्। उनी गौरिशंखर प्राथमिक विद्यालयमा पढाउँछन्।

‘स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो। त्यसको गम्भीरताबारे हामी बुझ्दैछौं। स्वास्थ्य चौकीको कम्पाउन्ड परिसरमा भएको भन्ने खबर आएको छ। स्वास्थ्यकर्मीले चौकीमा आएर निवेदन दिनुभएको छ,’ शर्माले भने।

रोकायकी श्रीमती अहिले कोरोना संक्रमित छन्। संक्रमित श्रीमतीको उपचार नगरेको भन्दै कुटपिट गरेको डिएसपी शर्माले बताए।

‘उहाँको श्रीमतीचाहिँ कोरोना पोजिटिभ हुनुभएको रहेछ। त्यसपछि दिनदिनै मेरी श्रीमतीको हेरचाह गरिदिनु भएन भनेर झोक्किएर आएर दुर्व्यवहार गर्‍यो भनेका छन्,’ उनले भने।

उक्त गाउँ पुग्न प्रहरी कार्यालयबाट दुई घन्टा पैदल हिँड्नुपर्छ। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली खटाइएको छ। कुटपिट भए पनि घाइते नभएको प्रहरीले जनाएको छ।

अहिलेको गम्भीरतालाई मध्यनजरमा राख्दै रोकायलाई कारबाही गर्ने डिएसपी शर्माले बताए। यद्यपी उनी पक्राउ परिसकेका छैनन्।

‘विकट ठाउँ हो यो। हतोत्साही हुन्छन्। हत्तपत्त सहयोग पनि पाउनुहुन्न,’ डिएसपी शर्माले भने,’स्वास्थ्यकर्मीको मनोबल गिर्ने काम गर्नेलाई हामी छोड्दैनौं।’

प्रहरीले यस घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

पछिल्लो समय कोरोना भाइरसको महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भइरहेको कुरा बाहिर आएका छन्। जेठ १३ गतेमात्रै भेरी अस्पतालमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूमाथि कुटपिट भएको थियो। कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका परिवारले कुटपिट गरेका थिए।


Last Updated on: June 4th, 2021 at 2:16 pm
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया