बिहिबार ०७ आश्विन २०७८

पेस्तोल देखाएर खोला उत्खनन्
बर्दिबास : ‘क्रसरवालाले तेरो छोरोलाई टिपरले खोलामा पिचिदियो,’ सुतिरहेकी चन्द्रकला देवी महतोलाई ओछ्यानमै पुगेर कसैले सुनायो। २५ पौस २०७६ को झिसमिसे बिहानीमा उनी आँखा मिच्दैं घर अघिको खोलामा दौडिन्। औरही खोलाको लिकमा उनको छोरो दिलीपको शव थियो, प्राण उडेर विलय भइसकेको थियो। चुरेको भावर क्षेत्रमा पर्ने खोलाको दोहन रोक्न दिलीप र उनका साथी गएका थिए।

राति खाना खुवाएर सुताएको २५ वर्षीय छोरो दिलीप महतोको शव चन्द्राकलाले देखेपछि उनी छाँगाबाट खसिन्। नौं महिना कोखमा राखेर जन्म दिएको दियो झैं समाजलाई उज्यालो दिएका छोरोको मृत्युको खबरेले बेहोस् भइन्। ओछ्यानमा तातो पानी पुर्‍याएर सुत्न गएकी चन्द्रकलाका छोरा राति खोलामा भइरहेको उत्खनन रोक्न गएका थिए। उनका साथी भागेर ज्यान जोगाए। तर, दिलीप त्यही मारिए। छिमेकीले एका बिहानै छोरो मारिएको खबर चन्द्रकलाको कानमा अझैं गुञ्जिन्छ।

आशाको दियो निभ्यो
१७ महिना अघिको धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरमा भएको यो घटनाले चुरे दोहनले प्राकृतिक श्रोत मात्रै दोहन भइरहेको छैन त्योसँगै समाजमा अपराध मौलाएको देखाउँछ। ‘दिलीपको आँटिलो र जोशिलो स्वभाव देखेर साह्रै खुसी हुन्थेँ,’ चन्द्रकला भन्छिन्,‘ बाबु राम्रो गर, सबैलाई कल्याण गर, रगत सबैको एकैनाश हो। कोही फरक हुँदैनन्। सहायता गर, सबैलाई सहयोग गर।’ घुसपेटको दुनियाँबाट बचेर अघि बढन् उनकी आमाले सुझाउथेँ,‘ मेरो कुराले ऊ सधैं प्रेरित हुन्थ्यो।’

थोरै लगानीमा धेरै कमाई हुने भएपछि राजनीति संरक्षणमा क्रसरवाला ठेक्केदार चुरिया पहाड र भावर क्षेत्रको अत्याधिक दोहन गरिरहेका छन्। मासुरक्सी खुवाएर पेस्तोल, खुकुरी देखाउँदै, खोलाको दिउँसो दोहन भइरहेको छ। चुरे दोहनविरुद्ध अवाज उठाउने कतिपयको जीवन सूर्य अस्ताए जस्तै भएको छ।

चुरिया पहाड र भावर क्षेत्र क्रसर संचालकका लागि कमाउने ‘सेतो हात्ती’ उर्र्बर थलो र राजनीतिक तथा प्रशासनिक संरक्षण दिनेका लागि सधैं दुध दिने ‘लैनो भैंसी’ झैं छ। जनप्रतिनिधि र प्रहरी प्रशासनलाई मिलाउन सकिएयो भने दोहन गर्नेको मुठ्ठीमा कानुन पुग्छ।

दिलीपलाई सहिद घोषणा गर्नुपर्छ’
‘चुरेको अबैध दोहन समाजमा समाप्त पार्ने कोरोना जस्ता एउटा विकृत महामारी नै हो,’ नेकपा एमाले महोत्तरी जिल्ला सदस्य रामहरी खतिवडा भन्छन्, ‘चुरे दोहनले समाजमा अपराध गर्ने प्रवृत्ति मौलाउदैं गएको छ।’ यसविरुद्ध जनप्रतिनिधि र प्रहरी प्रशासनले चासो नदिएको उनले बताए।

चुरेको भावर क्षेत्र दोहन गरेर क्रसरबाला धन कमाउन चाहन्थें भने दिलीप अवैधानिक रुपमा भइरहेको बालुवा, गिट्टी, ढुङ्गा उत्खननलाइे रोकेर आफ्नो सुन्दर थातथलो श्रीपुर गाउँ बचाउन चाहन्थें। यो कुरा चुरे माफियालाई पचेन।

चुरेको भावर क्षेत्रमा पर्छ श्रीपुर गाउँ। त्यो गाउँ नजिकै औरही खोला छ। चुरेको भावर क्षेत्रमा पर्ने त्यो खोलामा अवैधले गाउँलेलाई निकै समस्या हुन्थ्यो। हिउँदमा खानेपानी हाहाकार अनि वर्षामा बाढीले खेत कटान गरिने। यो समस्या खोलाको जथाभावी दोहनले उत्पन्न भएको थियो।

मृतक दिलीपका बुवा रामजीवन कक्षा नौ पढ्दै गर्दा खेतीकिसानीको कामले उनलाई पढ्नै दिएन। छोरो दिलीप (ओमप्रकाश)लाई इन्जिनियर पढाएर ठूलो मान्छे बनाउने उनले सपना देखेका थिए। छोराको हत्याले रामजीवनको सपना चकनाचुर भयो।
‘सरकारले दिलीपलाई पर्यावरण सहिद घोषणा गर्नुपर्छ,’ मृतक दिलीपका बुवा भन्छन्, ‘चुरे संरक्षणका लागि उसले बलिदान दिएको छ, साधारण व्यक्तिगत कुराका लागि होइन।’

राजनीतिक दल र नेताकै संरक्षणमा चुरेमा क्रसर डनको बिगबिगी छ। डनहरूको कब्जामा चुरे परेको छ। मधेसको जीवन संकटमा पर्दै गएकाले पूर्वराष्ट्रपति डा.रामवरण यादव चिन्तित छन्, चुरे बचाउन सबैसँग हरेक मञ्चमा आग्रह गर्छन्।

पेस्तोल देखाएर खोला उत्खनन्
खोलाको अवैध उत्खनन रोक्न गएका धनुषाका दिलीपको क्रसर डनले हत्या गरेपछि चुरेका नदी–खोला गर्ने डनको प्रवृत्तिलाई झन उदाँगो बनाइदियो। त्यसअघि बटेश्वर गाउँपालिका–१ का मनोजकुमार कुश्वाहा पेस्तोलसहित पक्राउ परे। उनले त्यो पेस्तोल देखाएर गाउँलाई धम्क्याउँदै बडहरी खोलामा बालुवा, गिट्टी उत्खनन् गर्दै आएको अर्को तथ्यलाई बाहिर ल्यायो। अवैध उत्खनन्विरुद्ध बोल्दा मारिदिने धम्की दिँदै आएका उनलाई २५ जेठ ०७६ मा खोला बाटै उनलाई प्रहरीले स्वचालित पेस्तोलसहित पक्रियो।

हतियार लिएरै नदी उत्खनन गर्ने मनोजको न कुनै क्रसर उद्योग छ न त उनी ठेकेदार नै हुन्। उनी नदी खन्ने ठेकेदारको बाउन्सको काम गर्थे। हतियारसहित पक्राउ पर्नुअघि उनी डकैतीमा पनि मुछिएको प्रहरीले जनाएको छ।

सञ्चारकर्मीसहित कमैले चुरिया संरक्षण र यसको विषयमा बोल्ने, लेख्ने र बहस गर्ने हिम्मत राख्ने गरेको महोत्तरीको बर्दिबासका कांग्रेस नेता महेश झा बताउँछन्। ‘तस्करविरुद्ध बोल्नेको जुनसुकै बेला ज्यानको खतरा छ। कतिखेर चुरे माफियाले कहाँ, कसबाट के ? गराइदिन्छ त्यसको ठेगान छैन,’ उनले भने।

चुरे दोहनले बढाएको अवैध कार्यलाई नरोक्ने हो भने यसले समाजलाई प्राकृतिक, समाजिक, आर्थिक, सांस्कृतिक सबै रुपले चपेटामा पर्छ। चुरेको काँखमा अवस्थित तराईमा देशको ५० प्रतिशत जनताको बसोबास छ।

दोहन रोक्न गएका कुटिए
महोत्तरीको रातु खोलामा भइरहेको उत्खन्न रोक्न गएका नेपाली कांग्रेसका कार्यकर्ता ठेक्केदार पक्षबाट कुटिए। बर्दिबास–९ पशुपतिनगरका विपिनकुमार महतो र लभकुमार सिंह त्यस घटनामा घाइते भएका थिए। ठूला यन्त्र प्रयोग गरेर खोला खन्न पाइदैंन।

महोत्तरीको बर्दिबास नगरपालिकाले संघीय सरकारले बनाएको कानुनलाई लत्याउँदै डोजर, जेसिबी, स्काइभेटर जस्ता ह्यावी मेसिन प्रयोग गरेर ठेक्केदारलाई रातु खोला खन्न दिन वैधानिक निर्णय नै गरेको छ। त्यसको अहिले चर्को विरोध भइरहेको छ।

बर्दिबास नगरपालिकाले वातावरण प्रभाव मुल्यांकन गरेर खोला उत्खन्न गर्न ठेक्का लगाएको छ। तर, ठेक्केदारले मापदण्डको धज्जी उडाइएको छ भने नगरपालिकाले छुट दिएको छ।

सेटिङ मिलाएर भइरहेको अवैध उत्खनन तत्काल रोकेर कारवाही बढाउन महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले माग गरेका छन्। मापदण्ड विपरित भइरहेको उत्खनन बारे मिडिया र जनस्तरबाट कुरा उठेपछि नेता पोखरेलले बुधबार साँझ प्रेस वक्तव्य सार्वजनिक गर्दै त्यसको विरोध गरेका हुन्।

राजनीतिक, प्रहरी तथा प्रशासनको संरक्षणले प्राकृतिक स्रोतको दोहन भइरहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु खड्का बताउँछन्। ‘प्राकृतिक स्रोत समाजको साँझ सम्पत्ति हो। त्यसलाई कसैले व्यक्तिगत फाइदाका लागि दुरुपयोग गर्नु आफैमा समाजिक अपराध हो,’ उनी भन्छन्, ‘क्रसरवालाले चुरेबाट अकुत कमाउने अनि राजनीतिक दलबाट टिकट किनेर चुनाव जितेपछि देशको नीति निर्माण र निर्णय कस्तो हुन्छ होला ?’ विस्तारै तराई–मधेससहित देश क्रसरवालाको हातमा पुग्ने उनले उल्लेख गरे। ‘त्यसैले हाम्रा प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्छ भन्ने आवश्यकता झन बढेर गयो,’ खड्काले भने।

सर्लाहीस्थित बाँके खोलामा क्रसरवालाले अवैध रूपमा बालुवा–गिट्टी झिकेर ठूलो खाडल बनाए। त्यसमा जमेको पानीमा डुबेर चार वर्ष अघि ईश्वरपुर नगरपालिका–१३ का १२ वर्षीय अमित रायको मृत्यु भयो। क्रसरवालाको ज्यादतीविरुद्ध स्थानीयले राजमार्ग सडक बन्द गराएका थिए। प्रहरी सडक खुलाउन गोली चलाएपछि २७ वर्षीय केवल महतोको ज्यान गयो।

‘दोहनले मधेस मरुभूमी हुन्छ’
चुरे संरक्षण अभियन्ताका नागदेव यादवका अनुसार चुरेको भावर क्षेत्र उत्खननले मधेश झनै असुरक्षित बनेको छ। सबैभन्दा बढी क्रसर चुरेको भावर क्षेत्रमा संचालनमा छन। प्रदेश २ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन, क्रसर, बिक्रीवितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालन व्यवस्थित गर्ने कार्यविधि’ २०७५ स्वीकृत गरेर मापदण्ड तोकेको छ। तर, अधिकांश उद्योग मापदण्ड पूरा नगरी सञ्चालित छन्।

चुरेविद् डा. विजय सिंहले भने, ‘चुरेको दक्षिणी भागको करिब १० किमिसम्म क्षेत्रमा भारवर पर्छ। जुन पूर्णरूपमा चुरेको अति संवेदनशील एरिया हो।’ नेपालको कुल क्षेत्रफलमध्ये १२ दशमलव ७८ प्रतिशत चुरे पहाड पर्छ। ‘चुरे गेग्य्रानले बनेको कमलो कान्छो पहाड हो। चुरेको अवैज्ञानिक दोहन बढ्दै गए मधेस मरुभूमिमा परिणत हन्छ’, चुरे-तराई अन्तरसम्बन्धका जानकार डा. भन्छन्।


Last Updated on: June 6th, 2021 at 6:03 pm
१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया