सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडौं ,

सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन् । मंगलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएसँगै २० प्रतिशत छुट रोकिएको खाद्य कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले गत वैशाख २० गतेदेखि देशभर रहेका ४८ वटा बिक्री काउन्टरबाट दिइएको छुट मंगलबारदेखि रोकिएको जानकारी दिइन् ।

उनका अनुसार कम्पनीले करिब डेढ महिनाको अवधिमा एक करोड ३८ लाख रुपैयाँभन्दा बढीको छुुट दिइएको छ । करिब ६ करोडभन्दा बढीको कारोबार हुँदा उक्त रकम छुट दिइएको हो । छुट अवधिमा १२ हजार ८८ क्विन्टल चामल बिक्री गरिएको छ ।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले समेत बुधबारदेखि छुट रोकिएको जनाएको छ । दुई कम्पनीले छुट दिँदा उपभोक्ताको भिड बढेको भन्दै गत वैशाख २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र खाद्यान्नमा छुट दिएका थिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनबाट खाद्यपदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताएका थिए ।

साल्ट ट्रेडिङ कर्पाेरेसनले आफ्नो उत्पादनबाट पाँचजनाको परिवारलाई एक महिनाका लागि पुग्ने खाद्यपदार्थमा सरकारले तोकेको २० प्रतिशत छुट दिएको थियो । कम्पनीले दुई किलो पिठो, चिनी, नुन, एक लिटर तेल र एक सिलिन्डर ग्यासमा छुट दिएको थियो ।

यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई किलो कर्णालीको सिमी र ३० किलो चामल (कम्पनीसँग रहेको बासमती र मार्सीबाहेकको चामल)मा २० प्रतिशत छुट दिएको थियो ।


Last Updated on: June 23rd, 2021 at 7:07 pm
१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया