सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडौँ,

सर्वोच्च अदालतले एमाले र माओवादी छुट्टाइदिएपछि एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरू सामुहिक छलफलमा जुटेका छन् । एमाले आफनै तनावमा रुमल्लिएका बेला यता न उता भएपछि उनीहरू सामुहिक छलफलमा जुटेका हुन् ।

एमाले प्रवेश गरेपनि एमालेको कुनैपनि स्थानमा उनीहरूले आधिकारिकता पाएका छैनन् । कहिले निर्वाचन आयोग त कहिले बालुवाटार धाएर गुनासो गर्नेगरेका नेताहरु अहिले आन्तरिक छलफलमा जुटेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूले राखेका मागबारे चासो देखाएका छैनन् ।

पछिल्लो समय पार्टीकै निर्णय पनि अदालतले खारेज गरिदिने गरेकाले ओली थप तनावमा छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते सत्तारुढ नेकपालाई अवैध भन्दै पूर्ववत पार्टी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएको थियो । त्यसपछि ओलीले एमालेको केन्द्रीय कमिटि र महाधिवेशन कमिटी गठन गरेका थिए । तर पछि गठन गरेका कमिटिलाई अदालतले अवैध बनाइदिएको छ भने पूर्वमाओवादीबाट आएका नेताहरूको अभिलेख निर्वाचन आयोगले समेत राखेको छैन ।

उनीहरू आन्तरिक छलफलमा जुटेको बाहिर आएपछि भने आफूहरूसँग एमालेका आएका नेता कार्यकर्ताहरूको सूची बनाउन तयार पार्न थालेको भन्दै प्रचार गरिएको छ । उनीहरूले आफूहरूसँग एमालेका आएका नेता कार्यकर्ताहरूको सूची यसअघि नै प्रधानमन्त्री ओलीलाई पटक-पटक दिइसकेका छन् । तर त्यसबारे ओलीले कुनै चासो नदेखाएको पूर्वमाओवादीकै एक नेताले बताएका थिए ।

केहि अघि आफू माओवादीमा फर्किन चाहेको भन्दै नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुचना पठाएका थिए । तर माओवादीमा उतै बस्नु भन्दै प्रचण्डले खबर पठाएपछि रायमाझी थप संकटमा परेका छन् । त्यतिमात्र होइन माओवादीमा फर्किने खबर पठाएको सुचना बालुवाटारले थाहा पाएपछि थप पेलानमा परेका छन् ।

लगातार दवाव दिँदापनि वास्ता नभएपछि उनीहरू आन्तरिक छलफलमा जुटेका हुन् । आफूसंग भएको जनमत र नेताहरू देखाएर ओलीलाई दवाव दिने योजना अनुसार उनीहरू छलफलमा जुटेका हुन् । उनीहरू केहिदिन देखि अनौपचारिक छलफलमा रहेको बताइएको छ ।

एकातिर एमालेमा आफ्नै समस्या भैरहेको छ भने अर्कोतिर माधव नेपाल समूह मिल्दाको अवस्थामा उनीहरू हैसियतबिहिन हुने पक्का भएको छ। माधव नेपाल पक्षले अडान लिएको २०७५ जेठ २ मा फर्कने हो भने उनीहरूको हैसियत एमालेमा के हुन्छ भन्न सकिने अवस्था छैन ।

एक नेताका अनुसार माओवादीबाट आएका नेताहरूले ओलीसंग अत्यधिक डिमाण्ड गरिरहेकाले ओलीले उनीहरूलाई पहिलेजस्तो वास्ता गर्न छाडेका छन् । ओलीको यस्तो व्यवहार देखेर नेताहरू एमालेभित्र माधव नेपालको हालतमा ओलीले लैजानसक्ने समेत आशंका गरेका छन् ।

अवसर र मन्त्री पदकै लागि माओवादी छाडेर एमालेमा आएका नेताहरू अहिले यता न उताको बनेका छन् । नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरिशंकर चौधरीलगायत एमालेमा बसेर त्यतिबेला आफ्नो मन्त्री पद जोगाएका थिए । तर, माओवादीले कारबाही गरेपछि उनीहरूको मन्त्री पद गएको थियो । त्यसपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसांसद नेताहरूलाई पनि मन्त्री बनाएका थिए ।

ती नेताहरूले आफूहरूसँग एमालेमा आएका पूर्वमाओवादी नेता कार्यकर्ताको सूची तयार गर्न थालेका हुन् । अब भने सुची नै देखाएर ओलीलाई दवाव दिने उनीहरूको योजना छ ।


Last Updated on: June 26th, 2021 at 6:43 pm
९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया