मंगलबार ०५ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

काठमाडौं महानगरपालिकाले रत्नपार्क अगाडिको आकाशे पुलमा बनाइएको भित्तेचित्र मेटेपछि केहीदिनदेखि त्यसको चर्चा भइरहेको छ । कोरोना महामारीमा आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर ‘फ्रन्टलाइन’ मा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरूको सम्मानमा कलाकारहरूले भित्तेचित्र बनाएका थिए ।

तर, काठमाडौं महानगरले उक्त भित्तेचित्र मेटाइदिएपछि कलाकारसहित राजनीतिक दल तथा नागरिस्तरबाट चर्को आलोचना भइरहेको छ । नागरिकस्तरबाट महानगरले अग्रमोर्चामा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको अपमान गरेको बताएका छन् । कलाकारहरूले भने देशमा कलालाई बुझ्ने सरकार नभएको भन्दै दुखेको पोखेको छन् ।

कलाकारहरूले यस विषयमा ललितकला प्रज्ञा प्रतिष्ठानले कुनै चासो नदेखाएको आरोप लगाएका थिए । उनीहरूले प्रतिष्ठानले कला र कलाकारलाई अन्याय हुँदा बोल्नुपर्ने बताएका थिए ।

महानगरबाट कलालाई अपमान हुँदा प्रतिष्ठानले विज्ञप्ति जारी गरेर कलाको पक्षमा वकालत गर्दै महानगरसँग यसबारे स्पष्टीकरण खोज्नुपर्नेमा दिग्गज कलाकारहरूले जोड दिइरहँदा प्रतिष्ठानले भने यसबारे बोल्न उचित नभएको बताएको छ ।

कलाकार र कलाको विकासकै लागि काम गरिरहेको प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले यस विषयमा प्रतिष्ठान बोल्न नमिल्ने बताए ।

“यसबारेमा हामीलाई कुनै खबर नै छैन । कलाकार र महानगरबीच सम्झौता भएर भित्तेचित्र कोरेको हो भन्ने खबर हामीले सञ्चार माध्यमहरूबाटै पाएका हौँ । यसका कति जना कलाकारले के बनाउनु भएको हो हामीलाई कुनै खबर नै थिएन । त्यसैले यस विषयमा हामीले बोल्न उचित नठानेरै प्रतिष्ठान चुप बसेको हो ।”

यदि कलाकारहरूले प्रतिष्ठानलाई खबर गरेर पेन्टिङ गरेको भए महानगरकोे कदममा प्रतिष्ठानले प्रश्न चिन्ह उठाउने उनको भनाइ छ । “यदि कलाकारहरूले पूर्व जानकारी दिनुभएको भए प्रतिष्ठानले आवश्यक सहयोग वा सल्लाह पनि दिन्थ्यो,” उनले भने ।


Last Updated on: July 4th, 2021 at 8:31 pm
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया