बुधबार ०६ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले सर्वोच्च अदालतको फैसालाविरुद्ध सडकमा उत्रिएर बबण्डर मच्चाउने ‘सुण्ड–मुण्ड’हरूलाई औकातमा बस्न चेतावनी दिएका छन् ।

लोकतन्त्र रहेको मुलुकमा न्यायालय सबैभन्दा माथि रहनेभन्दै स्वतन्त्र न्यायपालिकाको फैसलालाई सहज रुपमा लिन केपी ओली नेतृत्वको एमालेका नेता कार्यकर्तालाई सुझाव दिएका छन् ।

रिपब्लिका दैनिकसँग कुरा गर्दै चौधरीले भने, ‘लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ । अभिव्यक्ति स्वतन्त्रता छभन्दैमा आफू अनुकूलको फैसला आएन भनेर सुण्ड–मुण्ड लगाएर न्यायालयविरुद्ध प्रदर्शन गर्ने कुरा लोकतान्त्रिक चरित्र होइन ।’

कांग्रेसका युवा नेता चौधरीले केही कम्युनिस्टको चरित्र भनेकै सधैँ सत्तामा टिकिरहने इच्छा हुने गरेको भन्दै ओलीवाला एमालेलाई संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आएको सर्वोच्च अदालतको फैसलालाई आत्मसात गर्न सुझाव दिए ।

‘न्यायालयको फैसलामा चित्त नबुझ्न सक्छ । आफ्नो पक्षमा फैसला आउँदा खुसी हुने । फैसला विपक्षमा जाँदा न्यायालयविरुद्ध जथाभावी बोल्ने र प्रदर्शन गरेर न्यायालयको हुर्मत लिने कार्य कांग्रेसका लागि स्वीकार्य छैन’,

चेतावनी शैलीमा नेता चौधरीले भनेका छन्, ‘न्यायालयको सम्मान गर्न सकेमा लोकतान्त्रिक व्यवस्था बलियो हुन्छ ।’

जनताले झण्डै दुईतिहाइ बहुमत कम्युनिस्टको कथित वाम गठबन्धनलाई नै दिएको बताएका नेता चौधरीले भने, ‘दुईतिहाइको बहुमत थेग्न नसक्ने । सरकार चलाउन नसक्ने ।

आफ्नै पार्टी मिलाउन नसक्ने । संविधान र लोकतन्त्रविरुद्ध जाने । संसद आफै दुई–दुई पटक विघटन गर्ने, अहिले आएर रुञ्चे स्वरमा सडकमा रुँदैमा केही हुँदैन ।’

ओली नेतृत्वको एमालेका कार्यकर्ता, नेताहरूले काठमाडौंमा अदालतको फैसलाविरुद्ध सडकमा प्रदर्शन गरेपछि कांग्रेस नेता चौधरीले उनीहरूलाई सचेत गराएका हुन् ।

सर्वोच्चको फैसलाले ओलीको कुर्सी फुत्किएपछि एमालेका नेता महेश बस्नेतको उक्साहटमा राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताले काठमाडौंमा उत्पात मच्चाएको भन्दै विरोध भइरहेको छ ।


Last Updated on: July 14th, 2021 at 7:26 am
२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया