शनिबार ०९ साउन २०७८

Kantipur News Nepal

काठमाडौं

नेपाल टेलिकम कुनै समय सबैभन्दा बढी कर तिर्ने निकायमा पथ्र्यो। यसको अर्थ सबैभन्दा बढी नाफा यसले कमाउँथ्यो। अहिले आएर यो उक्त सूचीमा धेरै तल झरेको छ। नेतृत्व सक्षम भयो भने सरकारी स्वामित्वको कम्पनी पनि प्रतिस्पर्धामा अगाडि हुन्छ, कमजोर भयो भने तल झर्न बेरै लाउँदैन भन्ने उदाहरण नै टेलिकम हो।

टेलिकमको सेवा र गुणस्तर सुधार गर्न नियुक्त भएका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कार्यसम्पादन सम्झौताअनुसार योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन नसक्दा यो धराशायी बन्दै गएको हो। प्रबन्ध निर्देशक भएपछि टेलिकमको गुणस्तर सुधार्नुका साथै सेवामा प्रभावकारिता ल्याउने अधिकारीले उद्घोष गरेका थिए।

तर कार्यसम्पादन सम्झौताअनुसार काम गर्न नसक्दा यो ओरालो लाग्दै गएको हो। ‘टेलिकमका उच्च कर्मचारी र निजी क्षेत्रका टेलिफोन प्रदायकबीच अपवित्र साँठगाँठ हुन्छ। त्यही कारण बेलाबेला टेलिकमको सेवा अवरुद्ध गराइन्छ’, टेलिकम उच्च स्रोतले भन्यो, ‘अधिकांश सरकारी संस्थानमा हुने यो रोग टेलिकममा रोक्न नेतृत्व असक्षम छ। बरु त्यस्तै व्यक्तिलाई च्यापेको देख्दा संलग्नताको आशंका गर्न सकिन्छ।’

राजधानीकै मुख्य क्षेत्रमा अप्टिकल फाइवर सुविधा नहुँदा धेरैले टेलिकमको दु्रतगतिको सेवा उपभोग गर्नबाट बञ्चित भएका छन्। राजधानी बाहिर यो सेवा पु¥याउन अझै केही बर्ष लाग्न सक्ने टेलिकम स्रोतको भनाइ छ। टेलिमकले डाटा, भ्वाइस र भिडियो सेवा एउटै केबलबाट दिने योजना बनाएको थियो। तर, यो सेवा राजधानीकै सम्पूर्ण स्थानमा उपलब्ध छैन।

२०७२ बाट सुरु भएको फाइबर एफटीटीएच निजी सेवा प्रदायकभन्दा गुणस्तरीय र सस्तो हुँदा पनि सबैको पहुँचमा पु¥याउन अधिकारी असफल बनेका छन्। काठमाडौं उपत्यका सिंहदरबार वरपरसमेत फाइबर सेवा उपलब्ध नहुँदा टेलिकमको इन्टरनेट चलाउन रुचि देखाएका प्रयोगकर्ता अन्य सेवा प्रदायक कम्पनीसँग जोडिएका छन्। यसरी अधिकारीले टेलिकमलाई धराशायी बनाएर प्रयोगकर्ताको संख्यासमेत घटाउन सहयोग गरेको स्रोतको दाबी छ।

प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै गर्दा उनले इन्टरनेटको शुल्क घटाउने, देशव्यापी फोरजी सेवा विस्तार गर्ने, थ्रिजी र टुजीको पहुँच विस्तारसँगै त्यसको स्तरोन्नतिमा जोड दिने योजना बनाएका थिए। टेलिकमको फाइबर टु द होम इन्टरनेट सेवालाई सहरी क्षेत्रमा विस्तार गर्ने र इन्टरनेटको शुल्क घटाउने अधिकारीको योजना थियो।


तर, यस्ता विषयमा उनले कुनै पनि योजनालाई साकार पार्न प्रभावकारी भूमिका खेल्न सकेनन्। अधिकारीले कम्पनीका सम्पूर्ण सेवालाई प्रभावकारी बनाउने, प्रतिस्पर्धी व्यापारिक रणनीति, व्यावसायिक रूपमा कम्पनीको आयस्रोत बढाउने, सरकारको आर्थिक समृद्धिको योजनालाई दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रबाट भरपूर सहयोग पु¥याउने उद्घोष गरेका थिए।

‘तर यीमध्ये अधिकांश काम अधुरै राखिएका छन्,’ टेलिकमका एक उच्च अधिकारीले भने। टेलिकम नेतृत्व समूहले नियोजित रूपमा धराशायी बनाउन खेलेको भूमिका कारण पछिल्लो एक महिनाको अवधिमा सेवा अवरुद्धका साथै सर्भर ह्याकसम्मको समस्या देखा परेको हो। गत आइतबार ह्याकर समूहको निसानामा टेलिकम परेको थियो।

सुरक्षाको भरपर्दो सुरक्षा प्रणाली अपनाउन नसक्दा ह्याकरहरूको एक समूहले टेलिकमको सञ्चालनमा रहेको पुरानो सर्भरमा आक्रमण गरेको थियो। ह्याकरको समूहले सर्भर ह्याक गरी डेटाहरू चुराएको बिषयमा अध्ययनसमेत थालिएको टेलिकमको प्रवक्ता राजेश जोशीले बताए। यसअघि असार ९ गते बिहान करिब साढे दुई घण्टा टेलिकमको देशभर सेवा अवरुद्ध भएको थियो।

प्रतिबद्धता जनाएअनुसार कार्य सम्पादन गर्न नसक्दा टेलिकमको फोन नबुझिने र कुरा गर्दा गर्दै बीचमै आफैं काटिनेजस्ता घटना दैनिक रूपमा भइरहने प्रयोगकर्ताको गुनासो छ। प्रबन्धक निर्देशक अधिकारीले कार्यसम्पादन सम्झौतामा आफूले गर्ने भनेर तोकेको योजनासमेत इमानदारीपूर्वक कार्यान्वयनमा नल्याउँदा टेलिकम धराशायी बन्दै गएको स्रोतले भनाइ छ।

सेवाग्राहीले नेपाल टेलिकमको वेभसाइटमा दिइएको नम्बरमा फोन नउठ्ने, धेरै पटक फोन गर्दा कर्मचारीले चासो नदेखाउनेजस्ता गुनासो उपभोक्ताको छ।


Last Updated on: July 14th, 2021 at 8:50 am
८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया