बुधबार ०६ आश्विन २०७८

२०७८ साउन १, शुक्रबार

Kantipur News Nepal

काठमाडौं

नेपाली कांग्रेसका नेता तथा सांसद मिन बहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओली ‘रेड कार्ड’ खाएर बालुवाटारबाट बालकोट गएको टिप्पणी गरेका छन् । ओलीले सुरुदेखि नै संविधानको घोडा चढी सरकार सञ्चालन गरेको उनको टिप्पणी थियो ।

आफूहरुले मुलुक र व्यवस्था बचाउनको लागि रिट दर्ता गरेको र सर्वोच्च अदालतले सोहीअनुसार फैसला गरेको विश्वकर्माको भनाइ छ । विहीबार काठमाडौंमा आयोजित एक् साक्षात्कारमा बोल्दै उनले भने, ‘केपी ओली त रेड कार्ड खाएर बालकोट जानुभयो, अब म्याच खेल्न पाउनुहुन्न ।’

उनले ५ दलको गठबन्धन कायमै रहने पनि विश्वास दिलाए । उनले माधव नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विश्वास दिलाएको पनि सुनाए । उनले भने, ‘उहाँले यो संसदको पूर्ण आयु कायम गर्नुपर्छ भन्नुभएको छ । यो सरकार १६ महिना नै चल्छ ।’ उनले प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्ने पनि दाबी गरे ।

उनले प्रधानमन्त्री देउवासँग समन्वयकारी भूमिका खेल्ने स्वभाव भएकोले अहिले पनि सबैलाई मिलाएर लैजाने बताए । उनले भने, ‘मुलुकलाई सबै मिलेर अघि बढाउनुपर्छ । उहाँले राष्ट्रिय सहमतिको वातावरण बनाउनुहुन्छ । मलाई विश्वास छ, उहाँले त्यहीअनुसार आफ्नो भूमिका निर्वाह गरिरहनुभएको छ ।’

उनले विश्वासको मत भने अधिकतम पाउने जिकिर गरे । यसअघिको सरकारले गरेका राम्रा र असल कामलाई भने यो सरकारले निरन्तरता दिने र असंवैधानिक कामलाई भने खारेज गर्ने पनि उनको भनाइ छ ।

ओलीले कानूनविपरित सरकार चलाएको उनको आरोप थियो । तर, वर्तमान सरकारले कानूनबमोजिम देश चलाउने उनको विश्वास छ । एक हप्ताभित्रै मन्त्रिमण्डल विस्तार गरिने पनि उनले जानकारी दिए ।

उनले भने, ‘यथाशीघ्र मन्त्रिमण्डल विस्तार हुन्छ, मलाई लाग्छ एक हप्ताभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ ।’ माधव नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने र सबैलाई सरकारमा भाग लिने वातावरण बनाईने पनि बताए ।

उनले भने, ‘सबैले सरकारमा भाग लिँदा नै सही हुन्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भन्दा यो चुनावी सरकार नै हो । हाम्रो लक्ष्य भनेको यो संसदको पूर्ण कार्यकाल चल्नुपर्छ ।’


Last Updated on: July 16th, 2021 at 9:08 am
१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया