सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

जसपाको तत्काल कायम रहेको सांसद संख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा शनिबार सम्पन्न बैठकले सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागिता जनाउने बैठकले निर्णय गरेको छ । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दै छ ।

जसपाको पार्टी आधिकारिताको विवाद निर्वाचन आयोगमा टुंगो लागेको छैन । आयोगले आइतबारदेखि पार्टीको विवादका सम्बन्धमा गठन गरेको इजलासबाट छलफल हुने र तीन दिनभित्र निर्णय आउने जनाइएको छ ।

पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका केही सांसद पनि यादव पक्षमा आएको जनाइएको छ ।

सरकारमा सहभागी हुँदा यादव पक्षले सरकारका न्यूनतम साझा कार्यक्रमका साथै संविधान संशोधन, नागरिकता विधेयक, कार्यकर्तामाथि लागेको मुद्दा, मुस्लिम, जनजातिको पर्व बिदालगायत विषय उठाउने भएको छ । पार्टीको कार्यकारिणी समितिको बैठक आगामी सोमबार बोलाइएको कार्यकारिणी समिति सदस्य राईले जानकारी दिए ।


Last Updated on: July 17th, 2021 at 9:50 pm
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया