बिहिबार ०७ आश्विन २०७८

Kantipur News Nepal

सन् १८९६ जुलाई ७, टाइम्स अफ इन्डियामा एउटा विज्ञापन छापियो । विज्ञापनमा बम्बे (मुम्बई) वासिहरुलाई वाटसन होटलमा ‘शताब्दीको सबैभन्दा ठूलो उपलब्धी र विश्वको सबैभन्दा ठूलो चमत्कार’ हेर्न आमन्त्रित गरिएको थियो ।

बीबीसी

विज्ञापन अनुसार साँझको चार फरक–फरक समयमा उक्त चमत्कार हेर्न उल्लेख गरिएको थियो । हरेक शो को मूल्य मात्रै एक रुपैयाँ भारु थियो, जुन त्यो समयको ठूलो रकम हो ।

टाइम्स अफ इन्डियाले भनेको त्यो चमत्कार अरु केही नभएर उपमहाद्धिपमा ‘चलचित्र’को पहिलो प्रदर्शनी थियो, जसलाई आज हामी ‘फिल्म’को नामबाट पनि चिन्छौं । संयोग वा अरु नै कारण, आज संसारका ठूला फिल्म निर्माण केन्द्रहरुमा मुम्बईको नाम आउँछ । यहाँ हरेक वर्ष हलिउडमाभन्दा पनि धेरै चलचित्र निर्माण हुन्छन् ।

यद्यपि सन् १८९६ को ६ बजेदेखि १० बजेसम्म चल्ने भनिएको ४ शो हेर्न गएका दर्शकले नृत्य, उत्कृष्ट संवाद अनि फास्ट एक्सन हेर्न पाएनन् । त्यो रात प्रदर्शन हुन लागेको सबैभन्दा भयानक चलचित्र ‘अराइवल अफ ए ट्रेन’ थियो ।

एउटैघटनामा आधारित चलचित्र

चलचित्र निर्माणको सुरुआती समयमा प्रायजसो चलचित्रहरु एउटै घटनामा आधारित भएर बन्थे । ती चलचित्रहरु प्रथम विश्व युद्ध र त्यसपछिका कैयौं वर्षसम्म सिनेमाघरहरुमा देखाइने रिलहरु जस्ता हुन्थे ।

यी चलचित्रहरु निर्माण गर्ने र त्यसलाई भारतसम्म ल्याइपुर्याउने श्रेय फ्रान्सेली दाजुभाई लुई र अगस्ट लुमियरलाई जान्छ । उनीहरुको कम्पनी ‘सिनेम्याटोग्राफी’ को नाम आजसम्म पनि फिल्म क्षेत्रमा प्रयोग हुन्छ ।

उनीहरुले पहिलो पटक सन् १८९५ मा पेरिसमा चलचित्र देखाएका थिए । पहिलो प्रदर्शनको सफलता पछि उनीहरुले लण्डनमा यो आविस्कारको प्रदर्शन गरे ।

‘द अराइवल अफ ए ट्रेन एट ला सिओटैट स्टेशन’ नामक उक्त चलचित्रमा दर्शकका लागि आकर्षक कुनै पाटो नै थिएन । एउटा ट्रेन (रेल) स्टेशनमा आएर रोकिन्छ मात्रै । तर, पहिलो पटक ठूलो पर्दामा चलचित्र हेरिरहेका दर्शक भने पर्दाको रेल आफैंभएतिर आउँछ जस्तो मानेर आत्तिएका थिए ।

त्यसैले त कोही दर्शक आफ्नो सिटबाट उठेर भागे भने कति बेहोस भएका थिए । खासमा ती दाजुभाइहरु लण्डनपछि अष्ट्रेलियामा उक्त चलचित्र प्रदर्शन गर्न हिँडेका थिए । बाटैमा बम्बे पुगे र केही समय यतै बसेर यहाँ पनि आफ्नो सिनेम्याटोग्राफी चलचित्र प्रदर्शन गरे ।

धेरै शो प्रदर्शन
भारतीय चलचित्र उद्योगको इतिहास, ‘सो मेनी सिनेमाज’का अनुसार प्रत्येक शो मा १७–१७ मिनेट लामो ६ वटा चलचित्र देखाइन्थ्यो । सोही किताबका अनुसार, यी चलचित्रहरु बम्बेमा निकै लोकप्रिय बन्यो । प्रदर्शनको केही दिनपछि अर्थात सन् १८९६ जुलाई १४ मा नोवेल्टी थिएटरमा तीन दिन लगातार प्रदर्शन गरियो ।

बम्बेका दर्शकको उत्साह देखेर लुमियर ब्रदर्सले थिएटरमा अन्य केही नयाँ चलचित्रहरु पनि देखाएका थिए । दर्शकको यति धेरै घुँइचो लाग्यो कि चलचित्र ३ दिनबाट बढाएर एक महिना देखाइयो । दर्शकको सुविधाका लागि बक्स अफिसको पनि व्यवस्था गरियो ।

यति मात्रै नभई शो को टिकट मूल्य पनि १ रुपैयाँबाट बढाएर २ रुपैयाँ पुर्याएको थियो । पछाडिको सिटमा बस्नेहरुका लागि ४ पैसा र २ रुपैयाँ हुन्थ्यो । टाइम्स अफ इन्डियाले यी चलचित्रहरु माथि टिप्पणी गर्दै लेखेको थियो, “लुमियर बन्धुहरुको यो आविष्कार आधुनिक युगको एउटा वैज्ञानिक आविष्कार हो ।”

बम्बेमा प्रदर्शन भैरहँदा सो चलचित्र चीन, अष्ट्रेलिया र दक्षिण अफ्रिका गरि युरोप र अमेरिकाका धेरै सहरहरुमा महिनौंसम्म प्रदर्शन भैरहेका थिए । उनीहरु यो आविष्कारको श्रेय अरुले आफ्नो पोल्टोमा नपरोस भन्ने चाहन्थे । त्यसैले उनीहरु हतारहतार प्रदर्शन गर्नमा लागे ।

सायद यसो नगरेको भए उनीहरुको ईच्छा विथोल्ने प्रबल सम्भावना थियो । किनभने त्यसको केही वर्षभित्रै दोस्रो फिल्म निर्माता कम्पनी ‘स्टुअर्ट’ (१८९७) र ‘ह्युज’ (१८९७) आफ्नो चलचित्र लिएर उपमहाद्धिपमा प्रवेश गरे ।

दर्शकलाई सिनेमाको लत

लुमियर ब्रदर्सको तर्फबाट पहिलोपटक चलचित्र प्रदर्शन त सकाए, तर दर्शकलाई त्यसको लत लागिसकेको थियो । त्यसैले केही महिनापछि नै अर्थात सन् १८९७ जुलाई ४ मा मुम्बईको गेटी थिएटरमा नियमित चलचित्र प्रदर्शनी सुरु हुन थाल्यो ।

मुम्बई पछि कलकत्तामा पनि यो आविष्कारको रुचीको केन्द्र बन्यो । फिरोज रंगुनवालाले आफ्नो किताबमा ‘ए पिक्टोरियल हिस्ट्री अफ इन्डियन सिनेमा’ मा लेखेका छन्, “चाँडै नै यी चलचित्रमा नयाँ बदलाव र आविष्कार पनि गरिए ।

उदाहरणका लागि, ग्लैडस्टोनको अन्तिम संस्कार, नेल्सनको मृत्यु, युनान र टर्कीबीच युद्ध र लन्डनको फायर ब्रिगेडमा आधारित केही वृत्तचित्र र ऐतिहासिक चलचित्र पनि प्रदर्शन गर्न थालिएको थियो । उपमहाद्धिपमा नै बनेका केही चलचित्रहरु पनि देखाइए ।”

लुमियर बन्धुहरुको चलचित्रले महाराष्ट्रका एक फोटोग्राफर चन्द्र सखाराम भटवाडेकरलाई यति मोहित बनायो कि चलचित्र हेरेको तुरुन्तै उनले एउटा मोशन पिक्चर क्यामेरा मगाए । सम्भवत उपमहाद्धिपमा आयात भएको त्यो पहिलो मोशन पिक्चर क्यामेरा थियो ।

यो क्यामेरा भारतमा सन् १८९७ मा प्रवेश गरेको थियो । उक्त क्यामेराबाट उनले पहिलो फोटो दुईजना पहलवान पन्डालक दादा र कृष्णा नेहदीको खिचेका थिए ।

भारतमा सुरु भयो चलचित्रको कारोबार

टिएम रामचन्द्रनद्वारा सम्पादित पुस्तक ‘सेवेन्टी इयर्स अफ इन्डियन सिनेमा’ का अनुसार, “सन् १९०० मा एउटा नयाँ चलचित्र निर्माता, चाल्र्स पाथेले पनि भारतमा चलचित्र व्यवसाय सुरु गरे । उनको चलचित्रहरुको विशेष पक्ष भनेको भारतीय दृश्यहरु पनि हुनु हो ।”

एरिक बार्नो र एस. कृष्णा स्वामीका अनुसार हरिशचन्द्र सखाराम र पाथेको सफलता देखेर केही अन्य भारतीयहरु पनि चलचित्र निर्माणको बाटोमा लागे, जसमा एफबी थानावाला, हीरा लाल सेन र जेएफ मदनको नाम महत्त्वपूर्ण छ । एफबी थानावालाले मुम्बईका दृश्य र लास लग्दै गरेकाहरुलाई क्यामेरामा कैद गरेर चलचित्रमा प्रस्तुत गरे ।

कलकत्ताका हिरा लाल सेनले रोयल बायोस्कोप अन्तर्गत ७ लोकप्रिय बंगाली नाटकका विभिन्न दृश्यहरुको छायांकन गरे । जेएफ मदन र उनकी एलफिन्स्टन बायोस्कोप कम्पनी (कलकत्ता) ले १९०५ मा नियमित फिल्म बनाउन सुरु गरे । सामान्यतः यी चलचित्रहरु थिएटरमा प्रदर्शन गरिन्थ्यो, तर कहिले–कहिले भने नाटक र जादु प्रस्तुतिपछि विशेष आइटमको रुपमा पनि प्रस्तुत गरिन्थे ।

प्रायः ठूला सहरहरुमा यी चलचित्रहरु थिएटरमा देखाउन सम्भव थियो । तर, साना सहरहरुमा भने कुनै बगैंचा वा मैदानमा टेन्ट लगाएर देखाइन्थ्यो । यो मोसन पिक्चर भारतमा चाँडै लोकप्रिय बन्यो । तर, उपमहाद्धिपमा चलचित्रलाई लोकप्रिय बनाउनेमा जेएफ मदनलाई महत्त्वपूर्ण श्रेय दिइन्छ, जसको पूरा नाम जमशेद जी फ्राम जी मदन थिए ।

सन् १९०२ मा जेएफ मदनले चलचित्र निर्माणका उपकरणहरु किने र कलकत्तामा भएको एउटा खाली मैदानमा आफ्नो बायोस्कोप देखाउने व्यवस्था मिलाए । त्यो चलचित्र निर्माण, वितरण र प्रदर्शनको एउटा महान सम्राज्यको सुरुआत थियो, जुन तीन दशकसम्म भारतमा मात्रै नभई बर्मा र सिलोनमा पनि फैलियो । त्यो तीन दशकको समयावधिमा उनी ३७ हलका मालिक बने ।

सोही दशकतिर अब्दुल अली युसुफ अलीले टेन्टमा चलचित्र देखाएर आफ्नो करिअरको सुरुआत गरेका थिए । सन् १९०१ देखि १९०७ सम्म उनले पूरै दक्षिण एसिया (सिंगापुर, सुमात्रा, जावा, बर्मा र सीलोन) मा आफ्नो बायोस्कोपको प्रदर्शन गरिरहे । सन् १९०८ देखि १९१४ सम्म उनले पूरा भारतमा बायोस्कोपको प्रदर्शन गरे ।

उक्त टेन्टहरुमा करिब हजार दर्शक अटाउँथे । अब्दुल अली युसुफ अली यी चलचित्रहरु लण्डनबाट मगाउँथे र एक शोमा ४० देखि ५० वटा चलचित्रहरु देखाउँथे । सोही क्रममा उनले महारानी भिक्टोरियाको अन्तिम संस्कार र लडाईंका दृश्यमा आधारित चलचित्र देखाए । यी चलचित्रहरु पनि निकै लोकप्रिय थिए ।

सन् १९१४ मा, अब्दुल अली युसुफ अलीले एकजना पार्टनरसँग मिलेर मुम्बईमा एलेक्जेन्ड्रा सिनेमा किने र सन् १९१८ मा म्याजिस्टिक सिनेमाको निर्माण गरे । जहाँ सन् १९३१मा उपमहाद्धिपको पहिलो पूर्ण फिल्म, ‘आलम आरा’ प्रदर्शन गरियो ।

यद्यपि, फिरोज रंगुनवालाका अनुसार कुनै एउटा मात्रै कहानीमा आधारित उपमहाद्धिपको पहिलो चलचित्र ‘पन्डालक’ थियो । यो चलचित्रको निर्माण आरजी तोर्ने र एनजी चतराले गरेका थिए र यो महाराष्ट्रको एउटा प्रसिद्ध वृद्धको जीवनमा आधारित थियो ।

यो चलचित्र सन् १९१२, मे १८ मा मुम्बईको कोरोनेशन सिनेमामा प्रदर्शित गरिएको थियो । यसलाई हेर्न विशेषगरि हिन्दुहरुलाई आमन्त्रित गरिएको थियो । केही चलचित्र इतिहासकारहरु ‘पन्डालक’लाई उपमहाद्धिपका पहिलो मौन फिल्म मान्छन् ।

त्यस्तै केही इतिहासकार भने यसको उपलब्धि ‘राजा हरिशचन्द्र’ लाई दिन्छन्, जुन पन्डालकको रिलिजभन्दा करिब एक वर्षपछि (१९१३ मे ३) मा रिलिज भएको थियो । र, यो चलचित्र प्रसिद्ध फिल्म निर्माता दादा साहब फाल्केले बनाएका थिए ।


Last Updated on: August 2nd, 2021 at 7:24 am
९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया