बिहिबार ०७ आश्विन २०७८

Kantipur News Nepal

हुम्ला, साउन २२ गते

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाका सातवटै गाउँपालिका खाद्यान्न बिक्रीको व्यवस्था गरेको छ । लिमिटेडको सिमकोटस्थित शाखाको गोदामबाट गाउँगाउँमा खाद्यान्न लैजान समस्या भएपछि सम्बन्धित गाउँपालिकामै बिक्रीको व्यवस्था गरिएको हो ।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले पालिका केन्द्र याल्वाङ र लिमीमा गरी दुईवटा बिक्री केन्द्र स्थापना गरिएको बताउनुभयो । बिक्री केन्द्रको स्थापनासँगै अब तीन दिन पैदल हिँडेर खाद्यान्न लिनुपर्ने बाध्यता हटेको छ । यसरी सिमकोटस्थित गोदामबाट लिइएको खाद्यान्नको ढुवानी स्वयं सेवाग्राहीले बेहोर्नुपर्ने हुन्थ्यो । सम्बन्धित गाउँपालिकामा डिपो तथा बिक्री केन्द्र स्थापनाले ढुवानीका लागि छुट्टै लागत सेवाग्राहीले बेहोर्नु नपर्ने भएको छ ।

लिमिटेडको शाखाका सूचना अधिकारी भरत अधिकारीका अनुसार जिल्लाका सातवटा गाउँपालिका गरी नौ स्थानबाट खाद्यान्न बिक्री वितरणको व्यवस्था गरिएको छ । उहाँले यसमा एउटा शाखा, दुईवटा डिपो र छवटा खाद्यान्न बिक्री केन्द्रको स्थापना गरिएको जानकारी दिनुभयो ।

सदरमुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने उत्तर र दक्षिणको गाउँपालिकाका जनतालाई सहज रूपमा खाद्यान्न बिक्री गर्न बिक्री स्थलको व्यवस्था गत आर्थिक वर्ष ०७७/७८ को असारबाट पूरा भएको बताउनुभयो ।

यसअघि लिमिटेडले सर्केगार्ड र अदानचुलीमा डिपो स्थापना गरेर खाद्यान्न वितरण गर्दै आएकामा हाल नाम्खा, खार्पुनाथ, चङ्खेली र ताँजाकोटमा बिक्री केन्द्र स्थापना गरेर खाद्यान्न बिक्री वितरण हुँदै आएको लिमिटेडले जनाएको छ ।

यी खाद्य डिपो तथा बिक्री केन्द्रका लागि काठमाडौँ, सुर्खेत, नेपालगञ्ज र धनगढीबाट खाद्यान्न ढुवानीको व्यवस्था हुने गरेको छ । हुम्लामा प्रतिकेजी ५८ देखि ८२ रुपियाँमा खाद्यान्न बिक्री हुने गरेको छ । यो खाद्यान्नका लागि सरकारले पैदल तथा हवाई मार्गबाट ढुवानीमा अनुदान दिने गरेको छ ।

सहकारीबाट बिक्री हुने

चालू आर्थिक वर्षबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न सहकारी संस्थाहरूले पनि बिक्री गर्न पाउने भएका छन् । डिपो तथा बिक्री केन्द्रबाट सेवाग्राहीलाई खाद्यान्न बिक्री गर्न एकदेखि तीन दिन पैदल हिँडेर आउनुपर्ने भएपछि वडावडामा स्थापना भएका सहकारी संस्थाबाट सो खाद्यान्न बिक्री गर्न लागिएको हो ।

लिमिटेडका प्रमुख निर्मल थापाका अनुसार जनतालाई सहज, सरल र खाद्य सुरक्षाको प्रत्याभूति दिनका लागि गाउँगाउँका सहकारीमार्फत ढुवानी अनुदानका खाद्यान्न बिक्री गर्ने व्यवस्था गर्न लागिएको हो ।

यसबाट सुपथ मूल्यमा सेवाग्राहीले खाद्यान्न खरिद गर्न पाउने विश्वास लिमिटेडले लिएको छ । गाउँमा रहेका सहकारीले लिमिटेडको बिक्री केन्द्रबाट १० किलोमिटर दूरीमा रहेका गाउँमा लिमिटेडकै बिक्री मूल्यमा खाद्यान्न बिक्री गर्नका लागि पसल सञ्चालन गर्नुपर्नेछ भने त्योभन्दा टाढाको दूरीमा रहेका सेवाग्राहीका लागि स्थानीय गाउँपालिकाको सिफारिसमा दूरी हेरी निर्धारण गरेको ढुवानी जोडेर खाद्यान्न बिक्री गर्नु पर्नेछ ।

यसरी खाद्यान्न बिक्री गर्ने सहकारीले पाँच हजार बिक्री मूल्यका खाद्य सामग्रीका लागि ५ प्रतिशत र त्योभन्दा माथिका सामग्रीका लागि ६ प्रतिशत कमिसन पाउनेछन् ।


Last Updated on: August 6th, 2021 at 8:38 am
८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया