बिहिबार ०७ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

तत्कालिन केपी शर्मा ओली सरकारको पालामा सर्वाधिक चर्चामा रहेको भ्रष्टाचार र अनियमितताको काण्डको छानबिन हुने भएको छ । महामारीकै समयमा अन्तन्त अपारदर्शी तरिका अपनाइएको स्वास्थ्य सामाग्री खरिद काण्डको छनबिन हुने भएपछि त्यससँग जोडिएका नेता तथा राजनीतिज्ञहरू तनावमा परेका छन् ।

ओम्नी इन्कर्पोरेट कम्पनीसँगको मिलेमतोमा भएको उक्त खरिद काण्ड गतसालको सर्वाधिक चर्चा र विवादको बिषय बनेको थियो । यो प्रकरणको फाइल पुन खुल्ने भएपछि यसमा जोडिएका तत्कालिन सिसिएमसी प्रमुख रहेका ईश्वर पोख्रेल, तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र स्वास्थ्य विभागका कतिपय पदाधिकारीहरु तनावमा परेका छन् ।

सार्वजनिक लेखा समितीले भ्रष्टाचार भएको निष्कर्ष निकालेको उक्त प्रकरणमा लागत अनुमान नगरी खरिद गरेको, सरकारी संयन्त्रलाई थाहै नदिई मन्त्रीका सल्लाहकारले शंकास्पद प्रक्रिया अगाडी बढाएको, टेन्डर स्थगित गरेर एकाएक खरिद गरिएको, खरिदसम्बन्धी स्वीकृति लिन मन्त्रालयले बनाएको प्रस्ताव मन्त्रिपरिषदमा पेश नगरिएको, सम्झौता रद्द भइसक्दा पनि क्षतिपूर्ति लिन पहल नगरेको र खरिद गरिएका सामग्रीहरू कमसल रहेको भन्दै समेत लेखा समितीले गरेको छानबिनबाट खुलेको थियो ।

सत्ता गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रममै सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्ने सार्वजनिक भएपछि यससँग जोडिएका व्यक्तिहरू तनावमा परेको बताइन्छ । तत्कालिन सरकारलाई छाल्बिं गर्न दवाव दिएपनि केपी शर्मा ओलीले ढाकछोप गरेको आरोप लागेको थियो ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतवार सार्वजनिक गरिएको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्ने उल्लेख गरिएको छ । सरकारले फाइल पुनः पल्टाउने निर्णय गरेसँगै खरिद प्रक्रियामा सामेल भएका पोखरेललगायत अन्य सरोकारवालाको टीममा ठूलै भूकम्प गएको छ ।

नेपालमा कोभिड १९ शुरू भएपछि तत्कालीन केपी शर्मा ओलीको सरकारले खरिद गरेको स्वास्थ्य सामग्रीमा चरम भ्रष्टाचार भएको आरोप लागेको छ । सरकारले त्यसैलाई लक्षित गर्दै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा देखिएको अनियमितताको छानबिन गर्ने भएको हो ।


Last Updated on: August 9th, 2021 at 10:35 am
२६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया