बिहिबार ०७ आश्विन २०७८

Kantipur News Nepalदमौली, साउन २५ गते

व्यास नगरपालिका १४ स्थित केशवटार माविका शिक्षकहरुलाई ल्यापटप प्रदान गरिएको छ । अनलाइन कक्षालाई प्रभावकारी बनाउन ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम अन्तर्गत सोमबार विद्यालयका १५ जना शिक्षकहरुलाई ल्यापटप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दूर्गाबहादुर आलेले बताउनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छ लाख ५० हजार रुपैयाँ व्यास नगरपालिकामार्फत् उपलब्ध गराइएको र विद्यालयको २० प्रतिशत रकम साझेदारीमा १५ वटा ल्यापटप खरिद गरी शिक्षकहरुलाई वितरण गरिएको वडा नम्बर १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले कोरोना भाईरसको जोखिम कायमै रहेको र लामो समयदेखि भौतिक रुपमा विद्यालय सन्चालन गर्न नसकिएको र अझै यस्तो जोखिम अवस्था अनिश्चित भएको कारण अनलाइन शिक्षालाई प्रभावकारी बनाउन ल्यापटप खरिद गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

विद्यालयमा यसअघि नै इन्टरनेट जडान गरिसकिएको हुँदा ल्यापटप पाउने शिक्षकहरुले अव विद्यालयमा उपस्थित भएर अनलाइन कक्षा सन्चालन गर्ने प्रअ आलेले बताउनुभयो । ल्यापटप पाउने शिक्षकलाई आज मंगलबार ल्यापटप चलाउने तरिका र अनलाइन पठनपाठन विधिबारे प्रशिक्षण दिइने भएको छ ।

विद्यालयमा कार्यरत २२ शिक्षक मध्ये पहिलो चरणमा १५ जनाले मात्र ल्यापटप पाएको र अन्य शिक्षकहरुलाई प्रविधिको बारेमा तालिम प्रदान गरेर क्रमशः ल्यापटप प्रदान गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

शिक्षकले ल्यापटप प्राप्त गरेपछि अव नविनतम प्रविधिमा आधारित अनलाइन शिक्षा प्रभावकारी हुने अपेक्षा गरिएको विद्यालयका प्रअ आलेले बताउनुभयो ।


Last Updated on: August 9th, 2021 at 7:44 pm
१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया