सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडौं

पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षका वरिष्ठ नेता राजेन्द्र महतोले आधिकारिक जसपा आफूहरु भएको दाबी गरे।

ठाकुर पक्षको बागमती प्रदेशले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा महतोले दुई चार जना लोभी पापीको साथ पाएर कसैले आफ्नो आधिकारिक पार्टी हो भन्दैमा केही नहुने बताएका हुन्।

‘केही सदस्य संख्या बढी देखाउँदैमा पार्टी हुँदैन, पार्टीका लागि कार्यकर्ता हुनुपर्छ, संगठन हुनुपर्छ जुन हामीसँग छ,’ उनले भने, ‘असली जसपा हामी हौं।’

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा चलिरहेको र अदालतले आफूहरूलाई न्याय दिने कुरामा विश्वस्त रहेको उनले बताए।

उपेन्द्र यादवले नेतृत्व गरेको जसपा सत्ता र भत्ताका लागि बनेको पार्टी रहेको बताउँदै उनले भने आफूहरुको जसपा पहिचान र अधिकारका लागि लड्ने पार्टी रहेको दाबी गरे।

देशको मुक्तिका लागि जसपा नेपालले संघर्ष गर्ने दाबी गर्दै उनले यसका लागि संगठनलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे।

देशमा जनतालाई जे चाहिएको छ, त्यो प्राप्त गर्न नसकिएको उल्लेख गर्दै उनले नेपाल सम्पूर्ण नेपालीको हुन नसकेको बताए। नेपाली जनताले बहुल राष्ट्रको कल्पना गरे पनि त्यो हुन नसकेको उनले बताए। महतोले बाइसी, चौबिसी राज्यहरू थियो तर भूगोलको एकीकरण भयो मनको एकीकरण नभएको गुनासो गरे।

‘नेपालीले नै नेपालमा आफ्नो पहिचान खोजिरहेका छन्,’ उनले भने, ‘नेपाल एकल जातीय राज्य रहेको छ, राज्य निर्माणको क्रममा छ र यसलाई चाँडै पूर्णता दिनुपर्छ।’

यो कार्य कम्युनिस्ट र काँग्रेसले गर्न नसकिने बताउँदै उनले ती दुवै दल नेपाल बनाउन असफल भइसकेका र त्यसको लागि जसपा नेपालले काम गर्न थालेको बताए।


Last Updated on: August 14th, 2021 at 5:30 pm
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया