मंगलबार ०५ आश्विन २०७८

मोहना अन्सारी भन्छिन्, ‘घटना बाहिर आउनु सकारात्मक’

Kanripur News Nepal

नेपाल प्रहरीको केन्द्रीय तथ्याङ्क हेर्ने हो भने अहिले पनि नेपालमा वार्षिक १४ हजारभन्दा बढी घरेलु हिंसाका घटनाहरू भइरहेका छन् । देशभर करिब १४ हजार घरेलु हिंसाका घटना हुँदा प्रदेश २ मा कहालीलाग्दो अवस्था छ ।

आर्थिक वर्ष २०७७–७८ मा देशभर कुल १४ हजार २३२ घरेलु हिंसाका घटना प्रहरीसमक्ष पुगेका छ । यीमध्ये झण्डै २५ प्रतिशत घरेलु हिंसाका घटना भने प्रदेश २ मा मात्रै भएका छन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर २ मा ३ हजार ५५६ वटा घरेलु हिंसाका घटना भएका छन् ।

घरेलु हिंसाको तथ्याङ्क हेर्दा प्रदेश नम्बर २ पछि काठमाडौँ उपत्यका सबैभन्दा बढी घरेलु हिंसा हुने क्षेत्र देखिएको छ । करिब ४५ लाख जनसङ्ख्याको बसोबास हुने काठमाडौँ उपत्यकामा गत आर्थिक वर्षमा २ हजार ७४५ वटा घरेलु हिंसाका उजुरी र घटना भएका छन् ।

घरेलु हिंसाको हिसाबले हेर्दा प्रदेश नम्बर १ मा १ हजार २८०, प्रदेश नम्बर २ मा ३ हजार ५५६, बागमती प्रदेशमा १ हजार १२६, गण्डकी प्रदेशमा १ हजार १९६, लुम्बिनी प्रदेशमा २ हजार ३१८, कर्णाली प्रदेशमा ८७२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १३९ वटा घटना भएका छन् ।

देशैभरका मानिसहरू आएर बसोबास गर्ने भएकाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लालाई छुट्याएर बागमती प्रदेशमा अन्य जिल्ला समेटेको प्रहरीले बताएको छ ।

​आदर्श समाजमा घरेलु हिंसा हुँदैन भन्ने मान्यता राखिन्छ । तर, शिक्षा, स्वास्थ्य, रोजगारी आदिका दृष्टिकोणले काठमाडौँ उपत्यका सबल भए पनि काठमाडौँ उपत्यकामा पनि घरेलु हिंसाका घटनाहरू वार्षिकरुपमा बढिरहेका छन् ।

घरेलु हिंसाका दृष्टिकोणले प्रदेश नम्बर २ अगाडि हुनुको कारण प्रदेश नम्बर २ मा चेतनाको स्तर कम हुने र अन्य सामाजिक तथा आर्थिक कारणहरू रहेको महिला अधिकार तथा मानव अधिकारकर्मी मोहना अन्सारीको भनाइ छ ।


अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर २ मा घरेलु हिंसाको घटना बढी भएको तथ्याङ्क देखिएपछि यसको कारण के हुनसक्छ भनी राष्ट्रिय मानव अधिकार आयोगको पूर्व सदस्य मोहना अन्सारीलाई सोधेका थियौँ ।

अन्सारीको भनाइको सार सङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।

मचाहिँ यसलाई सकारात्मकरुपमै लिन्छु

तपाईँले प्रदेश नम्बर २ मा घरेलु हिंसाका घटना बढी देखिएको तथ्याङ्कबारे जानकारी दिनुभयो । तर, मचाहिँ यसलाई सकारात्मकरुपमै लिन्छु । सकारात्मक रूपमा यस कारणले कि यस्ता घटनाबारे प्रहरीमा जानकारी र उजुरी आउन थाल्यो ।

जब प्रहरीमा सूचना र उजुरी आउन थाल्छन्, हिंसा न्यूनीकरणका लागि यसले सहयोग पुराउँछ । त्यस कारण यो सकारात्मक कुरा हो । मुख्य विषय के हो भने प्रहरीकोमा उजुरी आएपछि प्रहरीले सम्बोधन गर्‍यो कि गरेन वा कसरी सम्बोधन गर्‍यो भन्ने कुरा हो ।

प्रदेश नम्बर २ मा घरेलु हिंसाको घटना वृद्धि भयो भनेर भयभित हुनुपर्ने कारण छैन । जब घटना प्रहरीको जानकारीमा आउँछ, त्यसले समस्या समाधानका लागि पनि सहयोग पुराउँछ ।

घटनाबारे प्रहरीमा जानकारी आउनु भनेको त्यहाँ रहेका महिला र अन्य मानिसको चेतनामा वृद्धि हुनु पनि हो । त्यस क्षेत्रमा मिडियाहरू बढी फोकस भएछन् भन्ने पनि हो ।

प्रदेश नम्बर २ मा घरेलु हिंसाका घटना बढी हुनुमा मुख्य कारण भनेको गरिबी र चेतनाको स्तर पनि हो । प्रदेश नम्बर २ मा गरिबीको रेखामुनी रहेका जनसङ्ख्या धेरै छन् ।

जुन घरमा बिहान के खाने र बेलुका के खाने भन्ने चिन्ता हुन्छ, त्यहाँ घरेलु हिंसाको सम्भावना बढी हुन्छ । गरिबीले घरेलु हिंसालाई कुनै न कुनै प्रकारबाट सघाइरहेको हुन्छ ।

अर्को कुरा भनेको सामाजिक, आर्थिक क्षेत्रमा महिलाको अधिकार कति छ भन्ने कुराले पनि हिंसाको अवस्थालाई अध्ययन गर्न सकिन्छ

। जुन समाजमा महिलालाई सामाजिक, आर्थिक र राजनीतिक अधिकार बढी दिइएको हुन्छ, त्यहाँ घरेलु हिंसाका सम्भावना अन्यत्रभन्दा कम हुन्छन् ।

अर्को कुरा जुन स्थानमा मानिसहरूको ओहोर–दोहोर बढी हुन्छ, त्यस्ता स्थानमा घरेलु हिंसाका सम्भावना पनि बढी नै हुन्छन् ।

प्रदेश नम्बर २ मा धेरै सिमानाका पनि छन् र बजार पनि छन् । त्यस कारण ती क्षेत्रमा घरेलु हिंसाका सम्भावना केही बढी नै हुन्छ ।

घरेलु हिंसाको एउटा प्रमुख कारण मदिराको सेवन पनि हो । जुन क्षेत्रमा मदिराको सेवन बढी हुन्छ, त्यहाँ घरेलु हिंसाको घटना पनि बढी हुन्छन् ।

प्रदेश नम्बर २ मा मदिरा सेवनको समस्या पनि बढी नै छ । मदिरा सेवन गरिसकेपछि हुने घरेलु हिंसाका घटना प्रदेश नम्बर २ मा बढी भएको देखिन्छ ।

तर पनि यसको समग्र पक्ष भनेको गरिबी, अशिक्षा, चेतनाको स्तरमा कमी, महिलालाई कम अधिकार आदि नै हुन् ।


Last Updated on: August 16th, 2021 at 9:17 am
१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया