बिहिबार ०७ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

बुधबार निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका दुई वटै दलले चाहेको नाम नपाउने संकेत निर्वाचन आयोगले गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै निर्वाचन आयोगमा नयाँ दुईवटा दल दर्ताका लागि निवेदन परेको छ ।

माधव कुमार नेपाल अध्यक्ष हुनेगरी एमाले (समाजवादी) पार्टी र महन्थ ठाकुर अध्यक्ष हुनेगरी जसपा (लोकतान्त्रिक) दर्ताका लागि आयोगमा निवेदन दिइएको छ । यी दुई दल दर्ताको प्रक्रिया सुरु हुन केही समय लाग्ने भएको छ ।

राजनीतिक दलसम्बन्धि नियमावली संशोधन भएर राजपत्रमा प्रकाशित भएपछि मात्रै दल दर्ताको प्रक्रिया प्रारम्भ हुने बताउँछन् निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।

आयोगले नियमावलीको प्रक्रिया प्रारम्भ गरिसकेको र यथासक्य चाँडै नियमावली संशोधन गरेर राजपत्रमा प्रकाशित राजपत्रमा प्रकाशित गरेर दल दर्ताको प्रक्रिया प्रारम्भ गर्ने आयोग बताउँछ । यसको सामान्य प्रक्रिया भनेको आयोगले नियमावली संशोधनका लागि कानुन मन्त्रालयमा पठाउनुपर्ने हुन्छ ।

सरकारले अध्यादेश ल्याएपछि २० प्रतिशतले दल विभाजन गर्नसक्ने अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएका छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) र जसपाका नेता महन्थ ठाकुरले जनता, समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएका हुन् ।

तर आयोगमा दर्ताका लागि नेपाल र ठाकुरले दिएका नाम नै नाउने संकेत आयोगले गरेको छ । आयोग स्रोतका अनुसार यसअघि दर्ता भइसकेको पार्टीको नाम र चिह्नसँग मिल्दोजुल्दो नाम र चिह्न राख्न नमिल्ने भएकाले प्रस्तावित दुवै दलले मागेअनुसारको नाम पाउने सम्भावना नरहेको बताइएको छ ।

पछिल्लो सर्वोच्च अदालतको फैसला अनुसार पनि यी नामहरू दिन नमिल्ने नजिर छ । एमाले (समाजवादी) नेकपा एमाले र जसपा (लोकतान्त्रिक) जसपासँग मिल्दोजुल्दो छ ।

त्यसमाथि दल दर्ताका लागि केन्द्रीय कमिटीमा राखिएका सदस्यहरूको स्वीकृति भए नभएको कडाइका साथ हेर्ने आयोगले जनाएको छ ।


Last Updated on: August 19th, 2021 at 6:42 am
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया