सोमबार ०८ कार्तिक २०७८

ओलीको वा माधवको भरमा अबको कम्युनिस्ट आन्दोलन अघि बढ्न वा उठ्न गाह्रो


Kantipur News Nepal

काठमाडौं

ओली र नेपालबीच सुरुवाती सम्बन्ध

माधवकुमार नेपाल बिराटनगरको रानीस्थित एउटा बैंकमा लेखापाल हुनुहुन्थ्यो । वीरगञ्जमा कलेज पढ्दादेखि नै उहाँ वाम समर्थक हुनुहुँदोरहेछ । पछि बैंकको कर्मचारी हुँदा पनि उहाँमा अलिअलि राजनीतिक चासो भइरहेका कारण राजनीति वरिपरिका वाम समर्थकसँग उहाँको सम्पर्क रहेछ । त्यही क्रममा हामी झापालीहरुको सम्पर्क माधव नेपालजीसँग भयो ।


२०२९ सालतिर ओलीजी र माधवजीको पहिलो भेट भयो । त्यतिबेला माधवजी बैंकको कर्मचारी र ओलीजी कम्युनिस्टको भूमिगत कार्यकर्ता हुनुहुन्थ्यो । त्यही चिनजान बाक्लिँदै गएपछि ओलीजी झण्डै १५÷२० दिन माधवजीको घरमा भूमिगत पनि बस्नुभयो ।

त्यसपछि ओलीजी भारततिर जानुभयो । नैनीताल पुगेर नेपाल फर्किँदै गर्दा २०३० सालमा ओलीजी गिरफ्तार हुनुभयो । गिरफ्तार हुनुअघि ओलीजीलाई माधवजीले नै बसोबासको व्यवस्था मिलाउनुभएको थियो । रौतहटको गेष्ट हाउसबाट ओलीजी गिरफ्तार पर्नुभयो ।

यस हिसाबले पार्टीमा राजनीतिक रुपमा माधवजीको तुलनामा ओलीजी केहीअघि नै सक्रिय हुनुहुन्थ्यो । किनकि माधवजीसँग ओलीको पहिलो सम्पर्क हुँदा ओलीलाई झापामा रामनाथ दाहालसँगै वारेन्ट जारी भइसकेको थियो । रामनाथजी गिरफ्तार हुनुभयो भने ओलीजी भागेर बिराटनगर पुगेपछि माधवजीसँग पहिलो भेट भएको थियो ।

ओली गिरफ्तार हुनुअघि उहाँहरुबीच दोस्रो भेट भयो । ओली जेल परिसकेपछि पनि माधवकुमार नेपालले आफ्नो पहिचान लुकाएर ओलीजीसँग भेट गर्नुभएको थियो । त्यतिबेला माधवजी पनि पार्टीमा लागिसक्नुभएको थियो ।

ओली जेलबाट छुटिसकेपछि नै, मुख्यतः २०४५ सालपछि उहाँहरुबीचको सम्बन्ध थप निकट भएको हो ।

ओली र नेपालबीच सहकार्य

पार्टीगत राजनीतिमा ओली र नेपालबीच सुरुआती दिनमा राम्रै सम्बन्ध थियो । एकले अर्कोलाई सघाउँदै जानेखालको सम्बन्ध देखिन्थ्यो । महाकाली सन्धि पास गर्नेबेलामा भने माधवजी र ओलीजीको राजनीतिकरुपमा ठ्याक्कै घाँटी जोडियो । उहाँहरु दुवैजना लागेर महाकाली सन्धि पारित गराउनुभयो ।

त्यतिबेला एमालेको समर्थनबिना महाकाली सन्धि पारित हुन सक्ने अवस्था थिएन । शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई महाकाली सन्धि पारित गर्न संसदमा दुईतिहाई बहुमत चाहिन्थ्यो । त्यसैले सन्धि पारित गर्न एमालेको सहयोग अपरिहार्य थियो । माधवजी एक्लैले पार्टीमा महाकाली सन्धिको समर्थन गराउन सक्ने अवस्था नभएपछि ओलीजीको साथ लिनुभयो ।

माधवजी र ओलीजी मिलेर पार्टीको तत्कालीन केन्द्रीय समितिमा एक भोटले गर्दा सन्धि पारित गर्नुपर्ने पक्षमा निर्णय गराउन सफल हुनुभयो । त्यतिबेला केन्द्रीय समितिका ३३ सदस्यमध्ये सन्धि पारित गर्नुपर्छ भन्ने पक्षमा उहाँहरुले १७ मत ल्याउनुभयो । १६ जना केन्द्रीय सदस्य भने महाकाली सन्धि पारित गर्नु हुँदैन भन्ने पक्षमा उभिए । त्यसपछि उहाँहरुबीचको दोस्ती थप प्रगाढ भयो । मूलतः महाकाली सन्धि पारित गरेपछि नै ओलीजीको राजनीतिक गतिविधि पनि माथि उठेर आयो ।

आर्थिक रुपमा पनि ओलीजीको अवस्था महाकाली सन्धिपछि माथि उठेको हो । त्यसअघि उहाँ सार्वजनिक बसमा हिँड्नुहुन्थ्यो भने त्यसपछि प्लेन चढ्ने हैसियतमा पुग्नुभयो ।

पार्टीभित्र आफूहरुसँग असहमत हुने पक्षलाई लखेट्न माधवजी र ओलीजी बराबर हुनुहुन्थ्यो । महाकाली सन्धिपछि दुबै मिलेर नै महाकाली सन्धिको विपक्षमा रहेका हामी (माले पक्षधर) लाई लखेट्ने काम भयो ।

पहिला पनि सीपी मैनालीलाई लखेट्ने बेलामा माधवजी र झलनाथजी एकै ठाउँमा हुनुहुन्थ्यो, महाकाली सन्धिपछि फरक मत राख्नेहरुलाई लखेट्ने सवालमा ओलीजी र माधवजीको गठजोड भयो ।

मनमोहनजीहरुको कुरा बाहिरी देखाउनेमात्र हुन्थ्यो भने ओलीजी र माधवजीकै कारण त्योबेला एमाले विभाजन भएको थियो । त्योबेला पनि अहिलेको जस्तै अवस्था थियो । अहिले जसरी ओलीजीले माधव नेपाल पक्षमाथि दमन गरिरहनुभएको छ, त्योबेलामा महाकाली सन्धिको विपक्षमा रहेका हामीमाथि पार्टीभित्र यस्तै दमन थियो । त्यसपछि बाध्य भएर हामीले नेकपा (माले) बनाएका थियौं ।

अहिले पनि माधवजीले आफूखुशी अर्को पार्टी बनाउन गइरहेका होइनन्, बाध्यताले हो । हामीले पनि त्योबेला यस्तै बाध्यताका कारण अर्को दल बनाउनुपरेको थियो । त्यो बेलासम्म ओलीजी र माधवजीको नङ–मासुजस्तै सम्बन्ध थियो ।

ओली र नेपालबीचको सम्बन्धमा दरार

ओली र नेपालबीचको सम्बन्धमा दरार आएको सातौं महाधिवेशनपछि हो । त्यतिबेला ओलीजीमा पार्टीको महासचिव हुने महत्वाकांक्षा जागिसकेको थियो । त्यसपछि दुई नेताबीच खटपट सुरु भयो ।



माधवजी आफैं पार्टीको नेतृत्वमा रहेर चुनाव हारेर पनि प्रधानमन्त्री हुनुभयो । ओलीजीलाई पनि आफू पार्टीको अध्यक्ष बन्ने र प्रधानमन्त्री हुने महत्वाकांक्षा जाग्यो । पार्टी र सरकारको सत्तामा जाने सन्दर्भमा नै दुई नेताबीच द्वन्द्व चर्किन थालेको हो । यो द्वन्द्वको भित्री कारण भनेकै माधवलाई उछिनेर ओलीजी माथि जान खोज्नु नै हो ।

माधवजीले आफू नै पार्टीको अध्यक्ष हुने, आफैं प्रधानमन्त्री हुने मनसाय राखे भने ओलीजीले माधवजीलाई कसरी पन्छाएर आफू अगाडि जाने भन्नेमा ध्यान केन्द्रित गरे । अन्ततः थोरै मतले माधवजीलाई पराजित गर्दै ओली अध्यक्ष भएरै छाडेपछि माधवजीलाई लखेट्ने काम सुरु भयो ।

थोरै मतले हारेको, आफूभन्दा पहिला नै पार्टीको नेतृत्व सम्हालेको सिनियर नेतालाई कसरी समेटेर लैजाने भन्दा पनि बहुमत भइसकेपछि अल्पमतलाई लखेट्ने प्रचलनमा ओलीजीले बढी जोड दिनुभयो । पहिला जसरी ओलीजी र माधवजी मिलेर हामीलाई दमन गरिएको थियो, पछि ओलीले पार्टीको नेतृत्व सम्हालेपछि माधवजीमाथि पनि त्यही नीति अवलम्बन गर्नुभयो । त्यसपछि यो विवाद थप चर्को भयो ।

एक–अर्काको नेतृत्वमा निर्वाह गरेका भूमिका

माधवजीले पार्टीको नेतृत्व गर्दा सुरु–सुरुमा ओलीजीप्रति नराम्रो व्यवहार गरेको देखिन्न । आपसी सम्बन्धमा कुनै प्रकारको तुष वा पूर्वाग्रह पनि देखिन्न । ओलीजी पार्टी अध्यक्ष भइसकेपछि भने माधवजीलाई टिक्ने ठाउँ नै दिनुभएन ।

त्यहीबीचमा झलनाथजी प्रधानमन्त्री हुनुभयो । झलनाथजीलाई टिक्नै नदिने अभियानमा ओलीजी लाग्नुभयो । माधवजी प्रधानमन्त्री हुँदा माधवजीलाई लखेट्न पनि ओली नै अघि सरेको देखिन्छ ।

आफ्नै पार्टीका नेता प्रधानमन्त्री हुँदा ओलीजीले न माधवजीलाई सघाएको देखिन्छ, न झलनाथलाई । ओलीजी प्रधानमन्त्री भइसकेपछि स्वाभाविकरुपमा उहाँहरु (माधव–झलनाथ) ले पनि असहयोगी भूमिका निर्वाह गर्नुभयो ।

ओलीले आफ्नो गुट नछाड्ने । गुटको राजनीतिकै परिणामस्वरुप पार्टीका संस्थापक महासचिव सीपीलाई महासचिव पदबाट हटाउने, पोलिटब्यूरोबाट हटाउने, केन्द्रीय समितिबाट हटाउने काम माधवजी र झलनाथजीहरु मिलेर गर्नुभयो । महाकाली सन्धिपछि ओलीजी र माधवजीले हामीलाई हटाउन त्यसैगरी गुटको नेतृत्व गर्नुभयो । त्यही क्रमलाई ओलीजीले आफू अध्यक्ष भएपछि पनि निरन्तरता दिनुभयो र माधवजीलाई खेदो गर्न थाल्नुभयो ।

बहुमत भएको पक्षले फरक मत राख्ने पक्षलाई दमन गर्ने संस्कार पार्टीमा पहिलादेखि नै थियो । माधवजीका पालामा पनि त्यो कायम रह्यो । तर, ओलीजीले त्यो संस्कारलाई अझ बढाएर उत्कर्षमा पु¥याउनुभयो ।

एमाले विवादको मुख्य जड

माधवजी पार्टीमा सिस्टम हुनुपर्छ, विधि र पद्धतिअनुसार चल्नुपर्छ भन्नेखालको मान्छे । पार्टीमा कसरी हैकम लाद्ने भन्ने ओलीजीको सोच । यसमा सैद्धान्तिक वादविवादभन्दा पनि आफू कसरी पावरमा जाने वा कसरी पावरमा टिकिरहने भन्ने नै विवादको मुख्य जड हो ।

कम्युनिस्ट आन्दोलनमा मनमोहनजीबाहेक जति पनि वामपन्थी प्रधानमन्त्री भए, कसैले पनि स्मरणीय काम गरेका छैनन् । चाहे माधव हुन्, चाहे झलनाथ, ओली र प्रचण्डकै कुरा गर्नुस् । झण्डै दुई तिहाई बहुमत हुँदा पनि ओलीजीले न पार्टी जोगाउन सक्नुभयो, न जनतामा लामो समय स्मरण रहिरहने काम गर्न सक्नुभयो । अन्ततः विश्वासको मत लिनसमेत असफल हुनुभयो ।

बरु मनमोहनजीले ९ महिनामा ‘आफ्नो गाउँ आफै बनाउँ’ र वृद्ध भत्ताजस्ता कुरा ल्याएर सबै पार्टीलाई सर्वमान्य हुने नारा दिनुभयो । उहाँ अहिले पनि धेरैको सम्झनामा प्रिय हुनुहुन्छ । उहाँको जत्तिको प्रभाव अरु कुनै वामपन्थी प्रधानमन्त्रीले जनतामा छाड्न सकेनन् । आफू सत्तामा बसेको दिन गन्ती गरेर फर्केकामात्र छन् अरु सबैजना । आफू केही गर्न नसक्ने अनि ‘म त्यहाँ टिकिरहनुपर्थ्यो’ भन्ने गरेका छन् । तर, मनमोहनजीले ९ महिना टिक्दा पनि त्यति दुरदर्शी र दीर्घजीवी काम गरेर देखाउनुभयो ।

अहिले त कम्युनिस्ट आन्दोलनको ७० वर्ष लामो संघर्षको उपलब्धि नै धरापमा पर्दैछ । अहिले मुख्यगरी, ओली पनि सत्ता नछोड्ने, माधव पनि सत्ता नछोड्ने भनेरै लडाइँ भएको हो ।

ओलीलाई लागेको छ– सबैभन्दा राम्रो काम मैले गरेको छु । अर्कोतिर माधवजीलाई पनि सबैभन्दा राम्रो काम मैले पो गरेको छु भन्ने लागेको छ । तर, आम मान्छे र आम कार्यकर्ताको धारणा भन्ने हो भने यिनीहरु परीक्षण भइसकेका नेता हुन् । ओली, माधव, झलनाथ, बामदेव लगायतबाट अब नेकपा एमालेमा नयाँपन आउँदैन । यिनीहरुले पार्टीलाई गति दिन पनि सक्दैनन्, अरुलाई ठाउँ पनि छोड्दैनन् ।

दोस्रो तहका नेता माथि उठेर पार्टीमा नयाँ संस्कार र पहिचान सुरु गर्न सकेनन् भने कम्युनिस्ट आन्दोलन सकिन्छ । ओलीको भरमा वा माधवको भरमा अबको कम्युनिस्ट आन्दोलन अघि बढ्न वा माथि उठ्न गाह्रो छ ।

माधव र ओलीमा को बढी दोषी ?

पार्टी विभाजनको अवस्थामा पुग्नुमा कसको बढी दोष भनेर एक शब्दमा भन्ने हो भने ओलीजी नै हो । दोष माधवजी, झलनाथजीको पनि होला, प्रचण्डजीको पनि होला । तर, ती सबैको तुलनामा मुख्य जिम्मेवारी जसको हो, त्यसको नै बढी दोष हुन्छ ।

ओलीजीले न संसदको दुईतिहाई टिकाउन सक्नुभयो, न पार्टी एकता टिकाउन सक्नुभयो, न सरकार टिकाउन सक्नुभयो । यी सबै कुरामा उहाँको अहम् नै सबैभन्दा ठूलो कारक हो । दोषी अरु पनि रहे पनि पार्टी यो अवस्थामा आइपुग्नुको मूल दोषी ओलीजी नै हो । किनकि नेतृत्वमा रहेका कारण उहाँले परिस्थितिलाई सम्हाल्न सक्नु पर्दथ्यो । तर, सम्हाल्न सक्नुभएन । सम्हाल्न नसक्नुमा उहाँमा रहेको संकीर्ण चिन्तन, महत्त्वाकांक्षा नै हो । उहाँको टीममा अहिले पनि उहाँले बोलेपछि त्यही निर्णय मानिन्छ ।

नेपालको कम्युनिस्ट आन्दोलन अहिलेसम्म करिब–करिब ध्रुवीकरण भएरै अगाडि आएको छ । नेताले राखेको कुरामा छलफल, विवेचना हुँदै निर्णय गर्ने परिपाटीमा ओलीजीले त ‘ओली बा’ भन्नेको टीम बनाएर आफूले जे बोल्यो, त्यसमै सबैले ताली पिट्नुपर्ने अवस्था बनाउनुभएको छ । जसले आफ्नो कुराको समर्थन गर्दैन, उसलाई सिध्याउन लाग्नुभएको छ । उहाँको एकसूत्रीय माग भनेकै माधव र प्रचण्डलाई कसरी सिध्याउने भन्ने रह्यो । त्यही अभियानमा लाग्दा यो अवस्था आयो ।

माधवजीले सीपीलाई, हामीलाई पार्टीबाट हटाउँदा त्यो पार्टीलाई जति क्षति भयो, अहिले त त्योभन्दा बढी क्षति हुने म देख्दैछु । ओलीजीले आफ्नो महत्त्वाकांक्षाका कारण पार्टीलाई नै संकटमा पार्ने, आन्दोलनलाई नै संकटमा पार्ने काम गरेका कारण अहिलेको अवस्थाको मुख्य जिम्मेवार ओलीजी नै हो ।

एमालेको ‘लिगेसी’ कुन धारमा ?

पार्टी विभाजन भएको अवस्थामा अब दुवै पक्षलाई ठूलो क्षति हुन्छ । दुई÷चार दिन गतिविधि बढ्ला, आरोप–प्रत्यारोप होला । तर, कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति हुनेछ ।

पार्टी विभाजन हुनेबेलामा ओलीको पक्षमा वा माधवको पक्षमा जति कार्यकर्ता देखिन्छन्, विस्तारै ती कार्यकर्तामा निराशा आउँछ । जस्तो कि– हिजो बामदेव, सीपीहरु एमालेबाट बाहिरिनु परेपछि नेकपा माले बनाउँदा ठूलो समूह निराश भएर माओवादीमा लागेको थियो । अहिले त त्यसरी लाग्ने विकल्प पनि छैन । अहिले निराश भएर मोहन वैद्य वा नेत्रविक्रम चन्दको पार्टीमा लाग्ने अवस्था पनि छैन । त्यसैले निराश हुने ठूलो समूह अब गैरराजनीतिक क्षेत्रमा रहन सक्छ ।

विभाजनपछि कोसँग ‘लिगेसी’ छ भन्दा पनि समग्रमा त्यसको असर भयङ्कर हुने खतरा बढ्छ । यो कुरालाई बुझेर ओली र माधवजीले आफू राजनीतिबाट पछि हट्ने र नयाँ लिडरशीप ल्याउन पहल गरे भने कम्युनिस्ट आन्दोलनले केही सास फेर्ला । होइन भने कसले जित्छ भन्नुभन्दा पनि कसले कति हार्छ भन्ने मुख्य कुरा हुनेछ ।

झट्ट हेर्दा त ओलीजी बहुमतमा रहेका कारण ओलीजीसँगै पार्टीको लिगेसी रहला भन्न सकिने भयो । तर, भोलिका दिनमा त्यसले पार्टीमा निराशा बढ्छ । निराश भएका कार्यकर्ताहरु माधवजीतिर आएर त्यो पार्टीमा आकर्षण बढ्ने पनि म देख्दिनँ ।

यो अवस्थामा सकेसम्म दुवै पक्षको सहमतिमा नयाँ नेतृत्व ल्याउने, त्यो सम्भव नभई अलग–अलग भएरै जाने हो भने पनि दुवैले नयाँ नेता ल्याउन सकेमा अलिअलि जागरण आउन सक्छ । ओलीसँग अहिले बहुमत रहे पनि भोलि उनले पनि हार्नैपर्छ । समग्रमा कम्युनिस्ट आन्दोलनले नै हार्छ । त्यसमा आफूलाई कम्युनिस्ट भन्नेहरु कसैको जित हुनेछैन । ​


Last Updated on: August 19th, 2021 at 7:17 am
३५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया