बिहिबार ०७ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटामाथि रोष प्रकट गरेका छन् ।

एमालेले १४ सांसदलाई पदमुक्त गर्न पत्र लेखेको तीन दिन हुँदा पनि केही नगरेको भन्दै उनले आक्रोश पोखेका हुन् ।

सापकोटाले त्यही पदमा रहिरहने कि पार्टीको कार्यकर्ता हुने भन्ने रोज्नुपर्ने बताउँदै उनले भने, हिजो टोपबहादुर रायमाझीहरूलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल संसदमा सुनाउनुभएको थियो । अहिले तीन दिनदेखि के हेरेर बसिरहनुभएको छ ? एमालेले आफ्ना सांसदहरू हटाएको सूचना किन टाँस्नुहुन्न ?’

उनले सभामुख न्यायाधीश नभएकोले खुरुक्क सूचना टाँसिदिनुपर्ने बताए ।

पहिले–पहिले २४ घण्टाभित्र सूचना टाँस गरिसक्ने नजिर भएको दाबी गर्दै ओलीले भनेका छन्, ‘अहिले चाहिँ कागजपत्र झिकाउँछु, हेर्छु भन्ने ? सभामुख न्यायाधीश होइन । सभामुखले छानबिन गर्ने, फैसला गर्ने होइन ।’

अन्तर्वार्तामा ओलीले आक्रोश पोखेका छन्, ‘सभामुखले माओवादी कार्यकर्ता भएर एमालेको विरुद्ध काम गर्ने हो ? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो सभामुख ?

उहाँ केलाई पर्खिरहनुभएको छ । अग्नि सापकोटाजीलाई सोध्न चाहन्छु – संसद चलाउनु छ कि छैन उहाँलाई ? मनमौजी ढंगले संसद चल्न सक्दैन । उहाँलाई सभामुख हुनु छ कि छैन ?

पार्टी कार्यकर्ता भएर सभामुख भइरहन सकिँदैन । सभामुखको कुर्सीमा बसेपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ । होइन भने उहाँले छोड्दिएहुन्छ ।’

सभामुखले निष्पक्ष भूमिका निर्वाह नगर्ने भए पार्टी कार्यकर्तामा फर्किने वा सभामुखको भूमिकामा काम गर्ने कुनै एक रोज्नुपर्ने ओलीले बताए ।

‘उहाँले रोज्नुपर्छ या त कार्यकर्तामा फर्किनुपर्छ होइन भने सभामुखको हैसियतमा निष्पक्ष ढंगले काम गर्नुपर्छ,’ उनले भने ।

माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न चेतावनी दिए । एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?’


Last Updated on: August 19th, 2021 at 9:01 pm
१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया