आइतबार ०७ कार्तिक २०७८

Kantipur News Nepal

काठमाण्डौ

नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली नेतृत्वको एमालेमा सँगै जान नसकिने बताएका छन् ।

बिहीवार आफूनिकट नेता कार्यकर्तालाई आफ्नै निवासमा बोलाएर जेठ २ गते अघिको एमालेको संरचनामा आफू सँगै हिंड्न नसकेको बताएका हुन् ।

बादलनिकट एक नेताले सूत्रन्यूजसँग भने – ‘हामी एमाले होइनौं, त्यतिबेलाको नेकपा हौ र हामी त्यही अनुसार अघि बढ्छौं भनेर कमरेड बादलले भन्नुभएको छ । जेठ २ गते एमालेलाई फर्काउनु सही होइन । हामी नेकपाकालीन संरचनामार्फत अघि बढ्न खोजेका थियौं ।’

केही दिनअघि बादलले आफू एमालेमा नरहने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको समाचार बाहिरिएको थियो । तर बादलले आफै प्रचण्डलाई भेटे या कसैमार्फत भेटे भन्ने स्वतन्त्र पुष्टि भएको छैन ।

प्रचण्डको सचिवालयले बादल र प्रचण्डबीच कुराकानी भइरहेको जानकारी दिएको छ ।

एमालेको बैठकमा बादललाई फलामे कुर्चीमा सारिएको विषयले पनि त्यत्तिकै चर्चा पाइरहेको छ ।

बादलमात्र नभएर मणि थापा, लेखराज भट्ट र प्रभु शाह पनि माओवादी केन्द्रमै जोडिने चर्चा यसअघि नै चलेको थियो ।


Last Updated on: August 27th, 2021 at 8:45 am
२६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया