मंगलबार ०५ आश्विन २०७८

Kantipur News Nepal

काठमाडौं

नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीका इन्चार्ज नारायणकाजी श्रेष्ठले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पास हुन नसक्ने स्पष्ट पारेका छन् । बुधबार पार्टीको प्रवास कमिटीको भर्चुअल माध्यमबाट भएको पदभार हस्तान्तरण तथा नयाँ नेतृत्वलाई स्वागत कार्यक्रममा बोल्दै इन्चार्ज श्रेष्ठले यथास्थितिमा एमससीसी पास हुन नसक्ने स्पष्ट पारेका हुन् ।

देशको सार्वभौमिकतालाई दाउमा राखेर माओवादी केन्द्रले कुनै पनि सन्धि सम्झौता नगर्ने उनको भनाइ थियो । यस्तै इन्चार्ज श्रेष्ठले पाँच दलीय सत्ता गठबन्धनलाई तोड्न विभिन्न षड्यन्त्र भइरहेको बताउँदै त्यसप्रति सचेत रहन पनि नेता कार्यकर्तालाई आह्वान गरे ।

माओवादी केन्द्रले नै नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरण र ध्रुवीकरण गर्ने बताउँदै श्रेष्ठले प्रवासमा रहेका लाखौँ नेपालीहरुलाई गोलबन्द गरेर नेपालमा पार्टी र संगठन विस्तार गर्न सकिने धारणा राखे । जहाँ रहेपनि नेपालको परिवर्तन र पार्टीको पक्षमा महत्वपूर्ण भूमिका खेल्न पनि उनको आग्रह थियो ।

सो क्रममा समन्वय कमिटीका पदाधिकारीहरुले अहिलेको समसामयिक विषयवस्तुबारे आफ्ना धारणा राखेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष युवराज चौलागाईंलाई प्रवास कमिटीको नेतृत्वमा रहेर महत्वपूर्ण काम गरेकामा इन्चार्ज श्रेष्ठ, अध्यक्ष ओम शर्मा र सचिव टीबी पाठकले धन्यवाद दिएका थिए ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै चौलागाईंले प्रवास कमिटीलाई आफ्नो आगामी दिनमा पनि साथ र सहयोग निरन्तर रहने बताए ।

यस्तै नवनियुक्त अध्यक्ष ओम शर्माले प्रवासमा पार्टीको कामलाई सशक्त बनाउने र सबैलाई संगठनमा जोड्ने गरी कार्ययोजना ल्याउने बताए ।

सो क्रममा चौलागाईंले अध्यक्ष शर्मालाई प्रवास समन्वय कमिटीको माइन्युट, संगठनका विवरणलगायतका डकुमेन्ट हस्तान्तरण गरेका थिए ।


Last Updated on: September 9th, 2021 at 6:42 pm
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया