सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

वीरगन्जस्थित सर्वोत्तम स्टिल्स लिमिटेडमा उम्लिदै गरेको फलामको विष्फोटमा परी घाइते भएकामध्ये ५ मजदुरको भारतमा उपचारको क्रममा मृत्यु भएको छ। गत भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए। तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएपनि उद्योगका संचालक राजेश अग्रवालले उनीहरु उपचाररत रहेको भन्दै घटना लुकाउन प्रयास गरेको खुलेको छ।

चलिरहेको उद्योगमा आचानक फलाम भट्टीमा विष्फोट हुन पुगेको थियो। त्यहाँ रहेका १४ जना भारतीय र एक जना नेपालका स्थानीय मजदुरसहित कुल १६ जना घाइते भए। घट्नापछि घट्नास्थलमा उद्योग प्रशासनले संचारकर्मी समेतलाई प्रवेश गर्न दिएनन्। ‘स्थानीय मानिसहरु उद्योगमा क्षति पुर्‍याउने उद्देश्यले त्यहाँ गेट बाहिर भेला भएको हामीलाई जानकारी थियो, त्यस कारणले कसैलाई पस्न दिइएन, सांरकर्मीहरु पनि भित्र जान सक्नुभएन,’ अग्रवालले नागरिकलाई भने, ‘हामीले घाइतेहरुको उपचारलाई प्राथमिक्तामा राख्यौं, तत्कालै बयोधा अस्पताल पठाइयो, त्यसपछि गम्भीर घाइते रहेका ६ जनालाई पटनाको अपोलो भनिने महँगो अस्पतालमा पठायौं। नेपालमा उपचार गराई रहेका सबैजना घर फर्किसके, उता पटनामा ६ जना उपचाररत रहेका छन्।’

उनले उपचार भइरहेको भनेका मजदुरमध्ये वास्तवमा ५ जनाको मृत्यु भइसकेको रहेछ। जिल्ला प्रहरी कार्यालय पर्साले यसको पुष्टि गरेको छ। गम्भीर रुपमा घाइते ६ जनालाई भदौ १० गते रातारात पटना पठाएको थियो। त्यसमध्ये ५ मजदुरको मृत्यु भएको जानकारी पर्सा प्रहरीले गत बिहीबार मात्र प्राप्त गरेको थियो।

मृत्यु हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामपुकार यादव रहेका छन्। त्यहाँ अस्पतालमा भर्ना रहेका ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी पाइएको पर्साका प्रहरी नायब उपरीक्षक प्रहलाद कार्कीले जनाए। स्थानीय मानिसहरु र केही संचारमाध्यमले तथ्यलाई बँग्याएको र घट्नालाई बढाईचढाई पस्केको अग्रवालले दावी गरेको भोलिपल्ट नै उनले मजदुर मृत्युको खबर लुकाएको बाहरिएको हो।

के भएको थियो ?

वास्तवमा के भएको थियो भन्ने यकिन जानकारी प्रहरी वा स्थानीय प्रशासनसँग पनि छैन। त्यहाँ काम गर्ने मजदुरहरुले भने केही तथ्यहरु भने आवश्य नै खोलेका छन्। कच्चा पदार्थको एउटा घटकको रुपमा बजारबाट संकलन गरिएका पुराना कबाडी फलाम (स्क्रेप) खरिद गरेर बिलेट र डण्डी उत्पादन गर्न प्रयोगमा उद्योगले ल्याउने गरेको छ। मजदुरहरुका अनुसार त्यो दिन पनि नियमितजस्तै भट्टीमा पुराना फलामहरु हालिएको थियो। त्यसैमा रहेको पुरानो ग्यासको सिलिण्डर पड्किएर भट्टी विस्फोट भयो। त्यसै विस्फोटबाट छरिएको उम्लिदै गरेको फलामको चपेटमा आफूहरु परेको घाइतेले बताएका थिए।

सिलिण्डर पड्केको तथ्यलाई उद्योगले खारेज गर्दै आएको छ। ‘केही पड्किएको होइन, यस्ता उद्योग जहाँ पनि हुन्छन्, त्यसमा भट्टिमा ‘पन्चर’ (प्वाल) हुने समस्या भइरहन्छ किन कि एक हजार ७ सय डिग्री तापमा उम्लिरहेको तरल फलाम त्यसमा रहेको हुन्छ,’ उद्योगका संचालक अग्रवालले भने, ‘त्यो दिन पनि त्यँही भएको हो, भट्टिमा ‘पन्चर’ भयो, र त्यस ठाउँमा मानिस नहुनु पर्ने हो। कारखाना संचालनको लागि ठेक्कामा लिएको भारतीय कम्पनी साई सर्विसेजका मानिसहरु रेखदेखको क्रममा त्यहाँ थिए र उनीहरु चपेटामा परे।’

उनका अनुसार ९ जना उपर तरल फलामको छिटाहरु परेर घाइते भएका थिए भने ६ जना भागाभागमा चोटपटक लागेको थियो। पोलेर घाइते भएकामध्ये ६ जनालाई पटना पठाइएको र उनीहरु सबै जनाको उपचार भइहरेको उनले दावी गरेका थिए। घट्ना बिहान करिब ११ बजेतिर भएको थियो। त्यसको १ घण्टासम्म प्रहरीलाई उद्योगबाट खबर गरिएको थिएन। घट्ना ढाकछोप गर्नैका लागि गम्भीर घाइतेहरुलाई व्यवस्थापनले रातारात भारततिर लगेको स्थानीयको भनाई छ भने उद्योग संचालकले राम्रो उपचारको उद्देश्यले मजदुरलाई पटना लगिएको जनाएको छ।

राष्ट्रिय ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति प्रभावशून्य

राष्ट्रिय ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति २०७६ ले काम गर्ने थलो सुरक्षित हुनुपर्ने ध्येय राख्दै राष्ट्रिय स्तरमैं यसको लागि संयन्त्रसहितको ब्यवस्था गरेको छ। प्रदेश सरकार र स्थानीय सरकारले पनि आफू मातहत ब्यवसायजन्य सुरक्षा र स्वास्थ्यका लागि संयन्त्र गर्ने नीतिभित्र दफा १४ मा कल्पना गरिएको छ। दफा १ मा ‘नेपालको संविधानमा उल्लेखित नागरिकका मौलिक हक र राज्यको निर्देशक सिद्धान्त तथा नीति अनुरुप सबै प्रकारका ब्यवसायमा संलग्न ब्यक्तिको सुरक्षा, स्वास्थ्य र कार्य वातावरणको समुचित प्रबन्ध’ गर्न नीति तर्जुमा गरिएको भनिएको छ।

जसअनुरुप नेपाल सरहदभित्र काम गर्ने ‘ब्यक्ति’को ब्यवसायजन्य सुरक्षा र स्वास्थ्यको लागि समुचित ब्यवस्था हुनु पर्ने हो। ताजा घट्ना सरकारस्तरबाट राष्ट्रिय ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति अनुरुप कुनै खोजबिन वा चाँसो लिने काम भएको छैन।

नीतिको दफा १४ को ब्यवस्था अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको अध्यक्षतामा सोही मन्त्रीका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिव, राष्ट्रिय योजना आयोगको सचिव, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव, वन तथा वातावरण मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, रोजगादाता, ट्रेड युनियन लगायतको सहभागितामा अनुगमन तथा मूल्यांकन समितिको ब्यवस्था गरिएको छ। ‘त्यसको कुनै समिति अनुगमनमा आएको वा प्रहरीसंग घट्नाबारे जानकारी लिन चाहेको’ भन्ने आफूलाई थाहा नभएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।


Last Updated on: September 11th, 2021 at 9:49 pm
१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया