बुधबार ०६ आश्विन २०७८

Kantipur News Nepal

बुटवल

रुपन्देही तिलोत्तमा नगरपालिका-५ कि २७ वर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घरमा रहस्यमय मृत्यु भएको आज १० दिन पुगेको छ । तर, घटनाबारे सत्य तथ्य जानकारी बाहिर आएको छैन । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको भनिरहेको छ ।

भदौ २० गते मृत अवस्थामा ओछ्यानमा भेटिएकी सीताको मुखबाट रगत, शरीरमा निलडाम थिए । भदौ ६ गते तीजसमेत मनाएर फर्किने गरी श्रीमानसँगै माइती गएकी थिइन् सीता ।

ससुरालीबाट फर्केका श्रीमानले भदौ १९ गते बेलुकी फोन गरेर सीतालाई घर जान भनेका थिए । र, सीता त्यसैदिन माइतीबाट घर फर्केका थिए । माइतीबाट हाँसीखुसी घर फर्केकी सीता भोलिपल्ट मृत अवस्थामा फेला परिन् ।

उनको ओछ्यानमा माइतीमा रहँदा बजारबाट किनमेल गरेर ल्याएका श्रृंगार पटारका सामग्री, झोलालगायत सामानहरु जस्ताको तस्तै अवस्थामा थिए । सीता भने ढुंगाझैँ पल्टिएका थिए ।

हाल सीताको शव लुम्बिनी प्रादेशिक अस्पतालमै राखिएको छ । माइती पक्षले छोरीको हत्यारा पत्ता नलागेसम्म शव दहन नगर्ने अडान लिएको छ । पोष्टमार्टम रिपोर्टपछि झन् आक्रोशित बनेको माइतीजन परिवारले पटक पटक बुटवल ईलाका प्रहरी कार्यालय घेराउ गर्दै आएको छ ।

पोष्टमार्टम रिपोर्टमा मृतकको हत्या नभई ट ‘ह्यांगिङ केस’ अर्थात् आत्महत्या भनिएको छ । तर, माईतीजन पक्षले भने पोष्टमार्टम रिपोर्ट घटना मोडेर सामसामु बनाउन ल्याएको भन्दै पुनः परीक्षणको माग गरेको छ ।

पोष्टमार्टमा रिपोर्ट गलत र सत्यतथ्य घटना बाहिर नआएसम्म मृतकको शव उठाउन नदिने भनेको छ । तर, प्रहरीले भने अहिलेसम्म घटनाबारे कुनै सत्य तथ्य कुरा बाहिर ल्याएको छैन ।

बुटवलका डिएसपी बने वकिल : मृतकका बुवा

मृतक सीताका बुवा हरिप्रसाद भण्डारीले छोरीको हत्या नै भएको ठोकुवा गर्छन् । उनी षड्यन्त्रमूलक ढंगले त्यस दिन ज्वाँईले बोलाएर हत्या गरेको बताउछन् । तर, डिएसपी कुँवरले भने आरोपति पक्षको (ज्वाँई पक्ष) लिएर वकिलले झैँ वकालत गरेको हरिप्रसाद सुनाउँछन् ।

प्रहरी प्रशासनकै मिलेमतोमा घटना लुकाउन खोजिएपछि जिल्ला प्रशासन कार्यालन गएको र सिडिओ आस्मान तामाङसँग न्याय मागेको उनी बताउछन् । सिडिओ तामाङले जसरी पनि न्याय दिलाएर छाड्ने बचन दिँदै केही समय धैर्य गर्न आश्वासन दिएको उनको भनाइ छ ।

सिडिओको भनाइबमोजिम अहिले आफूहरुले आन्दोलन रोकेर बसेको हरिप्रसादले बताए । उनले भने, ‘कर्तब्य ज्यान सम्वन्धि मुदा दर्ता गराउने सिडिओ साबले भन्नुभयो । र, प्रहरी कार्यालयमा गएर आरोपित दुई जना र उनका दाजु हरि पौड्यालसमेत गरि ३ जना विरुद्ध किटानी जाहेरी दिएर आएका छौँ ।’

मृतका बुवा हरिप्रसादका अनुसार यसअघि पनि ज्वाँई टीकाले सीतालाई कुटपिट गर्दै आएका थिए । त्यसो त घटनाको दिन अर्थात् भदौ १९ गते साँझ टीका ससुरालीम मातेर आएका थिए । ससुरालीमा उनले ‘अब तपाईहरुको छोरी बितरा पर्ने भई’ भन्दै गाडीको ढोका बेजोडले हानेर हुँइकिएका थिए ।

नभन्दै भोलिपल्ट २० गते छोरी मृत अवस्थामा भेटिन् । छोरीको मृत्युपश्चात बुटवल ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको मृतकका बुवा हरिप्रसाद बताउछन् । तर, डिएसपी मदन कुँवरले जाहेरी दिन मिल्दैन भनेर ठाडो उजुर लेख्न लगाए । उजुरी लेखिए पनि घटनाबारे कुनै छानविन अघि बढेन । त्यसपछि माइती पक्ष प्रहरी कार्यालयमा धर्ना दिन बाध्य भयो ।

त्यसपछि बल्ल प्रहरीले अनुसन्धान बढायो । आत्महत्या दुरुसाहन श्रीमान टीका र उनका दिदी विष्णु पौडेल समातिए । पछि अदालतले म्याद थप्न मानेन भन्दै दुवै जना छाडिए । त्यसपछि फेरि माइतीजन पक्षले अदालत घेराउ गर्दै चरणबद्ध आन्दोलन थाल्यो । र, फेरि ी आत्महत्या दुरुसाहनको मुद्धा दर्ता गर्न लगाएर उनीहरुलाई समातेर अनुसन्धानमा लिइएको छ । यद्यपि, अहिलेसम्म घटनाबारे प्रहरीले कुनै विवरण सुनाएको छैन ।

घरकै मान्छे जनप्रतिनिधि

आरोपित ज्वाँई टीका पौड्यालका दाजु तिलोत्तमा नगरपालिका–५ का वडा सदस्य हुन् । नेकपा एमालेबाट विजयी भएका उनले यस घटना दबाउनका निकै चलखेल गरेको हरिप्रसाद पौड्यालको आरोप छ ।

उनको विरुद्ध एमाले रुपन्देहीले निष्पक्ष छानविनको माग गर्दै विज्ञप्ति सम्प्रेषण गर्यो । तर, आरोपितको कनेक्सन माथिल्लो ओहोदासम्म रहेकाले घटना पुरै लुकाउन खोजिएको हरिप्रसादले भने । उनका अनुसार आरोपित टीका पौड्यालका सहोदर काका अनन्तराम पौड्याल पुर्खेयौली घर गुल्मी हुँगाका जल्दा बल्दा कांग्रेस नेता हुन् । बाहिर भने आरोपितका काका अनन्तरामले घटना सत्यतथ्य छानविन हुनुपर्ने माग राख्दै आएका छन् ।

सिसीटिभीमा देखिने अज्ञात ब्यक्ति को हुन् ?

घटनाबारे केही दिनअघि सिसीटिभी फुटेज बाहिरियो । फुटेजमा सीता, श्रीमान टीका आएको समय झण्डै उस्ता उस्तै छ । त्यसपछि सिसीटिभी फुटेजमा एक जना अज्ञात व्यक्ति त्यस घरमा छिरेको पनि देखिन्छ । तर, उनी कतिबेला निस्के भनेर फुटेजमा देखिएको छैन । उक्त भिडियो फुटेज नजिकैको एक पसलका साहुले बाहिर ल्याएका हुन् ।

घटनालाई अझ सजिलै पहिल्याउन सिसीटिभी फुटेज नै बाहिरिएको अवस्थामा प्रहरीले यसतर्फ चासो नदिनु शंकाको विषय मान्दछन् मृतकका बुवा हरिप्रसाद । उनका अुनसार उक्त भिडियोमा देखिएका अज्ञात व्यक्ति परिवारकै आफन्त वा सेटिङ मिलाएर प्रहरी प्रशासनकै माथिल्लो ओहोदाको मान्छे हुन सक्छ ।

साथै, त्यो अज्ञात मानिस घटनाको दुई दिनसम्म त्यहीँ बसेको बुझ्नमा आएको हरिप्रसाद बताउछन् । अहिले डिएसपी कुँवरमाथि आफूहरुले शंका गरेको र उनको सरुवा गराएर घटनाबारे निष्पक्ष छानविन गर्न माग गरेको छ ।


Last Updated on: September 15th, 2021 at 7:05 pm
८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया