सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

नेपालमा चाडपर्वको रौनक सुरु भइसकेको छ । हामी परदेशी पनि दसैँ आउने दिन औँला भाँच्दै गनिरहेका छौँ ।

कोरोना महामारीको कारण लामो समयसम्म स्वदेश फर्कन नपाएकाहरू पनि अहिले देश फर्कने तयारी गर्न थालिसकेका छन् । अब बिस्तारै देशमा पाइला टेक्ने परदेशीको सङ्ख्या बढ्दै जान्छ । ट्राभलमार्फत टिकट काट्नेहरूको चहलपहल सुरु भइसकेको छ । कतिलाई आफूलाई पायक पर्ने दिनमा टिकट पाइएला कि नपाइएला भन्ने चिन्ता पनि छ ।

किनकि अहिले भनेकै समयमा टिकट पाउन मुस्किल नै छ । टिकट काटेर आउनेहरूको अनुहार पनि उति सारो उज्यालो देखिँदैन ।

जहाज उही, ट्राभल उही, टिकट पनि उही । खाडीबाट नेपाल जान चार पाँच घण्टाको यात्रा । तर टिकटको मूल्य भने अहिले छोइ नसक्नुको छ । चाडबाडको मौका छोपेर टिकट महँगो हुनु अस्वाभाविक नै भएको छ ।

भर्खरै टिकट खुल्ला हुनु, अनि चाडपर्व सँगै यात्रुको चाप बढ्नु पनि यसको कारण हुनसक्छ । लामो समयपछि घर जाने प्रतीक्षामा बसेकालाई भने यो अवस्थाले निकै अप्ठ्यारो परेको छ ।

कति साथीभाइ टिकट महँगो होस् तर दसैँ त घरमा नै मनाउने हो भन्ने सुरमा छन् । हुन पनि पैसाभन्दा ठुलो परिवार हो । तर कमाउन कै लागि भनेर त्यही परिवार छाडेर विदेश आएको परदेशीलाई सजिलो कहाँ छ र ।

हामीलाई त छोरा छोरीलाई नाना पापा, आमालाई, श्रीमतीलाई बुवालाई, दाजुभाइ दिदीबहिनीलाई र तल्लो घरका काकालाई समेत यसो केही उपहार लैजान मन छ ।

कोरोना कहर त आफ्नो ठाउँमा छ नै । चुलिएको टिकटको मूल्य सँगै अर्को त्रास पनि छ । कतै घर जाने बेलामा कोरोना पोजेटिभ भयो भने, टिकटको पैसा रिफन्ड हुने अवस्था छैन ।

टिकटमा नै स्पष्ट ‘ननरिफन्डेवल’को छाप मारिएको छ । जसरी पनि मारमा त श्रमिक नै परेका छन् । यस्तो बेलामा त एअरलाइन्स कम्पनीले पनि केही सहुलियत दिए हुने नि ।

यस्तो अवस्था देख्दा त साह्रै नरमाइलो लाग्छ । मर्ने त गरिब नै रहेछन् भन्ने भान हुन्छ । गरिबको माया गर्ने त कोही रहेनछन् भन्ने लाग्छ । तर परदेशीको भावना कसले बुझ्छ र । कमाएर रेमिट्यान्स पठाउने नेपालीका लागि धेरै गर्न नसके पनि सरकारले यस्ता चाडबाडको बेलामा त केही सहुलियत दिए हुन्थ्यो नि ।

विदेशको के कुरा गर्नु हजुर, परदेशीलाई त आफ्नै देशमा गर्ने व्यवहार फरक छ ।

अनेक समस्या झेल्दै आएका परदेशीलाई देशमा टेकी सकेपछि पनि गर्ने हेर्ने नजर फरक हुन्छ । उनीहरूले ल्याएका झोला खोतलिन्छ, फोडिन्छ, सामानहरू फालिन्छ । हो कतिपयले गल्ती गर्छन् होला, नेपालको कानुनले प्रतिबन्ध गरेका समानहरू ल्याउँछन् होला । म ल्याउँदैनन् भनेर भन्दिन । तर एउटा निमुखा परदेशी जसले आफ्नाका लागि ल्याएको उपहार माथि देशमा आफ्नैले हेला नगरुन् । दुःख नदिउन् भन्ने लाग्छ ।

कोरोनाको यो समयमा त झन् विभिन्न स्वास्थ्यका मापदण्डदेखि जाँचबुझका प्रक्रियाहरू छन् । खोप लगाएर र पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएकालाई छिटो र सजिलो रूपमा विमानस्थलबाट बाहिरिने व्यवस्था सरकारले गर्नुपर्छ ।

दुईचार वर्ष खाडीको तातो घाममा पसिना बगाएर फर्किएकाले देश आउँदा शीतल महसुस गर्न सकुन् । विमानस्थलमा टेकेपछि आफ्नो अवस्थालाई कोही पनि परदेशीले धिक्कार्न नपरोस् ।

हुन त ठुलो अपेक्षा राख्ने अवस्था छैन । हामी परदेशीका भावनाको कदर कोहीले गर्नेवाला पनि छैनन् । तर पनि आस त लाग्छ नि । जस्तो भए पनि देश त देश हो । आफ्नो देशसँग आस नगर्ने सायद को पो होला र ।

लण्डन गएका लाहुरे, खाडीबाट फर्कनेलाई ‘डोरी लाहुरे’ कसैले नभनुन् । खाडीमा पनि मेहनत गरेर , पसिनासँग पैसा साटेर फर्किएका हौँ । खाडीबाट फर्कने परदेशी पनि देशको एक नागरिक हौँ । त्यसैले सरकार देशमा टेक्दा हामीलाई आफ्नाको व्यवहार गर्न नसके पनि हेला चाहिँ नगर्नुहोस्, दुःख चाहिँ नदिनुहोस् है ।


Last Updated on: September 17th, 2021 at 6:40 pm
६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया