सोमबार ०८ कार्तिक २०७८

राधिका शाक्यः आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त हुने त्यही बाटोको निरन्तर पथिक हुनुहुन्छ ।

दाम्पत्य जीवनको यस अवधिमा निजी मामिलाहरूमा उहाँसँग मेरो त्यति धेरै विमर्श हुन पाएको छैन । मसँग त्यति प्रवल निजी इच्छा नभएर पनि हुन सक्छ वा उहाँले मुलुकका लागि लिनुभएको बाटो यसका लागि प्रतिकूल भएर पनि हुनसक्छ, हामीले आफू, परिवार, सम्पत्ति आदिका विषयलाई कहिल्यै छलफलको विषय बनाएका छैनौंँ ।

यति लामो समय सँगै बसेर पनि मैले उहाँसँग आफूले जान्न चाहेका कतिपय कुराहरू सोध्ने गरेकी छैन । कारणहरू धेरै छन्, मूल कारण त समय नै हो । हरेकजसो रात उहाँ १२ बजे अगाडि कोठामा आउनुहुन्न । मध्यरातसम्म भेटघाटमै व्यस्त रहनुहुन्छ । त्यति अबेर कोठामा आउने मान्छेको शारीरिक र मानसिक थकान कति हुन्छ होला भन्ने सोच्छु र केही कुरा गर्दिन ।

एकदिनको कुरा हो, त्यो २०७६ साल कात्तिक २० गते राति १ बजेको थियो । मेरो मनमा एउटा प्रश्न उठेको थियो, यो व्यस्त जीवन र उहिलेको जेल जीवनमा के भिन्नता छ ? मानिस आधारभूत सुविधाहरू पूर्ण भएर पनि आखिर आफ्ना लागि बाँचेको छैन भने उसले के कुरामा मन अड्याइरहेको हुन्छ ? बेलाबेला मेरा मनमा उठ्ने यस्ता प्रश्नका जवाफ उहाँसँग संवाद नगरी हमेसा आफ्नै मनोवादबाट पूर्ति गर्थें म । त्यसमा प्रश्न पनि मेरै हुन्थे र जवाफ पनि मै दिन्थेँ ।

मैले के महसुस गरिरहेकी थिएँ भने पञ्चायती शासकले बन्दी बनाएर कठोर यातना दिएको जीवन र आज प्रधानमन्त्री जस्तो देशको सर्वाेच्च कार्यकारी पदमा रहदा काम गर्न अवरोध गरी चारैतिरबाट घेरिएको जीवनमा के भिन्नता छ र ? त्यसबेला लिएको र अहिले लिएको मुलुक बदल्ने उद्देश्यमा के भिन्नता छ र ? त्यसबेला जुन उद्देश्यका लागि जेलमा कठोर यातना सहेर संघर्ष गर्नु परेको थियो, आज त्यही उद्देश्य पूरा गर्न अगाडि सारिएका काममा अवरोध सहेर संघर्ष गर्नु परेको छ । मनमा थुनेर राखेका प्रश्नहरूको बाँध कतिबेला फुट्ला झैँ भएको थियो । मैले उहाँको जेलयात्राका बारेमा सोधेँ । उहाँले व्याख्या नगरी जेल यात्राको विवरण मात्र सुनाउनुभयो ।

२०३० साल असोज २३ गते, रौतहटको एउटा गाँउबाट राति गिरप्तार गरी, हिंडाएर उहाँलाई गौर कारागार लगियो । २६ असोजसम्म त्यहाँ राखेर तीन दिनपछि गौर थाना र गुल्ममा लगेर क्रूरतम यातना दिइयो ।

जेल सार्ने क्रममा उहाँले सुनाउनुभएका यसपछिका घटना विवरणले भने मलाई नराम्री ऐठन ग¥यो । उहाँले सुनाउनुभएको घटना विवरण यस्तो थियो–‘गौर थानाबाट वीरगञ्ज जेल सार्ने भनी रातिको समयमा मलाई निकालियो । प्रहरीको भ्यानमा मलाई राखिएको थियो । तर, वीरगञ्ज नपु¥याउँदै बीचको जंगलमा भाग्न खोजेको अभियोग लगाउँदै मार्ने योजनासाथ जेलसारी गरिएको रहेछ । मलाई हत्कडी लगाइएको थियो, वरिपरि प्रहरी जवानहरू थिए । उनीहरूका साथमा खाल्डो खन्ने ज्यावल औजारहरू पनि थिए । एकदम तयारीसाथ गाडीमा खाल्डो खन्ने औजारसँगै मलाई राखिएको थियो । प्रहरी जवानहरूका अनुहारको भावभंगीबाट सजिलै बुझ्न सकिन्थ्यो, केहीबेरपछि नै उनीहरूले मलाई जंगलमा लगेर मार्नेछन् र खाडल खनेर पुर्नेछन् । जेल सार्न खोज्दा बीचैमा भागेर गोली चलाउँदा मारिएको एउटा कृत्रिम घटनाको प्लट बनाएर हिंड्दा मानिसको अनुहारमा जुन प्रकारको उद्वेलन र छटपटी हुन्थ्यो, उनीहरूका अनुहारमा त्यो प्रस्ट देखिन्थ्यो । जेल सार्ने जिम्मेवारी दिएर पठाइएको उक्त टोटीको नेतृत्व सई मोहनप्रसाद अधिकारीले गर्नुभएको थियो । उहाँका मनमा एक्कासी किन यस्तो करुणा उत्पन्न भयो कुन्नी, बीचमा पुगेपछि उहाँले गाडी जंगलबाट मोडेर वीरगञ्जतिर लैजान आदेश दिनुभयो । ‘गाडी दायाँ लैजा, यो बाँचोस्’ सई मोहनप्रसाद अधिकारीले एक्कासी दिएको निर्देशनले मार्न ठिक पारिएको म बाँचेँ । जब आफूलाई केही बेरपछि नै मारिनेछ भन्ने बोध हुन्छ र त्यसका लागि ठिक्क पारिएको सर्जाम देखिन्छ, त्यसले मृत्युका लागि तयार रहन बलियो बनाउने रहेछ । म त त्यसैबेला मारिसकेको थिएँ । बाँचेँ र तिमीसँग भेट भयो ।’

उहाँले त्यस मध्यरातमा सुनाउनुभएका यी कुराले मेरो जीउमा काँडा उम्रेजस्तो भयो । तन्मयपूर्वक त्यस दिनको घटना विवरण सुन्दा मेरो मानसिकता नै केही बिथोलियो । त्यसपछि पनि उहाँले जेल सारिएका विवरण सुनाउनुभयो, तर मेरो मन भने जंगलमा मार्न खोजिएको त्यही घटनामा अड्किएको थियो ।

मंसीर तीन गते राति उहाँलाई वीरगञ्ज थाना पु¥याइएछ । चार र पाँच गते त्यहीँ राखेर उहाँलाई ६ गते वीरगञ्जकै सानो जेल भनिने महिला कारागारमा पु¥याइएको रहेछ । त्यहाँ त्यसबेला महिला नभएकाले मंसीर ६ र ७ गते त्यहीँ राखियो । मंसीर ८ गते मध्यरातमा अर्काे मनोवैज्ञानिक आतङ्क सहित उहाँलाई त्यस जेलबाट निकालियो, काठमाडौँ सार्न भनेर । नेपाली कांग्रेसका चितवन सभापति भीमबहादुर श्रेष्ठलाई समेत सँगै हिंडाइएको थियो । मंसीर ८ गते काठमाडौंको भद्रगोल जेलमा ल्याएर तीन दिनसम्म राखियो । मंसीर ११ गते सेन्ट्रल जेल ल्याएर २०३२ वैशाख १६ गतेसम्म गोलघरमा राखियो । त्यहाँबाट फेरि २०३२ साल साउन २२ गते नख्खु जेलमा सारियो ।

१६ महिना नख्खु जेलको बसाइपछि २०३३ मंसीर १४ गते फेरि सेन्ट्रल जेल लगेर गोलघरमा हालियो । दोस्रो पटक करिव तीन वर्ष गोलघरमा राखेपछि २०३६ साल जेठमा गोलघरबाट निकालियो । सेन्ट्रल जेलबाट २०३७ चैत १५ मा पुनः नख्खु जेल नै लगियो । करिव दुई वर्षको नख्खु जेल बसाइपछि २०३९ माघ ३ गते उहाँलाई पोखरा जेल सारियो । पोखराबाट २०४२ कात्तिकमा स्याङ्जा जेलमा पु¥याइयो । स्याङ्जा जेलबाट २०४३ मंसीर ८ गते उहाँलाई काठमाडौंको हनुमानढोका कारागारमा ल्याइयो र माघ ८ गतेसम्म त्यहीँ राखियो । हनुमानढोका कारागारबाट फेरि तेस्रो पटक भद्रगोल जेल पु¥याएर २०४४ असार ११ गते रिहा गरियो ।

यो थियो, उहाँले मलाई त्यस मध्यरातमा आधा घन्टा लगाएर सुनाउनु भएको जेलयात्राको विवरण ।

यसरी मध्यरातमा भए पनि मैले उहाँको जेल जीवन सम्बन्धी अनुभूतिहरू सुन्ने अवसर पाएँ । कयौंँ दिनदेखि सोध्न नपाएका प्रश्नका बाढी केही समयको लागि शान्त भयो ।

निरङ्कुश व्यवस्था विरुद्धको संघर्षका क्रममा यस्तो कहालीलाग्दो यातनामय जेल सराइ र त्यहाँभित्रको संघर्षले उहाँको शारीरिक र मानसिक अवस्थामा कस्ता असर पारे होलान्? शारीरिक असर त हामी देख्न सक्छौंँ र त्यो भोगिरहेका पनि छौँ । मानसिक असरलाई भने व्यक्तिले कसरी ग्रहण गर्छ? त्यस अनुसारको नतिजा निस्कँदो रहेछ भन्ने उहाँको मनोबल हेरेर महसुस गर्छु । मार्न ठिक्क पारिएको, कयौंँ पटक मृत्युको मुखमा पुगेर फर्केको मानिसमा जीजिविषा यति बलियो हुँदो रहेछ भन्ने मैले केपीजीसँग अन्तरङ्ग संगतका क्रममा थाहा पाएकी छु । यसलाई आम नेपालीले बुझ्नुभएको छ भन्ने ठान्दछु ।

मेरो बुझाइमा उक्त परिस्थितिले उहाँको शारीरिक अवस्थामा केही असर परे पनि मानसिक स्थितिमा एकरत्ति असर परेको छैन । बरु, उहाँलाई देश र जनताप्रतिको उत्तरदायित्व अझ बढी बोध गराएको छ । उहाँले मसँग बेलाबेला भन्नुभएको छ, ‘१४ वर्षको जेल बसाइमा मैले एक वर्षको जति पनि खाना खाएको छैन होला ।’ गोलघरकै बसाइमा उहाँलाई अल्सर, टीबी, पायल्स जस्ता अनेक रोगहरू लाग्यो । उपयुक्त खाना छैन, उपचार छैन । थुप्रै साथीहरूले उहाँ बाँच्नुहुन्न भन्ने ठानेर बेलाबेला हेर्न जाने गरेका कुराहरू सार्वजनिक भइसकेका छन् ।

उहाँले जेल जीवनमा भोगेका दुई जना डाक्टरहरूको विपरीत अलग अलग चरित्रको बेलाबेला प्रसङ्ग ल्याउनुहुन्छ । अति खराब, दुष्ट र मानवीय भावना पटक्कै नभएका डा. आनन्दबहादुर श्रेष्ठ र डाक्टरी पेसाको ख्याल गर्ने र मानवीय भावना भएका डा. पुस्कर भारती थिए रे । डा. भारतीले डाक्टरको धर्म उपचार गर्नु हो भनेर केपीजीलाई केही औषधिका ‘प्रेस्किप्सन’ लेखिदिँदा डा. आनन्द बहादुर श्रेष्ठले त्यसलाई च्यातिदिएको र डा. भारतीलाई जनकपुरमा सरुवा गरिदिएको घटना उहाँले मलाई सुनाउनुभएको थियो । यस्ता डाक्टर, जसले आफ्नो पेशागत धर्म छोडेर सत्ताको लालचमा मानवमाथि अत्याचार गर्दारहेछन् । हुनत, त्यसबेलाको पञ्चायती सत्ताको लालचमा परेका डाक्टरको के कुरा गर्नु, आज पनि केपीजीको स्वास्थ्यलाई लिएर राजनीति गरिरहेका देखिन्छन् । तर, उहाँको स्वास्थ्य निरङ्कुश व्यवस्था विरुद्ध संघर्षपूर्ण राजनीतिक यात्राकै कारण कमजोर बनेको हो । यस यथार्थलाई बुझेर उहाँको स्वास्थ्यमाथि राजनीति नगरिदिए हुन्थ्यो जस्तो लागिरहन्छ ।
०००
एयर एम्बुलेन्सबाट दिल्ली लैजाँदा
हुनत, केपीजी न सभासद् न पार्टीको महत्वपूर्ण पदमा रहेको नेता । तर महत्वपूर्ण पाइला चाल्ने बेला उहाँको सक्रियतामा कहिल्यै ब्रेक लागेन । २०६९ मा पनि उहाँको सक्रियता त्यस्तै थियो । घर हुँदा बिहान–बेलुका अबेरसम्म सयौँसँग भेटघाट, छलफलमा व्यस्त हुने र जिल्ला दौडाइ पनि उत्तिकै हुने । यो सबै परिस्थिति देख्दा मैले बारम्बार चेतावनी दिने गरेकी थिएँ ।

केपी ओलीको किड्नी प्रत्यारोपण विश्वका डाक्टरहरूको लागि एउटा ठूलो पाठ भनौँ या चुनौती भनौँ । कारण नियमित औषधि खाने बाहेक अन्य कुनै पनि नियम उहाँले पालना गर्नु भएन । यसरी अत्यन्तै सक्रिय जीवन चलिरहेकै अवस्थामा २०६९ असोजतिर (सन् २०१२ अक्टोबर) उहाँ न्यूयोर्क हुँदै मेक्सीको जाने कार्यक्रम बन्यो । नेपालमै हुँदा उहाँलाई थकित जस्तो देखिएको थियो । त्यसमाथि विदेश उड्नकै लागि उहाँ जिल्लाको एउटा कार्यक्रमबाट फर्किनु भएको जस्तो लाग्छ ।

काठमाडौँ आएर अवुधाबी हुँदै न्यूयोर्कको लागि उहाँ उड्नुभयो । तर मौसमको खराबीका कारण गर्दा उहाँको जहाज अवुधाबीमा अवतरण हुन नसकेर सायद दुबई गयो । जसले गर्दा न्यूयोर्कको जहाज छुट्न गयो । धेरै समय अर्थात् लामो समयसम्म उहाँ एयरपोर्टमै बस्न बाध्य हुनुभयो । अन्त्यमा धेरै ठाउँमा अनुरोध गरेर लण्डन हुँदै न्यूयोर्क पुग्नुभयो । यस पटक म साथमा नगएर राजेशलाई पठाएकी थिएँ । कारण म अमेरिका गइसकेको र दोहो¥याएर जान मन पनि नभएकोले राजेशलाई पठाएकी थिएँ । यो यात्रामा राजेश गएको हुनाले उसले अनेकौँ झन्झट ब्यहोरेर पनि यात्राको व्यवस्थापन गर्न सफल भयो । सायद म गएकी भए धेरै गाह्रो हुन्थ्यो होला ।

यसरी न्यूयोर्क अवतरण गर्नासाथ संयुक्त राष्ट्र संघका महासचिवसँगको भेट र मिटिङ्मा सहभागी बन्नुभयो । यसबेला उहाँ आइक्यापको सदस्यको नाताले उक्त मिटिङ्मा सहभागी हुनुपर्ने थियो । त्यसको भोलिपल्ट नै पाँच घन्टाको हवाइयात्रा गरेर मेक्सिको पुग्नुभयो र केही मिटिङ्मा भाग लिनुभयो । तर उहाँको स्वास्थ्यस्थिति दयनीय बन्दै गइरहेको थियो । त्यसैले मेक्सिकोबाट तुरुन्त फिर्ता भई न्यूयोर्क पुग्नुभयो र न्यूयोर्कस्थित लेनोक्स हिल हस्पिटलमा भर्ना हुनुभयो । यसरी अमेरिकाको अस्पतालमा पनि एक हप्ता उपचार गर्नुभयो । तर पूरा निको भएन । अनि त्यहाँबाट डिस्चार्ज भएर न्यूयोर्कमा सञ्जय थापाजीको घरमा दुईचार दिन बसेर २०६९ को दशैँ त्यहीँ मनाएर दिल्ली आउनुभयो ।
हाम्रो सल्लाह के भयो भने अमेरिकाले एसियनहरूको रोग पहिचान गर्न सकेन होला । त्यसैले दिल्लीमै उपचार गरौँ भन्ने रह्यो । तसर्थ, म पनि यहाँबाट दिल्ली गएँ । हाम्रो भेट दिल्लीमा भयो । यस बीचमा मलाई कति तनाव भयो भन्ने व्यक्त गर्ने शब्दहरू नै अहिले छैन ।

दिल्ली पुगेर डाक्टरसँग सम्पर्क गरी हामी एपोलो अस्पताल गयौँ । रगतदेखि सबै परीक्षणहरू गरायौँ । तर यहाँ पनि डाक्टरहरूले रोग केही छैन, अति कमजोर छ, आराम गरेपछि राम्रो हुन्छ भन्नुभयो । यदि आराम मात्र गर्ने हो भने आफ्नै ठाउँमा जाउँ भनेर हामी नेपाल फर्कियौँ । नेपाल फर्केको अर्को दिनदेखि उहाँको खोकी यसरी बढ्यो कि हेर्न नै गाह्रो भयो । त्यसपछि केही बोतल स्लाइन पानी चढाउनु प¥यो भनेर डाक्टर दिलिप शर्माको सल्लाह बमोजिम थापाथलीस्थित ‘ब्लु बर्ड क्लिनिक’मा लगियो र स्लाइन चलाइयो । तर स्थितिमा सुधार देखिएन । लगत्तै नर्भिक अस्पतालका डाक्टरलाई डा. दिलिपले बोलाउनुभयो । अनि उहाँले केपी सरलाई देख्नासाथ र जाँच गरिसकेपछि तुरुन्त एम्बुलेन्स बोलाएर नर्भिक अस्पताल पु¥याउन लगाउनुभयो ।

थापाथलीस्थित नर्भिक अस्पताल पु¥याएपछि आवश्यक प्रक्रियाहरू पु¥याइसकेपछि उहाँलाई आइसीयुमा लगेर राखियो । नर्भिक अस्पतालमा हुँदा पनि भिजिटरको भिड अति नै थियो । सायद चौथो दिनमा नर्भिकबाट पुनः एयर एम्बुलेन्स् बोलाएर सिधै दिल्ली गुडगाउँस्थित मेदान्त अस्पताल लगियो । त्यतिबेला नर्भिक अस्पतालको अवस्थाबारे केही बुझ्ने र जान्ने अवसर मिल्यो । त्यहाँ बिरामीको कक्षमा जान नपाएका हजारौँ शुभचिन्तकहरूसँग मैले भेटेकी थिएँ । तीनचार दिन त थापाथलीमा मेला लागेजस्तै भएको थियो । मेरो बहिनी राधा शाक्य प्रसुति गृह अस्पतालकी स्टाफ नर्स भएको हुनाले हाम्रो लागि खानाको व्यवस्था उनैले गरेकी थिइन् । यसरी नर्भिकले पनि नसकेपछि मेदान्त लाने क्रममा देखेको त होइन सुने अनुसार नर्भिकदेखि एयरपोर्ट सम्म नै शुभचिन्तकहरूको भीड लागेको थियो रे । मलाई लाग्छ, नेपालमा एकजना व्यक्ति बिरामी हुँदा जनताको ठूलो चासो यही नै पहिलो थियो कि ?

एयर एम्बुलेन्स्मा राजेशलाई साथमा पठाएर म र इन्द्र भण्डारी नियमित उडानबाट दिल्ली उड्याँै । हामी एयरपोर्टबाट सिधै अस्पताल गयौँ । तर हामी पुग्दासम्म पनि केपीजीलाई पु¥याएको थिएन । हामीलाई झन् बढी तनाव भयो । एयर एम्बुलेन्स् अवतरण हुन सकेन कि भन्ने पनि लाग्यो । दिल्लीस्थित मेदान्त अस्पताल बाहिर नेपाली साथीहरू र दूतावासका कर्मचारीहरू पनि प्रतीक्षारत थिए । उहाँलाई अस्पताल ल्याइपु¥याउँदा अँध्यारो भइसकेको थियो । जनकपुर निवासी उक्त अस्पतालमा कार्यरत एक जना टेक्निसियन भाइले भर्नाको लागि आवश्यक व्यवस्था गरिदिए । अनि राति हामी नजिकको गेस्ट रुममा गएर बस्यौँ ।

मेदान्त अस्पतालको वरिपरि विभिन्न स्तरका धेरै नै गेस्टहाउसहरू रहेछन् । हामी त्यहाँ पुग्नासाथै धेरै एजेण्टहरूले आ–आफ्नो गेस्टहाउसमा हामीलाई लैजाने प्रयास गरेका थिए । त्यसैले एपोलोमा उपचार गराउँदा जस्तो बस्नको लागि दुःख यहाँ भएन । ठिकै खालका दुई तीन वटा कोठा लिएका थियौँ । खाना पकाएर खाने ठाउँ र सामानहरू पनि थिए । साथै रेस्टुराँबाट मगाएर पनि खान सकिन्छ । खाने, बस्ने सवालमा यस पटक मैले धेरै दुःख भोग्नु परेन । उता बिरामीलाई सुरुदेखि नै ‘आइसीयु र सीसीयु’मा भर्ना गरेको हुनाले हामी कुरुवा बस्नु परेको थिएन । त्यहाँ प्रत्येक दिन दुई पल्ट दुई जना भिजिटरलाई मात्र अनुमति दिइएको हुन्छ । म प्रत्येक दिन भिन्न भिन्न व्यक्तिहरू पठाउँथेँ । म गेस्टहाउसमा बस्ने र सुत्ने अनि बिहानको खाजा खाएर हिँडेरै अस्पताल पुग्ने गर्थें । अनि अस्पतालको सेरोफेरोमै दिन बिताउने गर्दथेँ । खाली पैसा मात्र हुनुपर्दछ । चिया, कफी, स्न्याक्स् खाने, नास्ता र बिहान–बेलुकाको खाना खाने ठाउँहरू छुट्टाछुट्टै थिए । सरसफाइ पनि राम्रै छ । अस्पतालमा ओपीडी क्लिनिक वार्डहरू धेरै भएकोले दिनभरि नै मानिसहरूको चहल पहल बाक्लै हुने गथ्र्याे । अस्पताल आउने, जाने धेरै मानिसहरूमा खुट्टा दुख्ने समस्या छ कि भन्ने मलाई लागेको थियो । प्रायः मानिसहरू खुट्टा खोच्याउँदै हिँडेको देखिन्थ्यो । अलि पाका महिलाहरूलाई त हिँड्न समस्या देखिएको थियो ।

बाहिर हामी जस्ता विदेशका बिरामी र उनीहरूका सहयोगीहरूका लागि काउन्सिलिङ् गर्ने, सुझाब लिने छुट्टै कोठा या युनिट पनि व्यवस्था रहेछ । त्यसैले पनि मलाई यहाँ धेरै कुराहरूमा सहयोग पुगेको छ । माथि वार्डमा केपीजीलाई राखेको ठाउँमा सिसा या प्लास्टिकले घेरिएको कोठा रहेछ । भर्ना गरेको तीन चार दिन हुँदा पनि स्वास्थ्यमा खासै सुधार नदेखिएपछि उहाँको मुख र घाँटीबाट मेसिन भित्र पठाएर छातीमा टाँस्सिएको खकार निकाली टेस्ट गर्न एक जना लेडिज डाक्टर तयारीका साथ आउनुभयो र फर्ममा सही गर्न मलाई बोलाउनुभयो । उहाँले भन्नुभयो कि उहाँको रोग के हो ? पत्ता लगाउनको लागि हामी ब्रोन्कोस्कोपी गर्न लागेका छौँ । एक त उहाँ मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति, दोस्रो एकदम कमजोर अवस्था त्यसैले उहाँको खकार निकाल्ने क्रममा अप्ठेरो परेमा भेन्टीलेटरमा राख्नुपर्ने हुन्छ र त्यहाँ राखिसकेपछि जीवित फर्केर आउनेमा अली शङ्का हुन्छ भन्ने ढंगले कुरा गरे । यी सबै कुरा सुनेपछि मैले फर्ममा सही गर्न सकिनँ । मैले आज नगरौँ म सबैसँग सल्लाह गर्छु र तपाईंलाई खबर गर्छु भनेँ । त्यसपछि डाक्टरको टोली फर्कियो ।

अघि डाक्टरको टोलीले भनेको कुराले मलाई ठूलो पहिरोले थिचेजस्तो भयो । अब भेन्टिलेटरमा राख्न दिनु भनेको सिधै फर्केर नआउने भनेजस्तो आशयको कुरा उनीहरूले गरे । त्यो कुराकानी सुनेदेखि नै आफूले टेकेको जमिन हल्लिएजस्तो भयो । खु्ट्टा लुलिएर थचक्क भइएला जस्तो भयो । वरिपरिको वातावरण एकतमासको लाग्यो, संसार फन्फनी घुमेजस्तो भयो । म रोउँ कि, यहीँ थचक्कै बसुँ कि । रोएर समस्या समाधान हुने त होइन । तर, परिस्थिति त्यस्तो भएपछि तर्कले काम गर्दाे रहेनछ । रोएर केही हुन्न भन्दाभन्दै म धेरै रोएँ । रातभर आँखा झिमिक्क भएन । काठमाडौंमा पार्टीका साथीहरू, मैले चिनेका डा. दिलिपकुमार शर्मा र डा. कैलाश भण्डारी, दिल्लीका डा.अखिलेश्वर मिश्र, डा.अनन्त, डा. राजिव शर्मा आदिलाई फोन गरेँ । उनीहरूसँग सल्लाह मागेँ । डा. दिलिप र डा. कैलाशलाई जसरी भए पनि तपाईहरू दिल्ली आउनु भनेर अनुरोध गरेँ । मध्यरातमा डा. राजिव र उहाँका म्याडम, डा. गीत मलाई भेट्न गेस्टहाउस आउनुभयो । नआत्तिन र धैर्य गर्न भन्नुभयो । भोलिपल्ट बिहानैको फ्लाइटबाट डा. दिलिप शर्मा र डा. कैलाश पनि दिल्ली पुग्नुभयो । हामी सबै भएर अस्पतालका प्रमुख डाक्टरसँग कुरा ग¥यौँ ।

मैले भनेँ, केपी ओली मेरो श्रीमान मात्र नभएर एउटा जिम्मेवार पार्टीको नेता समेत भएकोले मैले मात्र कुनै कुराको निर्णय दिन सक्दिन । अर्कोतिर नेपालबाट दुई जना डाक्टरहरू आएपछि म ढुक्क भएँ । उहाँहरूले जे निर्णय गर्नुहुन्छ त्यसैमा मेरो पनि सहमति हुन्छ भनेँ । म उहाँहरूमाथि विश्वास गर्छु र भरोसा राख्छु । सबै जिम्मा डाक्टर दिलिप र डा. कैलाशलाई दिएपछि अस्पतालका सम्बन्धितहरूसँग छलफल गरियो । तर पछि ब्रोन्कोस्कोपी गर्नु नपर्ने निर्णय भयो । यसपछि थप एक हप्ता गरी जम्मा १४ दिनको दिन केपीजी डिस्चार्ज हुनुभयो । डिस्चार्ज हुनुभन्दा एकदिन अगाडि उहाँलाई आइसीयुबाट जनरल वार्डमा सारिएको थियो । जेनरल वार्डमा ल्याएपछि उहाँलाई नुहाइदिन खोज्दा शरिरमा हाडमा टाँसिएको छाला बाहेक शरीरमा मासु भन्ने छैन कि जस्तो लाग्यो । उहाँलाई यतिको दुब्लो त मैले कहिल्यै देखेको थिएन । शरीरमा कहीँ, कतै एउटा सुई रोप्ने ठाउँ पनि छैन जस्तो लाग्छ । यसरी निमोनियाबाट बचाएर २०६९ को तिहारको लक्ष्मीपूजाको अघिल्लो साँझ डिस्चार्ज गरी अस्पताल बाहिर आयौँ । डिस्चार्ज गरी उहाँलाई सिधै गेस्टहाउसमा लगेँ । एक छिन त्यहाँ आराम गराई त्यसै रात डा. राजिव र गीत शर्माको निवासमा बस्न गयौँ ।

डा. राजिव शर्मा दिल्ली निवासी र बिगतमा एपोलो अस्पतालका अर्थोपोडिक सर्जन हुन् । आजका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हिपको हड्डीको अपरेसन गर्ने व्यक्ति डा. राजिव शर्मा नै हुन् । समय समसयमा उनी पेसाकै सिलसिलामा नेपाल पनि आउँछन् । केपीजीको मिर्गौला प्रत्यारोपणदेखि नै हाम्रो चिनजान भएको हो । डा. शर्माका म्याडम गीत शर्मा सायद शिख समुदायकी छोरी जस्तो लाग्छ । उनी पनि डाक्टर तर मेडिकलपट्टी होइन । उनीहरूका दुई छोराहरूमा जेठो उसबेला अमेरिकामा अध्ययनरत र कान्छो सँगै थिए । छोराछोरीको असाध्यै हेरचाह गर्ने आमाहरूमध्ये डा. गीत पनि पर्नुहुन्छ । हामी अस्पतालबाट निस्केर उहाँहरूको निवासमा किन बस्न गयौँ भने पहिलो कुरो उहाँहरूको विनम्र अनुरोधलाई इन्कार गर्न सकिएन । दोस्रो कुरा, केपीजी धेरै कमजोर भएकोले बाक्लो भेटघाटबाट टाढा राख्नको लागि पनि उहाँहरूको निवास उपयुक्त लाग्यो । तेस्रो, डाक्टरकै घरमा बस्दा मलाई पनि ढुक्क हुने भयो । चौथो केपीजीको लागि आवश्यक सरसफाइ पनि त्यहाँ राम्रो छ ।

हामी करिब दुई हप्ता डाक्टर शर्माको निवासमा बस्यौँ । यस बीचमा दुई तीन पटक फलोअपमा अस्पतालमा गयौँ । यस अवधिमा केपीजीले निकै कम व्यक्तिहरूलाई मात्र भेटघाट गर्नुभयो । २०६९ को लक्ष्मीपूजाको दिन हामी शर्माजीकै घरमा थियौँ । उहाँहरूको लक्ष्मीपूजामा एकजना पण्डित बोलाएर छोटो पूजापाठ गरिएको थियो । त्यहाँ लक्ष्मीपूजामा छरछिमेकी र आफन्तबीच मिठाई उपहार दिने चलन रहेछ । त्यसैले हामीले त्यतिबेला धेरैथरीका धेरै मिठाई पनि खायौँ । बाहिर पटाका पड्काउने धेरै हुँदा रहेछन् । तिहार भए पनि अन्य चहल पहल खास देखिएन । यसरी यसपटक पनि करिब एक महिना दिल्ली बसेर हामी काठमाडौँ फर्कियौँ ।
०००
बैंककमा बिताएका त्रासद् दिनहरू
थाइलाण्डको राजधानी बैंकक हाम्रो लागि नयाँ ठाउँ होइन । २०५२ साल साउनको अन्त्यमा पहिलो पटक उपचारकै लागि हामी बैंककको समितिभेज अस्पताल गएका थियौँ । त्यहाँ चार पाँच दिन उपचार गराएर फर्केका थियौँ । त्यसपछि २०६४ साउनमा उहाँको मिर्गौला प्रत्यारोपण गर्नुअघि पनि एक दुई पटक बैंकक जाने क्रममा बुमरुङगार्ड अस्पताल गएर सामान्य चेकअप गराएका थियौँ । तर यसपल्ट २०७१ वैशाखमा अचानक बैंककको बुमरुङगार्ड अस्पताल पुग्नु प¥यो, त्यो पनि एयर एम्बुलेन्सबाट करिब अर्धचेत अवस्थामा उहाँलाई लिएर ।
२०७० मंसीरको चुनाब हुनु अगाडिदेखि नै उहाँको हातको छाला र औँलाहरू अलि अलि सुनिएजस्तो, छाला कालो भएजस्तो लक्षणहरू देखापरेका थिए । तर, चुनाबको चपेटाले गर्दा खासै ध्यान दिन सकिएन । चुनाबपछि २०७० फागुनमा टोखास्थित ग्राण्डी अस्पतालमा चेकअपको लागि जाने क्रममा भर्ना नै गरियो । यहाँ १०–१२ दिनको उपचारपछि घर आएर पुनः हामी लगत्तै दिल्लीको साकेतस्थित म्याक्सअस्पतालमा भर्ना भयौँ त्यहाँ एकमहिना लामो अस्पताल बसाईपछि बाहिर आएर थप दुई हप्ता दिल्ली बसेर २०७१ वैशाख ४ गते बुधबार तदनुसार १६ अप्रिल २०१४ मा मात्र नेपाल फर्केका थियौँ ।

काठमाडौँ एयरपोर्टमा नेता, कार्यकर्ता, परिवार, शुभचिन्तकको ठूलो समूहले स्वागत गरेका थिए । घर पुगेदेखि उही खालको भेटघाटको सिलसिला चलिहाल्यो । केही आराम मिल्ला कि भनेर दुई दिन गोकर्ण रिसोर्ट पनि गएर बस्यौँ । तर अर्को हप्ताको बिहिबार बेलुकादेखि उहाँलाई साह्रै टाउको दुख्यो, अनि लगातार वान्ता भयो । भोलिपल्ट डाक्टर ऋषि काफ्ले हाम्रो घरमै आएर जाँच गर्नुभयो । डा. काफ्लेले डिहाइड्रेसन छ, दुई तीन वटा स्लाइन चढाएपछि ठिक हुन्छ भनेर जानुभयो । दुई जना स्वास्थ्यकर्मी आएर स्लाइन चढाइयो र उपचार सुरु पनि भयो । तर बेलुका सम्ममा पनि कुनै सुधार देखिएन । राति फेरि डाक्टर दिलिप र डाक्टर कैलाश र अरु पनि आएर हेर्नुभयो । उहाँहरूले स्लाइन थप्दै लैजानुभयो । तर टाउको दुखाइ र वान्ता रोकिएन । यसरी शुक्रबारदेखि आइतबारसम्म घरमा राखेर उपचार गर्दा पनि सुधार नदेखिएपछि डा. ऋषि काफ्ले, डा. दिव्या सिंह, डा. मुकुन्द सबैको सुझाब अनुसार आइतबार राति त्रिवि शिक्षण अस्पताल लगियो ।

अस्पताल पुगेपछि राति नै सीटीस्क्यान र ढाडबाट पानी निकाल्ने र अन्य परीक्षण सुरु गरियो । ती परीक्षणहरूमध्ये ढाडबाट निकालिएको पानीको जाँचबाट उहाँलाई क्रिप्टोकोर्स मेनेन्जाइटिक्स् भनेर चिनिने कडा रोग लागेको छ भन्ने पत्ता लाग्यो र रातिबाट नै उपचार सुरु गरियो । एमआरआई पनि गरी हेरियो । अरु रिपोर्टस् नराम्रो थिएन । यसरी फेरि अर्को कडा खालको अर्थात् बढी जोखिमयुक्त रोगले उहाँलाई दुःख दियो । टिचिङ अस्पतालमै रोग पत्ता लगाई उपचार सुरु भएको भए पनि अन्त्यमा उहाँलाई बैंककको वुङरुङगार्ड अस्पताल लाने निर्णय गरी एयर एम्बुलेन्स बोलाइयो । यस्तो निर्णय गर्नुमा मूलतः अस्पतालमा भेट्न आउनेको भीड, अस्पतालभित्र हुने फोहोरी राजनीति र उहाँको जटिल रोगहरूको कारणलाई ध्यानमा राखिएको थियो ।

डाक्टरहरू, नेपाल सरकार र नेकपा (एमाले)का प्रतिनिधिबीच गहन छलफल गरी जोखिम न्युनीकरणका लागि बैंकक लाने निर्णय भएको थियो । सोही निर्णय अनुसार २०७१ वैशाख १७ गते टिचिङ अस्पतालबाट सिधै एयरपोर्ट पु¥याएर एयर एम्बुलेन्सबाट बैंकक लगिएको थियो । जहाजमा उतैबाट आएका तीनजना स्वास्थ्यकर्मी र यताबाट बिरामी सहित डा. दिव्या सिंह शाह र राजेश वज्राचार्य गएका थिए । तीन घन्टाको हवाई यात्रापछि उहाँलाई अस्पताल पु¥याएर भर्ना गरियो । त्यस रात राजेश उहाँको साथमै बसे र डा. दिव्या सिंह शाह नेपाली दूतावासमा गएर सुत्नुभयो । जहाजम


Last Updated on: February 25th, 2021 at 4:01 pm
६२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया