शनिबार ०६ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडौं

दसैँमा गाउँ जाँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले बढाएको भाडा नै तिर्नुपर्ने देखिएको छ । ओली सरकारले गत असार २७ गते बढाएको २८ प्रतिशत भाडा प्रदेश नम्बर १ मा मात्रै लागु भएको छ । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने दसैँमा सबै प्रदेशमा उक्त भाडादर लागु हुनुुपर्ने बताएको छ ।

महासंघका महासचिव सरोज सिटौला यसपालिको दसैँतिहारमा यात्रुहरूले ओली सरकारले बढाएको भाडा नै लागु हुने बताउँछन् । ‘‘लामो समय निषेधाज्ञा भयो । उक्त समयमा यातायात व्यवसायीका सवारी साधनहरू ग्यारेजमै थन्किए । व्यवसायीलाई छाक टार्न धौधौ भएको थियो ।

त्यसैले हामीले ओली सरकारले बढाएको भाडादरलाई नै सदर गरेका हौँ,” उनले भने, ‘‘पेट्रोलियम पदार्थको मूल्य पनि बढाएको थियो । पछि हामीले विभिन्न किसिमका दबावमूलक कार्यक्रम ग¥र्यौैैँ । मन्त्रिपरिषद्ले निर्णय गरेको व्यवस्था कार्यान्वयनमा ल्याउन किन सरकार आनाकानी गरिरहेको छ ?”

सवारी साधन हेरेर २० प्रतिशतदेखि २८ प्रतिशतसम्म भाडा तिर्नुपर्ने महासचिव सिटौलाको भनाइ छ । ‘‘औपचारिक रूपमा मन्त्रिपरिषद्को बैठकले निर्णय भाडा समायोजन गरिसकेको छ । यसै अनुसार प्रदेश १ सरकारले लागु पनि गरिसकेको छ । यसैले हामीले सरकारलाई सबै प्रदेशमा भाडादर समायोजन गर्न प्रस्ताव पेस गरिसकेका छौँ ।

देशभर ओली सरकारले बढाएको भाडा समायोजन हुनुपर्छ,” उनले भने, ‘‘सरकारले यस्ता प्राविधिक कुराहरू मिलाइदिनुपर्छ । भोलि सबै यातायात व्यवसायी महासंघको आन्तरिक बैठक बस्दैछौँ । त्यसपछि छलफल हुन्छ ।

बाढी पहिरोका कारण कैयौँ सडकहरू अवरुद्ध भएका छन् । यी सडकहरू पनि सरकारले बनाएर व्यवसायीलाई सहयोग गरिदिनुपर्छ । ग्रामीण भेगमा गाडी जाने अवस्था छैन । ग्रामीण क्षेत्रको बाटो बनाउनु परेन सरकारले ?”

अस्थायी रूपमा बाटो पिच नगरी ग्राबेल हालेर गाडी जाने वातावरण सरकारले मिलाउनुपर्ने महासचिव सिटौलाको भनाइ छ ।

दसैँ तिहारको बेलामा काठमाडौं उपत्यकाबाट करिब १० लाख जना यात्रु बाहिरिने यातायात व्यवस्था विभागको अनुमान छ । विभागका महानिर्देशक नमराज घिमिरे गत वर्षभन्दा यसवर्ष धेरै नागरिकहरू उपत्यका बाहिरिने अनुमान गरिएको बताउँछन् ।

‘‘गत वर्षको दसैँ तिहारमा लकडाउन थियो । यसवर्ष निषेधाज्ञा हटिसकेको छ । भने उपत्यकाका बसोवास गर्ने प्रायजसो नागरिकले खोप पनि लगाइसकेका छन । त्यसैले यसपालि उपत्यका छाड्नेहरू बढ्नेछन,” महानिर्देशक घिमिरेले भने ।

सरकारले सबै प्रदेशमा भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन । सरकारले सबै प्रदेशमा भाडा समायोजन गरेको छैन । व्यवसायीको माग अनुसार प्रदेश १ मा भाडादर बढाएर २२ प्रतिशत पु¥याइएको छ ।

‘‘अरू प्रदेशहरूमा भने भाडादर समायोजन भएको छैन । भाडादर समायोजन नभएका प्रदेशहरूमा सरकारले दसैँअघि नै भाडादर समायोजन गर्नुपर्ने हाम्रो माग छ । कुनै प्रदेशमा भाडा समायोजन हुने कुनैमा नहुने हुँदैन । सरकारले सबै प्रदेशमा भाडादर समायोजन गर्नैपर्छ,” महासचिव सिटौलाले भने ।

महासचिव सिटौला भने महासंघले आन्दोलन नगरेको दाबी गर्छन । ‘‘सडकमा गरिएका दुईचार जना यातायात व्यवसायीको आन्दोलन हावादारी हो । हामीले सरकारलाई मौखिक लिखित सुझाव र प्रस्ताव पेस गरिसकेका छौँ । आन्दोलन गर्ने हामी होइनौँ ।

एउटै देशमा दुईथरिका नियम लागु हुनु हुँदैन । प्रदेश १ जसरी नै सबै प्रदेशमा मन्त्रिपरिषद्ले निर्णय गरेको भाडादर लागु हुनुप¥यो । व्यवसायीले १ रुपैयाँ पनि बढी भाडा लिँदैन,” महासचिव सिटौलाले भने ।


Last Updated on: September 21st, 2021 at 8:34 pm
६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया