शनिबार ०६ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा लागेका नेताहरुलाई सम्झिदा आफूलाई एलर्जी हुने टिप्पणी गरेका छन् ।

विहीबार काभ्रेमा आयोजित योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीबाट अलग्गिएका टोपबहादुर रायमाझी, रामबहादुर थापा ‘बादल’लगायत नेताहरुप्रति यस्तो टिप्पणी गरेका हुन् ।

टोप बहादुर रायमाझीलाई आफूले धेरै पटक मन्त्री बनाएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ, अहिले कहाँ हेर्नुस् त ! त्यो बादल हिजोको साथी । अहिले त सम्झिँदा पनि तैट! एलर्जी हुन्छ ।’

उनले थप भने, ‘तानेर ल्याएर गृहमन्त्री, सरकारको नेतृत्व तपाईंले गर्नुस्, भनेर बनाएको त माओवादीले, मैले हो नि ! जो जति माथि आएको छ । त्यो त्यति बिग्रिएको छ । बुझ्नु होला ।’

त्यस्तै ग्राउण्डमा बस्ने कार्यकर्ता कोही पनि नबिग्रिएको तर टाठा-बाठा र चुनाव जितेकाहरु धेरै बिग्रिएका अध्यक्ष दाहालको टिप्पणी छ ।

उनले भनेका छन्, ‘ग्राउन्डमा बस्ने कार्यकर्ता कोही बिग्रिएका छैनन् । बिग्रिएका भनेका टाठा–बाठा, चुनाव जितेका धेरैजसो छन् । मेरो अनुभवले के देखायो भने जल्लाई धेरै पटक मन्त्री बनाएँ, त्यही सबभन्दा धेरै भगौडा । त्यही धोकेबाज । कोही कोहीलाई मन्त्री बनाएसी ठीक हुन्छ भन्ठानेको त के को हुन्थ्यो !’

त्यस्तै अध्यक्ष दाहालले आफू पनि बिग्रिएकाले सच्चिन तयार रहेको बताउँदै भने, ‘म अरुलाई धेरै भन्दिनँ । बिग्रिएको मै हुँ । अब म सच्चिन्छु । अरु को–को सच्चिने ? नसच्चिने तपाईंहरु सोच्नुस् ।

हिजो जनयुद्धमा हामफालेँ । अर्को पटक शान्ति प्रक्रियामा हामफालेँ । कहिले संविधान बनाउनमा हामफालेँ । पार्टी एकतामा हामफालियो । फेरि समाजवादी क्रान्तिका लागि म चाहिँ हामफालेँ फालेँ ।’

उनले थप भने, ‘यो फटाहाले बिगा-यो भन्नुभन्दा पनि मैले के बिगारेँ भन्ने सोच्न थालियो भने त्यहीँबाट रुपान्तरण सुरु हुन्छ ।’


Last Updated on: September 23rd, 2021 at 8:08 pm
१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया