सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

काठमाडौं

कोभिड–१९ संक्रमण उत्कर्षमा पुगेको बेला सरकारले नेपाल–भारत सीमा प्रवेशविन्दुमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । तर, अहिलेसम्म पनि कुनै होल्डिङ सेन्टर तयार भएको छैन ।

गएको भदौ ५ गते नै बनाइसक्ने लक्ष्य लिइएको सेन्टरहरू अब आउँदो मंसिर मसान्तमा सकाउने नेपाली सेनाको योजना छ । मन्त्रिपरिषद्ले वैशाख ५ गते होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले वैशाख १३ गते तोकिएका आठ नाका र उपत्यका प्रवेश गर्ने थानकोटमा एक/एक हजार क्षमताका होल्डिङ सेन्टर निर्माणको जिम्मा सेनालाई दिएको थियो । बहुउपयोगी संरचनामा सेन्टर बनाउने भनिएको थियो ।

झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी र प्रदेश सरकारको समन्वयमा नेपाल प्रवेश गर्ने सुरु विन्दुनजिकै प्रिफ्याब/ट्रस्ट शैलीका होल्डिङ सेन्टर बनाउने निर्णय भएको हो । भारतबाट नेपाल प्रवेश गर्नेलाई होल्डिङ सेन्टरमा राखेर ‘स्क्रिनिङ’ गर्ने भनिएको थियो ।

गड्डाचौकीमा निर्माणाधीन सेन्टरमा हालसम्म ४१.५ प्रतिशत कार्य सम्पन्न भएको छ । गौरीफन्टामा ३५.५ प्रतिशत, झापाको काँकडभिट्टामा ४७ प्रतिशत कार्य सम्पन्न भएको छ ।

सबैभन्दा बढी कृष्णनगरमा बन्न लागेको होल्डिङ सेन्टरमा ५७ प्रतिशत र वीरगन्जको होल्डिङ सेन्टरमा ४६ प्रतिशत कार्य सम्पन्न भएको छ । सबैभन्दा कम नेपालगन्जमा ८ प्रतिशत र मोरङको रानीमा ९.५ प्रतिशत मात्र काम भएको छ ।

यी सबै होल्डिङ सेन्टरको काम भदौमा सकाइसक्नुुपर्थ्यो भने नेपालगन्जको होल्डिङ सेन्टर असोज ४ मा सम्पन्न गर्ने लक्ष्य सेनाको थियो । यस्तै, रुपन्देहीको बेलहियामा अझैसम्म सेन्टर बनाउन जग्गा उपलब्ध गराइएको छैन ।

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल जग्गा प्राप्तिमै समस्या भएकोले निर्माण कार्य ढिला भएको बताउँछन् । उनी भन्छन्, “कतिपय स्थानमा जग्गा प्राप्तिमै समस्या भएर निर्माण पनि ढिला भयो । ८ प्रतिशत काम बन्नु भनेको आधारभूत संरचना बन्नु हो । त्यसपछि सेमी पर्मानेन्ट स्ट्रकचर बनाउन धेरै समय लाग्दैन ।”

बेलहिया नाकामा जग्गा प्राप्तिको समस्या समाधान भएको छैन । यसबारेमा रुपन्देही जिल्ला प्रशासन कार्यालयसँग जिज्ञासा राख्दा सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता कमलप्रसाद भट्टराई कुन स्थानको जग्गा दिने भन्ने विषयमा अझै छलफल चलिरहेको बताए ।

उनले बुटवल उपमहानगरपालिकाअन्तर्गत रहेको मगरघाटमा होल्डिङ सेन्टर बनाउने भनिए पनि नाकाबाट २५ किमि टाढा पर्ने भएकाले के गर्ने भन्ने टुंगो नलागेको बताए ।


Last Updated on: September 28th, 2021 at 6:08 pm
८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया