सोमबार ०८ कार्तिक २०७८

Kantipur News Nepal

१५ असोज, काठमाडौं । नेपाली बजारमा विभिन्न उपभोग्य मालवस्तुमा अस्वाभाविक मूल्यवृद्धि स्वाभाविक कथाव्यथा बनिसक्यो । २०७८ साउन महीनामा मात्रै समग्र उपभोक्ता मूल्य वृद्धिदर ४.३५ प्रतिशत थियो ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार २०७७ साउनमा यस्तो वृद्धिदर ३.४९ प्रतिशत मात्रै थियो । समग्र मूल्यवृद्धि ५ प्रतिशतभन्दा कम भए पनि यातायात उपसमूहमा २०७८ साउनमा ९.४३ प्रतिशत र निर्माण सामग्रीमा ११.५४ प्रतिशत मूल्यवृद्धि भयो ।

तर, भदौ २५ गते सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका कारण अब यी उपसमूहहरूको मूल्य वृद्धिदर थप उचालिन थालेको छ । प्रतिस्थापन कानूनले गरेका यी व्यवस्थाहरूले सोझै सवारी साधन र निर्माणजन्य स्टिलको मूल्य बढाइदिने अवस्था छ । यसको प्रत्यक्ष मारमा सर्वसाधारण पर्ने निश्चित छ ।

सवारी साधन र स्टिलको मूल्य वृद्धिलाई लिएर आलोचना भएपछि अर्थमन्त्री जनार्दन शर्माले ‘स्वदेशमै हुने उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर नीति बनाइएको’ दाबी गर्दै बचाउ गरेका छन् । तर, बजेटमा आम उपभोक्ताको नभएर सीमित उद्योगी–व्यवसायीको लाभ हेरेर नीति बनाइएको आरोप ठूला व्यावसायिक घरानाबाटै लागिरहेको छ ।

सरकारले कर बढाउने ध्याउन्नमा गरेका नीतिगत निर्णयहरूले उपभोक्तामाथि महँगीको मुंग्रो प्रहार गरिरहेको अर्थविद्हरू बताउँछन् । अर्थविद् डा. डिल्लीराज खनाल संघदेखि प्रदेश हुँदै स्थानीय तहसम्मका सरकारहरू करको दायरा विस्तार गर्नेभन्दा दर विस्तारमा लाग्दा विपन्न र निम्न मध्यम वर्ग मारमा परिरहेको बताउँछन् ।

उनका अनुसार सर्वसाधारण उपभोक्ताको दैनिक आवश्यकता बनेका वस्तु नै बजारको प्रमुख माग भएकोले त्यस्ता वस्तुमा करको दर हेरफेर गरेर बढी कर असुल्ने सरकारी नीति देखिन्छ । यसले महामारीमा पिल्सिएका न्यून र मध्यम आय भएका जनतालाई महँगीको भुंग्रोमा घचेटिरहेको छ ।

‘हामी उपभोगवादी संस्कृतिमा छौं । बढी राजस्व उठाउन सकिन्छ भनेर सरकारले उपभोगमा बढी कर लगाउँदैछ’ उनी भन्छन्, ‘रेमिट्यान्स ल्याउने, आयात गर्ने, त्यसबाट राजस्व उठाउने बाटोबाटै हामी हिंडिरहेका छौं । त्यसले करको आधार बलियो हुँदैन नै, आम उपभोक्ताले पनि क्षमता र लाभका आधारबाट कर तिर्न पनि पाउँदैनन् ।

‘क्यासिनोमा बढी छूट दिने, साना व्यवसायलाई समन्यायिक सुविधा पनि नदिने र सर्वसाधारणले उपभोग गर्ने सामानमा कर बढाउने अहिलेको कर नीति कसरी समाजवादउन्मुख भयो त ?’ अर्थविद् खनाल भन्छन्, ‘जसले कर तिर्छन्, त्यो वर्गले लाभ नपाउने तर अन्य वर्गले त्यसको बढी लाभ उठाउने अवस्था न्यायिक भएन ।’

‘टार्गेट’मा सर्वसाधारण चढ्ने साधन

केही वर्ष अघिसम्म सबै खालका साधनलाई विलासिताका रूपमा हेरिन्थ्यो । तर, ‘मोबिलिटी’ले उत्पादकत्व पनि बढाउने भएकाले सर्वसाधारण चढ्ने कम मूल्यका सवारी साधनलाई अहिले विलासी वस्तु मान्न छोडिएको छ ।

तर, दशैंको मुखमा सरकारको नयाँ कर नीतिले मोटरसाइकल चढ्ने वर्ग प्रभावित हुन पुगेका छन् । अर्थमन्त्री शर्माले २५ भदौ २०७८ मा व्यवस्थापिका संसदमा पेश गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा भएको व्यवस्थाले बजेटपछि आयात भएका मोटरसाइकल र स्कुटरको ठूलो दरमा मूल्य बढ्न पुगेको छ ।

विधेयकले अन्तःशुल्क र सडक दस्तुर बढाएकाले दुईपांग्रे सवारी साधनको मूल्य बढ्न पुगेको हो । आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता पूर्ण रूपमा चुक्ता गरेको क्यासिनोलाई आर्थिक वर्ष २०७७/७८ मा लाग्ने रोयल्टी रकममा पूर्ण छूट दिएकै विधेयकले सर्वसाधारणको ‘गरिखाने साधन’मा कर बढाइदिएको हो । यही प्रतिस्थापन बजेटले मध्यम र उच्च वर्गले चढ्ने कार/जीपमा करको दर छुने काम भने गरेन ।

१५ जेठ २०७८ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा ५० माथि १५५ सीसीसम्मका दुईपांग्रे सवारीको अन्तःशुल्क ४० प्रतिशत थियो । प्रतिस्थापन विधेयकमा सरकारले ५० माथिदेखि १२५ सीसीसम्मलाई ४० प्रतिशत अन्तःशुल्क कायमै राखेको छ । यी मोटरसाइकल/स्कुटरमा १५ हजार रुपैयाँ सडक दस्तुर तोकिएको छ ।

यस्तै १२५ भन्दामाथि २०० सीसीसम्मको मोटरसाइकलको नयाँ ‘स्ल्याब’ बनाएर अहिलेको बजेटमा अन्तःशुल्क ५० प्रतिशत पुर्‍याइएको छ । प्रतिस्थापन विधेयकले २०१ देखि २५० सीसीसम्मका दुईपांग्रे सवारीमा ६० प्रतिशत अन्तःशुल्क तोकेको छ । जबकि यसअघिको बजेटमा १५५ देखि २५० सीसीसम्मका दुईपांग्रेको अन्तःशुल्क ५० प्रतिशत मात्र थियो ।

अन्तःशुल्क र सडक दस्तुरमा भएको वृद्धिको सोझो असर नेपालमा सबैभन्दा धेरै प्रयोग हुने १२५ देखि २५० सीसीसम्मका दुईपांग्रे सवारीको मूल्यमा परेको छ ।

मुख्यतः हिरो, यामाहा, होण्डा, सुजुकी लगायत कम्पनीका लोकप्रिय सेगमेन्टका मोटरसाइकल र स्कुटरको मूल्य एकैपटक १७ हजार रुपैयाँसम्म बढ्ने देखिएको सवारी बिक्रेताहरूको संघ ‘नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल’ले जनाएको छ ।

सरकारले नेपालमै खुलेका एसेम्ब्लिङ प्लान्टलाई प्रोत्साहन गर्न अन्तःशुल्क छूट २१ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याएको छ । बजाज र टीभीएसले मात्रै नेपालमै दुईपांग्रे सवारीका केही मोडलहरू एसेम्बल गर्छन् ।

सबै दुईपांग्रे सवारीको सडक दस्तुर बढेको भए पनि ‘अनएसेम्बल्ड’ अवस्थामा भित्र्याउँदा अन्तःशुल्क छूट बढेकाले बजाज र टीभीएसका मोटरसाइकल तथा स्कुटरको मूल्य भने नबढ्नुपर्ने हो । तर, सडक दस्तुर पनि बढाइएको र सबै मोडल नेपालमा एसेम्बल नहुने भएकाले उनीहरूले पनि मूल्य बढाएका छन् ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले धेरै उपभोक्ताले प्रयोग गर्ने सेगमेन्टमै असर पर्ने गरी अन्तःशुल्क वृद्धि गर्नु गलत भएको बताएको छ । ‘यसअघि कायम सेगमेन्ट (स्ल्याब) नचलाएको भए हुनेथियो’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल भन्छन्, ‘महामारीका बेला मध्यमवर्गीय जनतालाई आर्थिक भार पर्ने गरी अन्तःशुल्क बढाउनु उचित भएन ।’

उनका अनुसार, कोभिड–१९ को जोखिमका कारण सार्वजनिक सवारी साधन प्रयोग गर्दा हुने जोखिम सम्झेर सर्वसाधारण निजी सवारी साधन किन्न आकर्षित छन्, जसमध्ये धेरैको पहुँचमा भएको निजी सवारी भनेको दुईपांग्रे नै हो । २५० सीसीभन्दा तलका दुईपांग्रे उनीहरूको रोजाइमा पर्छन् ।

‘तर त्यही दुईपांग्रे सवारीको मूल्य एकैपटक १० प्रतिशतभन्दा बढी बढ्नेभयो’ नाडा अध्यक्ष दुलाल भन्छन्, ‘देशभित्रै एसेम्बल गर्ने उद्योगलाई छूट सुविधा दिंदा एसेम्बल भएर आउने ब्राण्डका ग्राहकहरूमाथि अन्याय गर्नुहुँदैनथ्यो ।’

सरकारले नेपालमै खुलेका एसेम्ब्लिङ प्लान्टलाई प्रोत्साहनस्वरुप अन्तःशुल्क छूट २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याएको छ । तर नेपालमा हुने एसेम्ब्लिङबाट प्लान्ट सञ्चालकलाई मात्र फाइदा भएको र उपभोक्तालाई सवारी साधन सस्तो नपरेको महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा ‘एक मोटरसाइकल कम्पनी’ले एसेम्बल गर्ने सामग्री आयात गर्दा आर्थिक वर्ष २०७६/७७ मा अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) गरी ७६ करोड ७० लाख छूट पाए पनि त्यसको लाभ उपभोक्ताले नपाएको उल्लेख गरिएको छ । एसेम्बल गर्दा जम्मा ३.८१ प्रतिशत मात्रै मूल्य अभिवृद्धि भएको उल्लेख गर्दै प्रतिवेदनले साफ्टा अन्तर्गत ‘रुल अफ ओरिजिन प्रिन्सिपल’मा सम्बन्धित देशको उत्पादन हुन ४० प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्ने सिद्धान्त रहेको उल्लेख छ ।

‘सरकारले दिएको राजस्व छूट बराबरको समेत मूल्य अभिवृद्धि नहुँदा राजस्व छूटको लाभ पैठारीकर्ताले मात्र पाएको देखियो’, प्रतिवेदनले भनेको छ ।

महालेखाले छूट सुविधा पुनरावलोकन गर्न भने पनि सरकारले विना अध्ययन यस्ता उद्योगलाई सुविधा थप्दै विदेशबाट आयात हुने तयारी मोटरसाइकलमा कर बढाएको छ । यसले छूट बापत राज्यस्रोतको दुरुपयोग हुने र उपभोक्ताले पनि लाभ नपाउने अवस्था बनेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्य महालेखा सहित विभिन्न पक्षबाट नीतिगत व्यवस्थामाथि उठेका प्रश्नहरूको समीक्षा गरिने बताउँछन् । ‘आवधिक समीक्षा गरेर फेरि नीतिगत परिवर्तन गर्न सकिन्छ’ उनी भन्छन्, ‘अर्थतन्त्रलाई लाभ दिने गरी भएका व्यवस्थाले त्यस अनुसार काम गरेको छैन भने त्यसलाई प्रभावकारी बनाउन हाम्रो ध्यान जान्छ ।’

संघकै बाटोमा प्रदेश

कर बढाउने मामिलामा प्रदेशहरू पनि संघको शैलीमा हिंडेका छन् । वागमती प्रदेशले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटबाट निजी मात्रै हैन, सार्वजनिक सवारी साधनको कर, दर्ता, नवीकरण र इजाजत दस्तुरमा समेत ठूलो वृद्धि गर्‍यो । २०८५ सम्म प्रदेशका मुख्य शहरहरूबाट पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाइसक्ने घोषणा गरेको यो प्रदेशले विद्युतीय सवारीमा करको भार बढायो ।

सार्वजनिक सवारीका रूपमा दर्ता भएका भाडाका १३०० सीसीसम्मका जीप–कार, भ्यान, माइक्रोले वार्षिक रूपमा तिर्ने सवारी कर ९ हजारबाट बढाएर यो वर्ष १००० सीसीसम्मको पहिलो स्ल्याब कायम गरेर ११ हजार रुपैयाँ बनाइयो । वागमतीले १००० सीसीभन्दा माथिका जीप–कार, भ्यान, माइक्रोको सवारी कर ३ हजार रुपैयाँसम्मले वृद्धि गरेको छ ।

भाडाका मिनी बस/ट्रकले तिर्ने कर १ हजार ५०० रुपैयाँले बढ्यो भने ठूला बस–ट्रकको कर २ हजार रुपैयाँले वृद्धि भयो । अब सार्वजनिक बस–ट्रकले वर्षमा २० हजार रुपैयाँसम्म सवारी कर तिर्नुपर्नेछ ।

भाडाका तेल ट्यांकर, ग्याँस बुलेटको कर ४ हजार रुपैयाँले बढाएर २२ हजारसम्म पुर्‍याइएको छ भने तीनपांग्रे टेम्पो, ट्याक्टरमा पनि ५०० रुपैयाँले कर बढेको छ ।

सार्वजनिक सवारीले प्रत्येक ६–६ महीनामा गर्नुपर्ने रुट इजाजतको दस्तुरमा समेत वृद्धि गरिएको छ । ठूला तथा मझौला बसलाई करीब ५० किलोमिटरसम्मको रुट इजाजत दिंदा लिइने दस्तुर ३०० रुपैयाँ बढाएर ८०० रुपैयाँ बनाइएको छ ।

ठूला ट्रकले ५० किलोमिटरसम्मको बाटो इजाजत लिंदाको दस्तुर ६०० रुपैयाँबाट १ हजार रुपैयाँ बनाइएको छ । ६०० किलोमिटरभन्दा लामो दूरीको बसको रुट इजाजत दस्तुर २८ हजारबाट बढाएर ४२ हजार र यही वर्गका ठूला ट्रकहरूको दस्तुर २६ हजारबाट ४३ हजार रुपैयाँ कायम गरिएको छ ।

यसरी सार्वजनिक सवारी साधनमा लगाइएको करको सोझो भार सोझै उपभोक्तामाथि पर्छ । संघ सरकारले ‘वैज्ञानिक मूल्य समायोजन’को नाममा २७ असार २०७८ मा अन्तरप्रदेश चल्ने सवारीमा २८ प्रतिशतसम्म भाडा वृद्धि गर्‍यो । प्रदेशले बढाएको करलाई समेत आधार बनाएर अब वागमती प्रदेशभित्र चल्ने गाडीको भाडा दशैंअघि नै वृद्धि गर्ने तयारी छ ।

यसले यात्रुको ठूलो आवतजावत हुने दशैंको समयमा सर्वसाधारण

अतिरिक्त पैसा तिर्न बाध्य हुनेछन् ।

धनाढ्यले चढ्ने सवारीलाई छूट

वागमती प्रदेशले साना क्षमताका निजी मोटरसाइकल तथा स्कुटरको करको दर बढाए पनि ठूला क्षमताका मोटरसाइकलको कर भने यथावत् राखेको छ । १२५ सीसीसम्मका मोटरसाइकलमा करमा २०० रुपैयाँ थप गरेर ३ हजार रुपैयाँ, १२६ देखि १५० सीसीसम्मका मोटरसाइकल/स्कुटरको कर ५०० ले बढाएर ५ हजार रुपैयाँ बनाइएको छ ।

१५० देखि २२५ सीसीसम्मका मोटरसाइकलको कर पनि ५०० रुपैयाँले वृद्धि गरिएको छ भने २२६ देखि ४०० सीसीसम्मका मोटरसाइकलको वार्षिक कर २ हजार रुपैयाँले बढाइएको छ ।

तर, धनाढ्य वर्ग चढ्ने ४०१ देखि ६५० सीसीसम्मको मोटरसाइकलको कर २० हजार र ६५० सीसीभन्दा माथिका मोटरसाइकलको कर पनि ३० हजार रुपैयाँमै यथावत् राखिएको छ ।

यसअघि ५८ हजार ५०० रुपैयाँसम्म कर तिर्दै आएका निजी जीप, कार भ्यानको वार्षिक कर ६५ हजारसम्म पुर्‍याइएको छ । १००० सीसीसम्मका जीप कार भ्यानमा २१ हजार करलाई २२ हजार र १००१ देखि १५०० सीसीसम्मकालाई २३ हजारबाट २५ हजार रुपैयाँ पुर्‍याइएको छ ।

वागमती प्रदेशले ५० देखि १००० वाटसम्मका विद्युतीय दुईपांग्रेको कर ५०० रुपैयाँले बढाएको छ । १००१ देखि १५०० वाटसम्मका विद्युतीय मोटरसाइकल/स्कुटरको १ हजार रुपैयाँले बढाएको छ । १५०० वाटभन्दा माथिका दुईपांग्रे विद्युतीय साधनको कर ३ हजारमै यथावत् छ ।

करले बढायो स्टिलको मूल्य

संघ सरकारले ल्याएको प्रतिस्थापन विधेयकको कर नीतिले निर्माण पनि महँगिने भएको छ । सरकारले लिएको नयाँ निर्णयले छड सहित फलामजन्य निर्माण सामग्रीको मूल्य बढाएको छ । सरकारले स्टिल उत्पादनको लागि आवश्यक बिलेट (तयारी फलाम) आयातमा लाग्ने भन्सार बढाएको छ । बिलेट आयातमा पहिले १ हजार ६५० लाग्ने भन्सार अहिले प्रतिटन २ हजार ५०० रुपैयाँ पुर्‍याइएको छ ।

तर, बिलेट उत्पादनको कच्चा पदार्थ ‘स्पन्ज आइरन’ (अप्रशोधित फलाम)को भन्सारलाई शून्यमा झारेको छ । पहिले बिलेट र स्पन्ज आइरन दुवैमा समान ४.७५ प्रतिशत महसुल लाग्ने गरेको थियो ।

भन्सार बढाउँदा नेपालमा बिलेट आयात गरेर छड उत्पादन गर्ने उद्योगहरूले मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्था बनेको बताएका छन् । कतिपय उद्योगले मूल्य सार्वजनिक पनि गरिसकेका छन् । बजेट आएलगत्तै नेपाल स्टिल रोलिङ मिल्स एशोसिएसनमा आवद्ध २४ उद्योगले प्रतिकिलो ५ रुपैयाँभन्दा बढीले मूल्य बढ्ने बताएका थिए । अहिले कतिपय उद्योगले किलेमा ४ रुपैयाँसम्म मूल्यवृद्धि गर्दै थप वृद्धि हुनसक्ने जानकारी दिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले ‘स्पन्ज आइरन’लाई नेपालमै प्रशोधन गरेर बिलेट उत्पादन गर्न यस्तो नीतिगत व्यवस्था गरिएको तर्क गरेका छन् । तर, त्यसको सोझो मार भने सर्वसाधारण उपभोक्तामाथि पर्न थालिसकेको छ ।

नेपालमा ६ वटा मात्रै स्पन्ज आइरन प्रशोधन गर्ने उद्योग छन्, सरकारी नीतिको लाभ तत्काल तिनै उद्योगले पाउनेछन् । अरू २४ वटा उद्योगले आफूहरू निकट भविष्यमै बन्द हुने अवस्थामा पुगेको र करीब एक खर्ब लगानी जोखिममा परेको दाबी गरिरहेका छन् । हिमाल स्टिलका सञ्चालक अभिक ज्योति यो नीतिले आफूहरूमाथि मात्रै नभएर उपभोक्तामाथि पनि मूल्यवृद्धिको भार थप्ने बताउँछन् ।

‘यो नीतिले ६ वटा कम्पनी मात्रै चल्न सक्ने अवस्था आएर बजारमा मनोपोली हुनसक्छ’ उनी भन्छन्, ‘खुला बजारको नीति विपरीत कर नीति ल्याउँदा स्टिलमा प्रतिकिलो ८ देखि १० रुपैयाँसम्म भाउ बढ्ने देखिन्छ ।’

तर, सरकारले स्पन्ज आइरनबाट बिलेट उत्पादन गरेर स्टिल उत्पादन गर्ने उद्योगसँग प्रतिस्पर्धा बढेर मूल्य कम हुने दाबी गरेको छ । तर, सरकारी सुविधा लिएका उद्योगले कहिल्यै पनि उपभोक्तालाई लाभ दिने गरी मूल्य नतोकेकाले सरकारी दाबीमा उपभोक्ताहरू आश्वस्त हुनसक्ने ठाउँ छैन ।


Last Updated on: October 1st, 2021 at 11:32 am
७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया