बिहिबार ०७ आश्विन २०७८

काठमाडौं, १७ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएको छ । प्रतिनिधिसभा विघटनपछि त्यसअघि दर्ता भएको अविश्वासको प्रस्तावको कानुनी वैधतामा प्रश्न उठ्ने सम्भावना देखिएपछि प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएको हो ।

नेकपा प्रचण्ड–नेपाल समूहले गत पुस ५ गते संसद सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव भने अघि नबढाउने निष्कर्षमा पुगेको छ ।

५ पुषमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन भएकै दिन ९० जना सांसदको हस्ताक्षरमा संसद सचिवालयमा प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव पेश गरिएको थियो । उक्त प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रस्ताव गरेको थियो ।

अहिले यहीँ अविश्वासको प्रस्तावलाई फिर्ता लिएर नयाँ समीकरणअनुसार प्रचण्ड–नेपाल समूह अघि बढ्ने भएको जनाइएको छ ।

पुस ५ मा दर्ता गरिएको अविश्वासको प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई हेरिए पनि पछिल्लो राजनीतिक घटनाक्रमले प्रचण्डले अबको प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गरेका छन् ।

त्यसो त, सचिवालयमा दर्ता भएको उक्त अविश्वासको प्रस्ताव फिर्ता लिएर भावी प्रधानमन्त्रीका रूपमा देउवालाई अघि सार्ने प्रचण्ड–नेपाल समूहको रणनीति रहेको छ । साथै, यस विषयमा नेकपा प्रचण्ड–नेपाल समूह कांग्रेससँग छलफलमा निरन्तर रहेको छ ।

उता, सर्वाेच्च अदालतद्वारा फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापनाको फैसलासँगै फागुन २३ गते प्रतिनिधि सभाको अधिवेशन बोलाउन भनिएको छ । सर्वोच्च अदालतले तोकेकै समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा त्यहीँ मितिमा संसद् अधिवेशन बोलाएकी छन् ।


Last Updated on: March 1st, 2021 at 4:51 pm
२६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया