शनिबार ०९ साउन २०७८

२१ फागुन, काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई चितवन प्रहरीको स्कर्टिङमा आज दिउँसो काठमाडौं ल्याइँदै छ । उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि चितवन प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गर्दै काठमाडौं ल्याउन लागिएको हो ।

विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए । विप्लव विगतदेखि नै बेलबहादुरको घरमा बस्ने, नेताहरुसँग वार्ता गर्ने गर्दथे ।

उनी अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरी शुक्रबार बिहानै काठमाडौंका लागि प्रस्थान गरेका हुन् । ‘गोप्य रुपमा कसैलाई थाहा नदिई काठमाडौं जाने भन्ने तयारी थियो, तर प्रहरीले थाहा पाएर नारायणगढबाट स्कर्टिङ गरेके छ,’ विप्लव समूह निकट स्रोतले भन्यो ।

तीन वर्षसम्म भूमिगत भएका विप्लव आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सार्वजनिक हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनले सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लवले हस्ताक्षर गर्ने छन् ।

सरकारसँगको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । साथै सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ भने पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको प्रक्रिया अघि बढाएको छ ।


Last Updated on: March 5th, 2021 at 3:50 pm
३३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया